३२औँ ओलम्पिक: आज गौरिका प्रतिस्पर्धा गर्दै

३२औँ ओलम्पिक: आज गौरिका प्रतिस्पर्धा गर्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण १३, २०७८

जारी ३२औँ टोकियो ओलम्पिकमा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै छन् ।

गौरिकाले महिलाको १०० मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । गौरिकाको खेल नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छन् । यस हिटमा ४ जना खेलाडी छन् । गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् ।

१३औँ सागकी स्वर्णधारी गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी छन् । यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका २ जना खेलाडी सहभागी छन् ।

एलेक्जेन्डर गाडेगार्ड  शाह (एलेक्स)ले मंगलबार नै प्रतिस्पर्धा गरिसकेका छन् । एलेक्सले पुरुषको १०० मिटर फ्री स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए ।  

हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका भए पनि एलेक्स हिट चरणबाटै बाहिरिएका थिए ।