३२औँ टोकियो ओलम्पिकमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

३२औँ टोकियो ओलम्पिकमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण १४, २०७८

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिकाले शीर्ष स्थान ओगट्न सफल भएको हो ।  

अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कुल ३५ वटा पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । चीनले १३ स्वर्ण, ६ रजत र ९ वटा कास्य पदक प्राप्त गरेको छ भने जापानले १३ स्वर्ण, ४ रजत र ५ वटा कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै, ७ स्वर्ण, ११ रजत र ७ वटा कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ । 

यसैगरी अस्ट्रेलिया ७ स्वर्ण, २ रजत र ९ वटा कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत ५ स्वर्ण, ६ रजत र ५ कास्यसहित छैटौँ, दक्षिण कोरिया ५ स्वर्ण, २ रजत र ५ वटा कास्यका साथ सातौँ, जर्मनी ३ स्वर्ण, ३ रजत र ५ वटा कास्य जित्दै आठौँ, फ्रान्स ३ स्वर्ण, ३ रजत र ३ वटा कास्यका साथ नवौँ तथा इटाली २ स्वर्ण, ७ रजत र ९ वटा कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ वटा देशले पदक प्राप्त गर्न सफल भएका छन् ।   

नेपालबाट ४ वटा खेलमा ५ जना खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले खेलिसकेका छन् । चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन् । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्री स्टाइल तथा सिंहले १०० मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गरेका थिए ।

टोकियो ओलम्पिकमा अब एथलेटिक्सकी सरस्वती चौधरीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । उनले शुक्रबार आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।