पेरुबाट विश्व नै आश्चर्य र स्तब्ध : पेड्रो कास्टियोद्वारा खेत जोत्दाजोत्दै राष्ट्रपतिको शपथ !

पेरुबाट विश्व नै  आश्चर्य र  स्तब्ध : पेड्रो कास्टियोद्वारा खेत जोत्दाजोत्दै राष्ट्रपतिको शपथ !

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण १५, २०७८

गरिबीको मारमाथि कोरोना महामारीले आक्रान्त ल्याटिन अमेरिकी देश पेरुमा निकै लामो र तनावपूर्ण निर्वाचन प्रक्रियापछि पेड्रो कास्टियोले राष्ट्रपतिका रूपमा शपथ लिएका छन्। यो घटना पेरुका लागि मात्रै होइन, विश्वकै लागि पनि एउटा आश्चर्यजनक घटना हो । किनकि स्वतन्त्र पेरुको करिब दुई सय वर्षको इतिहासमा गरिब किसान परिवारमा जन्मिएर प्राथमिक तहको शिक्षक र किसानी गर्दागर्दै देशको सर्वोच्च पदमा आसिन हुन पुगेका उनी पहिलो नेता हुन् । 

 राजनीतिक रूपमा गहिरोसँग विभाजित र महामारीले नराम्ररी प्रभावित बनेको छ पेरु ।  पेड्रो कास्टियोको विजयले पेरुको राजनीतिक तथा व्यापारिक उच्च वर्गलाई स्तब्ध पारिदिएको छ। पेरुको एकदमै गरिब इलाकाको एउटा सानो गाउँमा जन्मिएका पेड्रो कास्टियो खेती किसानीमा आफ्ना निरक्षर बाबुआमालाई सघाउँदै हुर्किएका थिए। बाल्यकालमा उनी विद्यालय जान दुई घन्टासम्म पैदल हिँड्नुपर्दथ्यो ।

राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेर मतदान सकिएपछि उनी आफ्नै गाउँमा फर्किएर खेती किसानीमा नै व्यस्त थिए । तर राष्ट्रपतिमा निर्वाचित भएपछि अब भने उनको बसाई राजधानी लिमामा हुनेछ । उनी काखामार्काबाट शिक्षिका श्रीमती लिलिया पोरेदेश र दुई सन्तानसँगै राजधानी स्थायी बसोबासका लागि आइपुगेका छन् । 

प्राथमिक शिक्षकदेखि राष्ट्रपति

उनले ग्रामीण क्षेत्रको एउटा विद्यालयका शिक्षक बनेर २५ वर्ष काम गरे। त्यसपछि शिक्षक युनियनको आन्दोलनले उनलाई शिक्षक नेताका रुपमा स्थापित गरिदियो । देशको अवस्था, राजनीतिक व्यवस्था र प्रशासनिक दुरावस्था देखेका उनी सरकारी लाभको यस्तो कुनै पदको अनुभव बिना नै राष्ट्रपति बन्न सफल भएका छन्। कास्टियोलाई विजयी बनाउन पेरुका ग्रामीण बस्तीले ठूलो भूमिका खेलेको छ । उनी हुर्किएको जस्तै ग्रामिण क्षेत्रका मतदाताले उनलाई राष्ट्रपतिमा जिताएका छन्। 

पेरु यतिबेला कोरोना महामारीले आक्रान्त छ । विश्वमै सबैभन्दा बढी मृत्युदर पेरुमा देखिएको छ । लामो समयदेखि आर्थिक संकटको सामना गरेको पेरुका लाखौ जनता गरिबीको रेखामुनि छन् । उनले शिक्षा र स्वास्थ्यजस्ता सार्वजनिक सेवालाई रकम जुटाउन खानीकर बढाउने योजना बनाएका छन् । 

गरिब बस्तीमा जन्मिएर हुर्किएका उनका चुनावी र्‍यालीहरूमा ‘एउटा धनी देशमा फेरि कहिल्यै एक जना पनि गरिब मान्छे हुने छैनन्’ भन्ने खाले नियमित सन्देशहरू प्रवाह गरिएको थियो । त्यसैले संघर्षशील पेरुवासीलाई उनले आवाज दिएको रूपमा हेरिएको छ । उनले भनेका थिए, ‘मलाई थाहा छ एउटा विद्यालयमा बढार्नु भनेको के हो ?' कास्टियोले आफूलाई जनताको मान्छेका रूपमा प्रस्तुत गर्ने गर्छन् । उनी सधैं नै काखामार्का क्षेत्रको परम्परागत सेतो ह्याटमा देखिन्छन् ।

