३२औँ टोकियो ओलम्पिक: सरस्वती चौधरी पहिलो चरणबाटै बिदा

३२औँ टोकियो ओलम्पिक: सरस्वती चौधरी पहिलो चरणबाटै बिदा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण १५, २०७८

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन् । चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सिकनन् । उनले निर्धारित दूरी १२.९१ सकेण्डमा पूरा गरेकी थिइन् ।

९ जना खेलाडी सम्मिलित सो समूहमा चौधरी आठौँ भइन् । उनले आफ्नै प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । यसअघि चौधरीले १०० मिटर दौड पूरा गर्न १२.५५ सकेण्ड खर्चिएको रेकर्ड छ । चौधरीको खेल प्रदर्शनसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको प्रतिस्पर्धा सकिएको छ । 

नेपालबाट ४ वटँ खेलमा ५ जना खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी  कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले यसअघि खेलिसकेका छन् । चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन् ।

परियारले महिला १० मिटर एयरराइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्री स्टाइल तथा सिंहले १०० मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गरेका थिए । पौडीमा शाह र सिंह तथा सुटिङमा परियारले आआफ्नो खेलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए ।