बक्यौता उठाउन उखु किसान पाँचौँ पटक काठमाडौंमा

बक्यौता उठाउन उखु किसान पाँचौँ पटक काठमाडौंमा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १४, २०७८

उखु बिक्री गरेको रकम उद्योगले अझै नदिएपछि किसानहरू पुन: आन्दोलनका लागि काठमाडौं आएका छन् ।

सरकार र उद्योगीले प्रतिवद्धता जनाएअनुसार रकम नदिएपछि एउटै विषय लिएर पाँचौँ पटक काठमाडौं आएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ । ६ वटा उखु मिलबाट किसानले ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उनीहरू बताउँछन् ।


सरकार र उद्योगी दुवैले आफूहरूलाई झुलाएका, ६ वटा मिलबाट ४१ करोड रुपैयाँ अझै भुक्तानी पाउन बाँकी रहेको भन्दै उनीहरूले सरकारलाई आफ्नो बक्यौता उठाइदेऊ भन्न आएको बताए । सकेसम्म प्रधानमन्त्रीलाई भेटेर किसानको गुनासो सुनाउन चाहेको उनीहरूको भनाइ छ ।

सरकार नयाँ भएकाले बक्यौता उठाइदिन आग्रह गर्ने र त्यसपछि पनि रकम नउठे आन्दोलनका कार्यक्रम घोषणा गर्ने समितिले जनाएको छ ।

समितिले दिएको जानकारीअनुसार अन्नपूर्ण चिनी मिलबाट ९ करोड, श्रीराम सुगर मिलबाट ८ करोड, इन्दीरा चिनी मिलबाट २ करोड र लुम्बिनी चिनी मिलबाट ३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

सरकारले उखु किसानलाई अनुदान दिएको तर उद्योगले हिसाब मिलान नगरेको साढे ६ करोड रुपैयाँ रकम किसानले पाउन बाँकी छ ।

तर, किसानको बक्यौता विवाद हेरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने किसानहरूको एक रुपैयाँ पनि बक्यौता बाँकी नरहेको दाबी गरेको छ ।