त्यसले उनको मार्क्सवादी फ्रि पेरु पार्टीको पनि संकेत गर्छ र उनको शिक्षाको पृष्ठभूमिको पनि प्रतिनिधित्व गर्छ । उनले देशलाई बहुसंख्यकको हित अनुकूल शासन नगरिएको दाबी गर्दै आएका छन् । गरिबी तथा असमानतालाई सम्बोधन गर्न ठूलो परिवर्तनका लागि आह्वान गरेका छन्। जसमा विवादित बनेको नयाँ संविधानको मस्यौदा गर्ने समेत उनले उल्लेख गरेका छन् । कास्टियोका विरोधीहरूले उनलाई कम्युनिस्ट गुरिल्ला समूहसँग मिलेमतो रहेका वामपन्थी अतिवादीका रूपमा चित्रण गरेका थिए । 

राजनीतिक यात्रा

नौ जना सन्तानमध्ये तेस्रो सन्तानका रूपमा कास्टियो सन् १९६९ अक्टोबर १९ मा पुना क्षेत्रमा जन्मिएका थिए। उनले प्राथमिकत विद्यालयको शिक्षकका रूपमा सन् १९९५ देखि २०२० सम्म काम गरे। कास्टियोले सन् २००२ देखि आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । त्यस बेला उनी मेयरमा उम्मेदवार बने पनि पराजित भएका थिए । सन् २०१७ मा भएको शिक्षकहरूको आन्दोलनले उनलाई नेता बनायो ।

सहरी क्षेत्रमा उतिधेरै नचिनिएका उनी एकाएक राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बने र पहिलो चरणको निर्वाचनमा विजयी भए । उनले अन्य १७ उम्मेदवारलाई दौडबाट बाहिर पार्नु धेरैका लागि आश्चर्यको विषय थियो । उनले पूर्व राष्ट्रपति अल्बेर्टो फुजिमोरीकी छोरी तथा व्यापारिक समुदायमा लोकप्रिय केइको फुजिमोरीलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले फुजिमोरीलाई ४४ हजार बढी मतले हराए । 

गत ६ जुनमा भएको निर्वाचनमा फुजिमोरी समूहको अवरोधका कारण परिणाम घोषणामा ढिलाइ भएको हो । उनले भनेका छन्, ‘अब पेरुको समुदायका सबै क्षेत्र मिलेर एउटा समावेशी, एउटा निष्पक्ष र एउटा स्वतन्त्र पेरु बनाउने बेला आएको छ।’ उनी भ्रष्ट्राचारका कैयौं विवाद र हल्लाहरूबाट आजित भएका पेरुबासीलाई आफ्नो पक्षमा ल्याउने गरी आह्वान गर्न सफल भएपनि उनका लागि बास्तविक कठिन समय अब आएको छ । पेरु यतिबेला कोरोना महामारीले आक्रान्त छ । विश्वमै सबैभन्दा बढी मृत्युदर पेरुमा देखिएको छ । लामो समयदेखि आर्थिक संकटको सामना गरेको पेरुका लाखौ जनता गरिबीको रेखामुनि छन् । उनले शिक्षा र स्वास्थ्यजस्ता सार्वजनिक सेवालाई रकम जुटाउन खानीकर बढाउने योजना बनाएका छन् । 

उनले एक वर्षभित्र १० लाखलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । कार्यभार सम्हालेसँगै उनले गरिबी घटाउने र कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्न जनस्वास्थ्य प्रणालीलाई सुधार गर्ने बाचा गरेका छन्। उनले इतिहासमै पहिलोपटक देशलाई कुनै किसानले नेतृत्व गरिरहेको बताए । आफ्नो सुरुवाती मन्तव्यमा उनले पेरुले स्पेनी उपनिवेशबाट स्वतन्त्र भएको स्मरण गर्दै सयौं वर्षदेखि गरिब र आदिबासीमाथि भेदभाव गरेको आरोप लगाए। उनले निजी क्षेत्रलाई सम्मान गर्ने तर भ्रष्टाचार र सहुलियतलाई नियन्त्रण गर्ने तथा पेरुका उच्च प्रतिफलयुक्त खानीलाई नियमन गर्ने प्रतिबद्धता जनाएका छन् ।