डा. देवी नेपाल: झण्डै बनेका जोगीदेखि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसम्म

डा. देवी नेपाल: झण्डै बनेका जोगीदेखि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  श्रावण १६, २०७८

शैक्षणिक अभ्यासका क्रममा छन्दकविता बाचन गर्दा एउटा विद्यार्थीले ‘स्वाहा’ नभनिदिएको भए आज डा. देवी नेपाल छन्द र नेपाली कविता प्रशिक्षण तथा लेखनमा यति दत्तचित्त र समर्पित भएर सायदै लाग्नुहुन्थ्यो । 

ती ‘स्वाहा’ भनेर उहाँको कविता र कवित्वको अपमान गर्ने विद्यार्थीको संज्ञानमा उक्त सन्दर्भ भए पनि नभए पनि उनले नेपाली साहित्यलाई परोक्ष रूपमा निकै ठूलो गुन लगाएका छन् । 

हुनत उनले त्यतिबेला नेपाली शिक्षकलाई उडाउने एउटा प्रचलनका कारण जानी नजानी ‘स्वाहा’ भने पनि त्यो स्वाहा नेपाली साहित्यका लागि ठूलो प्राप्ति भएको छ । त्यही ‘स्वाहा’ शब्दको ऊर्जाले आज नेपाली छन्दसाहित्यले अध्येता, सुन्दर छन्दशिल्पी, छन्द अभियानी डा. देवी नेपाल पाएको छ ।

पारिवारिक अवस्था

उहाँको पुर्ख्यौलीली पाँचथर हो । २०२२ सालमा बुबाआमा पाँचथरबाट मोरङ झर्नुभएको हो । 

मोरङमा बाढीले बगाएपछि झापाको केर्खादेखि माथिको जंगलमा रह्यो उहाँका बुबाआमाको बसाइ । त्यहाँ पनि सरकारले जंगल लगाउने भनेर उठाइसकेपछि त्यसको शोधभर्नामा झापाकै गोलधापमा सरकारले जमिन दिएको हो । यसपछि उहाँका बुबाआमाको स्थायी बसोबास गोलधाप हुन पुगेको हो । 

जसोतसो गरेर खान पुग्ने भएका कारण पनि उहाँ आफ्नो परिवारलाई अतिसामान्य र आर्थिक हिसाबले निम्न मध्यम भन्न रुचाउनुहुन्छ । 

जन्म र बाल्यकाल

उहाँको जन्म १८ वैशाख २०३० मा भएको हो । उहाँका ५ जना दिदीबहिनी एक भाइ हुनुहुन्छ । 

हुनत विकास र चेतनाको दृष्टिकोणले झापा जिल्लालाई सुगम भनिए पनि उहाँको घर भने झापाको पनि दुर्गम मानिने बिर्तामोडबाट करिब २० किलोमिटर दक्षिण गोलधाप होे । तर, योे गोलधाप भने हालको चर्चित भूटानी शरणार्थी शिविर रहेको गोलधाप भने होइन । 

उहाँको घर नजिकै अदुवा खोला अनि ठूलो फाँट थियो । उहाँहरू फाँटमा गाई चराउन जाने गर्नुहुन्थ्यो । गाई चराउन जाँदा यदि सिक्का भेटियो भने त्यसैको खोपी खेल्ने, नभए फुटेको घैँटोलाई टुक्राटुक्रा बनाएर सिक्का जस्तो गोलो ढ्याक बनाएर त्यसको खोपी खेल्ने गर्नुहुन्थ्यो । 

डोरी नाघी, खल्याङखुट्टी तथा गुच्चा खेल्ने पनि गर्नुहुन्थ्यो । अझ त्योभन्दा पनि भाले जुधाइ अर्थात् कक फाइट निकै लोकप्रिय थियो उहाँको पालामा । 

भाले जुधाइ खेल्दा चोट पटक लाग्ने र लड्ने भनेको त सामान्य नै हुन्थ्यो । कहिलेकाहीँ त साथीहरूको दाँतसमेत झरेको छ । ‘हेर्दा सामान्य लागे पनि उक्त खेल निकै खतरनाक नै थियो’, उहाँ भन्नुहुन्छ । 

उहाँको घर नजिकैको ठूलो फाँटमा ठूलाठूला खाडी हुन्थे त्यतिखेर । तीे खाडीमा सनपाट पकाउनका लागि राखिन्थ्यो । सनपाट निकालिसकेपछि त्यो खाडल निकै कुइगन्धे हुन्थ्यो । उहाँहरू त्यो कुइगन्थे खाडलमा समेत पौडी खेल्न छाड्नुहुन्नथ्यो । फोहोरले जीउ चिलाउने, लुतो आउने हुन्थ्यो तर पनि उहाँहरू पौडन छाड्नुहुन्नथ्यो । 

