पठन संस्कृति, अनुवाद र प्रतिलिपि अधिकार बारे चर्चा

पठन संस्कृति, अनुवाद र प्रतिलिपि अधिकार बारे चर्चा

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख २२, २०७६

काठमाडाै । २०७६ वैशाख २० गते शुक्रवारका दिन प्रज्ञा भवनमा ‘पठन संस्कृति, अनुवाद र प्रतिलिपि अधिकार’ विषयक विचार गोष्ठी तथा विशेष कविता गोष्ठीको  सम्पन्न  भएकाे  छ ।

 नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय र राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक सङ्घद्वारा संयुक्तरूपमा अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पठन संस्कृतिको विकासका निमित्त लेखक, प्रकाशक र वितरक सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले प्रतिलिपि अधिकारको संरक्षणका लागि लेखक सचेत रहनुु पर्नेमा जोड दिँदै अन्तर्राष्ट्रिय भाषाको अनुवादमात्रै नभएर अन्तरमातृभाषाका साहित्यको अनुवादको पनि उत्तिकै अपरिहार्यता रहेको जिकिर गर्नुभएकाे  थियाे ।

उपकुलपति डा. जगमान गुरुङले दिनानुदिन प्रतिलिपि अधिकारको हनन् भइरहेकाले त्यसको संरक्षणका लागि सम्बन्धित सबै पक्षले आ–आफ्ना स्थानबाट आवश्यक काम गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा प्रतिलिपि अधिकार कार्यालयका रजिष्टार प्रकाश आचार्यले ‘प्रतिलिपि अधिकार संरक्षण र यसका विविध पक्षहरू’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै आफ्ना बौद्धिक सम्पत्तिको प्रतिलिपि अधिकारको संरक्षणका निम्ति सबै लेखक तथा स्रष्टाहरू सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

डा. जङ्गब चौहानले कार्यक्रममा ‘पठकन संस्कृति र अनुवाद’बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि सहभागीहरूले टिप्पणी गर्नुभएको थियो । 

कार्यक्रममा सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष महेश खड्का, सङ्घका महासचिव केशव पराजुली र सदस्य विमल सुवेदीले पनि बोल्नुभएको थियो ।    

सङ्घका अध्यक्ष लिखतप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शार्दूृल भट्टराई, मातृका पोखरेल, वासुदेव अधिकारी, सुलोचना मानन्धर, स्नेह सायमी, दीपक सापकोटा, प्रकाश गुरागाईं र यादव भट्टराईले आ–आफ्ना कविता सुनाउनुभएको थियो ।