महन्थको रिट खतिवडा र चुँडालको इजलासमा, माओवादी सांसदको भट्टराईकोमा

महन्थको रिट खतिवडा र चुँडालको इजलासमा, माओवादी सांसदको भट्टराईकोमा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १५, २०७८

जनता समाजवादी पार्टीको अर्को खेमाका नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासमा पेसी चढेको छ ।

ठाकुरले जनता समाजवादी पार्टीको अध्यक्षको हैसियतमा ८ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

जसपाको विवादमा निर्वाचन आयोगले बहुमतका आधारमा आधिकारिकता दिन खोजेपछि त्यसलाई रोक्न माग गर्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए । वैधानिक रूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यसमितिलाई मान्यता नदिई पुरानै समितिको सनाखत गर्ने निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै ठाकुर समूह सर्वोच्च पुगेको थियो ।

तर, ११ साउनमा आयोगले बहुमतका आधारमा उपेन्द्र यादव खेमालाई आधिकारिकता दिने निर्णय गरेको छ ।

यसअघि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ भएको यस रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । एकल इजलासले दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियो ।

उता, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट निलम्बित ४ जना सांसदले सर्वोच्च अदालतमा दिएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ ।

यो मुद्दा हिजो सर्वोच्चका न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी चढेको थियो ।

पार्टी छाडेको भन्दै माओवादी केन्द्रले निलम्बन गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले आफूहरू एमाले नभएको जिकिर गर्दै सांसद पुनर्बहाली गर्नुपर्ने मागसहित रिट दायर गरेका हुन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि उनीहरू एमालेमा गएका थिए । त्यसपछि माओवादी केन्द्रले कारबाही गर्दै उनीहरूलाई सांसद पदबाट निलम्बन गरेको थियो । पद खोसिएको ४ महिनापछि सांसदकै रूपमा पुनर्बहालीको माग गर्दै उनीहरू सर्वोच्च पुगेका हुन् ।