कांग्रेस क्रियाशील विवाद: छानबिन समितिलाई २४ घण्टाको थप समय

कांग्रेस क्रियाशील विवाद: छानबिन समितिलाई २४ घण्टाको थप समय

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १३, २०७८

नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानबिन समितिलाई नै दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बुधबार बसेको बैठकले छानबिन समितिलाई २४ घण्टा समय दिएको एक केन्द्रीय नेताले जानकारी दिए । रमेश लेखक नेतृत्वको छानबिन समितिले मंगलबार पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनमा करिब डेढ दर्जन निर्वाचन क्षेत्र नटुंगिएको उनले बताए ।

समितिले २४ घण्टा गृहकार्य गरेपछि भोलि फेरि पार्टीको बैठकमा छलफल हुने ती नेताले जानकारी दिए ।

क्रियाशील सदस्यता छानबिन नटुंगिएका कारण कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ । १२ साउनका लागि तय भएको वडा तहको अधिवेशन स्थगित भइसकेको छ भने १६ साउनमा तोकिएको ७५३ गाउँ तथा नगरको अधिवेशन पनि नहुने भएको छ । अब पुन: नयाँ कार्यतालिका बनाउनुपर्ने अवस्था आएको छ महाधिवेशनका लागि तर आगामी २३ भदौभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक बाध्यताको दबाबमा छ अहिले कांग्रेस ।