नजिकैको अदुवा खोलामा अलिक गहिरो ठाउँ भेटियो कि पौडी खेल्न जाने । कहिलेकाहीँ पौडी खेल्दा पानी खाएका र झण्डै डुबिएका त कति घटना छन् छन् उहाँका । 

घरबाट गाई फुकाएर गाई चराउन गयो अनि गाई छाडेर खोपी खेल्न थालेपछि गाईले अरूको बाली खाएको पनि कति हो कति घटना छन् । बाली खाएको कुरो घरमा पुगेपछि बुबा लट्ठी लिएर आउँदा खोपी खालमा भेटिएका थुप्रै सम्झना अझै ताजै छन् देवीसँग । 

प्रारम्भिक शिक्षा 

उहाँको प्रारम्भिक शिक्षा गोलधापको जनजागृति माविबाट सुरु भएको हो । स्कूल घरबाट आधा घण्टाको पैदल दूरीमा थियो । उहाँले त्यहाँ कक्षा ६ सम्म मात्र अध्ययन गर्नुभयो ।

अहिलेको जस्तो व्यवस्थित नभए पनि स्थानीय काठबाट बनाइएका सामान्य डेस्क-बेञ्च थिए बस्नलाई । डेस्क-बेञ्च राम्रा र समतल नभएका कारण घोच्ने, लुगा च्यातिने पनि थुप्रै भए । अझ बेञ्च लडेर खुट्टा काट्ने अनि अरू चोट पटक लागेका पनि धेरै घटना छन् । 

कहिलेकाहीँ कक्षा कोठाबाहिर पढ्दा बोरा ओछ्याएर पढ्नु भनेको सामान्य कुरा हो अन्यथा घरबाट चकटी बोकेर गएर पढ्नुपर्ने अवस्था भने आएन उहाँको । 

एउटा कक्षामा झण्डै ५०-६० जना हुन्थे । छात्रको तुलनामा छात्राहरूको संख्या कम थियो तर छात्राहरू विद्यालय जाँदै नजाने अवस्था भने होइन । 

गोलधापको त्यतिखेरको समाजिक संरचना भनेको क्षेत्री, बाहुन, मंगोलियन समुदायको संख्या अलिक बढी । त्यसपछि सतार, सन्थाल, राजवंशी तथा दलित समुदायको संख्या । सतार, सन्थाल राजवंशी तथा दलित समुदायका बालबालिका भने कम मात्र स्कूल जाने गर्थे । त्यसमा पनि छात्राको संख्या भने निकै कम हुने गर्थ्यो उक्त समुदायबाट । 

उहाँभन्दा पहिले त ब्राह्मण तथा क्षेत्री समुदायमा पनि छात्रालाई स्कूल पठाउने प्रचलन ज्यादै कम थियो । उहाँका पनि २ जना दिदीहरूले स्कूलको मुख नै देख्न पाउनुभएन । ३ जना बहिनीले भने स्कूल पढ्नुभयो । 

उहाँ पढाइमा तेज विद्यार्थी । गुरु, गुरुआमाहरूले असाध्यै मनपराउने । त्यसैले उहाँ बस्न पनि अगाडिकै बेञ्चमा बस्नुहुन्थ्यो । 

उहाँले उक्त स्कूलमा ६ कक्षासम्म मात्र पढ्नुभयो । त्यसको कारण थियो- उहाँका बुबाको सपना भनेको उहाँलाई पण्डित बनाउने । त्यो किन पनि होला भने, त्यसबेला आय र सम्मानका हिसाबले पण्डित नै अगाडि देखिन्थे । 

उहाँका प्रायः आफन्त सबै यस्तैयस्तै पेसामा थिए । जागिर खाने, पढ्नेलेख्ने र ठूलो क्षेत्रमा पुगेका कोही पनि थिएनन् परिवारमा । त्यस कारण पनि उहाँका आमाबुबा छोरालाई पण्डित बनाउन चाहनुहुन्थ्यो । 

त्यही बेलामा योगी नरहरिनाथले झापामा कोटी होम लगाउनुभएको थियो । कोटी होम लगाएका बेला उहाँहरू सपरिवार हेर्न भनेर उक्त ठाउँमा जानुभएको थियो । 

