जसपाका ३ जना प्रदेश मन्त्रीको सांसद पद खारेज

जसपाका ३ जना प्रदेश मन्त्रीको सांसद पद खारेज

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १५, २०७८

जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेशका ३ जना मन्त्री सांसदबाट पदमुक्त भएका छन् । 

शुक्रबार लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना जारी गरी मन्त्रीहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय सांसद पदबाट पदमुक्त भएको जानकारी दिएका हुन् ।

जसपा केन्द्रीय कार्यकारिणी समितिले पार्टी अनुशासनविपरीत काम गरेकाले उनीहरूलाई पार्टी सदस्यबाटै निश्कासन गरिएकाले सांसदबाट पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा बिहीबार पत्र दर्ता गरेको थियो ।

यसअघि मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिले मुख्यमन्त्री शंकर पोखरेललाई पार्टीको निर्देशनविपरीत समर्थन कायम राखेर मन्त्री बनेको भन्दै उनीहरूलाई पार्टीबाट निश्कासन गर्ने निर्णय गरेको थियो । यादव, कल्पना र सन्तोष पोखरेल नेतृत्वको सरकारमा मन्त्री छन् । 

पार्टीले सोधेको स्पष्टीकरणको जबाफ चित्तबुझ्दो नभएको भन्दै जसपाले पार्टीबाट निश्कासन गर्ने निर्णय गरेको गरेको थियो । यादव र सन्तोष प्रत्यक्ष निर्वाचित सांसद हुन् भने पाण्डे समानुपातिक सांसद हुन् । पाण्डे पूर्वराजपा समूहबाट सांसद भएकी थिइन् ।