त्यहाँ हेर्दा हवन गर्ने गुरु तथा पण्डितहरूको त झन् शान नै बेग्लै देखिन्थ्यो । त्यसपछि उहाँलाई पनि यो क्षेत्र ठिकै छ कि हो भन्ने लाग्यो । उक्त समयपछि कन्काईमा गायत्री वैदिक गुरुकुल भनेर एउटा संस्कृत पढाउने स्कूल नै सुरु भयो । 

त्यसबेलासम्म जनजागृतिमा उहाँको पढाइ एकदमै राम्रो थियो । उहाँ प्रथम भएर ७ कक्षामा जानुभएको थियो । तर, बुबाले आफ्ना सपनाका लागि उहाँलाई जनजागृतिबाट निकालेर गुरुकुलमा भर्ना गरिदिनुभयो । यो २०४२ सालको कुरा हो ।

जनजागृतिका सबै गुरुहरूले उहाँका बुबालाई एकदमै गाली गर्नुभयो । ‘यस्तो राम्रो पढिरहेको छोरोलाई स्कूलबाट निकालेर तपाईँले एकदमै गल्ती गर्नुभयो’ भनेर देवीका बुबालाई बारम्बार सम्झाउने र गाली गर्ने काम भयो । 

तर, उहाँको बुबाको मनमा रहेको पण्डितको छाप सजिलै हट्नेवाला थिएन । त्यसपछि उहाँले गुरुकुलमै बसेर रुद्री, चण्डी पढ्न थाल्नुभयो । 

पढाइ राम्रो भएकाले उहाँलाई यो केही जस्तो पनि लागेन । रुद्री, चण्डी, वेद, पुराण सबै सकेर उहाँले १६ वर्षको उमेरमा कन्काईमा नै पुराण बाचन गर्नुभयो । अब उहाँको बुबाको छोरो पण्डित बनेर पुराण बाचन गरेका हेर्ने सपना पनि पूरा भयो । 

उक्त गुरुकुलमा पढाइ मात्र हुन्थ्यो । परीक्षा दिनका लागि भने बनारस जानुपर्थ्यो । पूर्व मध्यमा (एसएलसी) २ वर्षमा पूरा हुन्थ्यो । पहिलो वर्ष परीक्षा दिएर आएपछि उहाँले पुराण बाचन गर्नुभएको थियो । 

दोस्रो वर्ष पनि परीक्षा दिनका लागि उहाँ बनारस जानुभयो । २ पटकको परीक्षाका लागि भनेर उहाँ करिब ४ महिना बनारस बस्नुभयो । 

उहाँ १५ वर्षको हुनुहुन्थ्यो २०४५ सालमा पहिलो पटक बनारस जाँदा । फर्म भर्न र अन्य कामका लागि भने गुरु आफैँ जानुहुन्थ्यो । उहाँहरूलाई कन्काइमा पढाउने गुरु दुर्गा खतिवडाले नै बनारस लैजाने काम गर्नुहुन्थ्यो । परीक्षा दिन बनारस जानका लागि गुरु अघिअघि अनि उहाँहरू पछिपछि । 

‘अहिले भने ठ्याक्कै त्यस्तो दृश्य वैदेशिक रोजगारीमा जानका लागि गाउँबाट आएका कामदार दलालको पछिपछि लागेजस्तो हुन्थ्यो’, उहाँ सम्झनुहुन्छ । 

पूर्व मध्यमा र पुराण बाचन दुवै सकिसकेपछि भने उहाँले बुबालाई ‘तपाईंहरूको इच्छा पूरा भयो, अब म आफ्नो बाटो लाग्छु’ भन्नुभयो । 

पूर्व मध्यमा आखिर जोडिने भनेको संस्कृतसँग नै हो फेरि । उहाँ पूर्व मध्यमा सकेर धरान आउनुभयो । धरानको पिण्डेश्वर संस्कृत महाविद्यालयबाट उत्तर मध्यमा र शास्त्री गर्नुभयो । त्यसपछि उहाँले दाङ गएर आचार्य गर्नुभयो अनि बल्ल त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गर्नुभयो । 

काठमाडौं यात्रा

उहाँ धरानबाट उत्तर मध्यमाको पहिलो वर्षको जाँच दिएर २०४८ सालमा काठमाडौं घुम्न आउनुभएको थियो । रात्रि बस चढेर आउनुभएको हो उहाँ काठमाडौं । 

जसलाई हालको पुरानो बसपार्क भनिन्छ, त्यही नै थियो काठमाडौंको बसपार्क त्यसबखत । बागबजारमा हाल भक्तपुरको बसपार्क रहेको स्थानबाट बस चढेर पुरानो ठिमीको चपाचोमा गएर बास बस्नुभएको थियो देवी । चपाचो पुग्नुको कारण भने एक जना साथीको डेरा थियो त्यहाँ । उहाँ त्यसबेला एक हप्ता काठमाडौं बस्नुभयो । 

वर्गको द्वन्द्व, धर्मको द्वन्द्व, जातको द्वन्द्व, लैंगिक द्वन्द्व आदि विविध किसिमका द्वन्द्वको प्रयोग उहाँले यी ९८ वटा खण्डकाव्यमा भेट्नुभयो । यी द्वन्द्वमा पनि विशेषगरीे नेपाली समाजमा आर्थिक कारणले वर्ग द्वन्द्व कसरी हुन्छ र त्यसलाई काव्यमा कसरी प्रतिबिम्बित गरिएको छ भन्ने कुराको विश्लेषण उहाँले यी ९८ वटा खण्डकाव्यको अध्ययनका आधारमा प्रस्तुत गर्नुभएको छ । 

त्यसभन्दा अघि उहाँ काठमाडौं आउनुभएको थिएन । हुनत बिर्तामोड र धरानमा धेरै उठबस भएका कारण त्यति विधि औधी र अचम्मै भने लागेन उहाँलाई पहिलो पटक काठमाडौं खाल्डो टेक्दा पनि । 

२०५१ सालदेखि भने उहाँको काठमाडौं आउजाउ बाक्लियो । २०५३ सालमा भने उहाँ नेपालीमा एमए गर्नका लागि भनेर ढुक्कै काठमाडौं आउनुभएको हो । 

त्यो बाइस सय भारु

एमए गर्ने बेलामा उहाँ रोल्पामा पढाउनुहुन्थ्यो । अन्य आयस्रोत केही थिएन । संस्कृत पढ्ने विद्यार्थीलाई महिनाको ५०० रुपैयाँ छात्रवृत्ति प्राप्त हुन्थ्यो । त्यसैले जीवन गुजारा गर्नुपर्ने हुन्थ्यो । पछि बढेर एक हजार रुपैयाँ भयो । घरबाट मागेर लिने अवस्था पनि थिएन । 

देवीका अनुसार आजसम्म उहाँले घरबाट अर्थात् आमाबुबाबाट लिनुभएको भनेको जम्मा ३०० रुपैयाँ हो, त्यो पनि पहिलो पटक बनारस जाँदा बुबाबाट लिएको । 

दोस्रो पटक बनारस जाँदा त उहाँले मनग्य कमाइ गरेर पो आउनुभयो । भएको के थियो भने, उहाँ दोस्रो पटक बनारस जाँदा एक महिनाका लागि परीक्षा सर्‍यो । त्यो एक महिनामा उहाँ बनारसका साधुहरूसँग यज्ञमा गएर आउँदा उहाँले केही पैसा कमाएर ल्याउनुभयो । 

त्यसबेला उहाँ बनारसमा मात्र नभएर मुरादाबाद, दिल्लीलगायतका क्षेत्रमा पनि जानुभयो । उहाँ एक पटक यज्ञका लागि बनारसबाट १५ दिनका लागि मुरादाबाद जानुभयो । 

त्यहाँ एक जना गुजरातका साधुले लिएर गएका थिए देवीलाई । ती साधुका गुजरात, बिहार, मध्यप्रदेश सबै ठाउँका चेला थिए । देवी नेपाली, हिन्दी, सँस्कृत सबै भजन गाउने गर्नुहुन्थ्यो । उहाँको गायन कला एकदमै राम्रो थियो । 

ती साधुले यज्ञमा आफ्ना चेलाहरू विभिन्न भाषामा भजन गाउन सक्छन् भनेर नेपाली, गुजराती लगायतका भाषामा भजन गाउन लगाउँथे । 

देवीले त्यो यज्ञमा सबैको मन जितिसक्नुभएको थियो । अरूलाई ११ सय भारु दक्षिणा दिएकामा उहाँलाई भने २२ सय भारु दक्षिणा दिइएको थियो । 

२२ सय भारु भनेको त्यो बेलाको चानचुन रकम थिएन । त्यसबेला घर आउँदा उहाँले सबैलाई लत्ता कपडा किनेरसमेत ल्याइदिनुभएको थियो उक्त पैसाले । 

झण्डै बनेका जोगी

उहाँलाई सबैले मनपराएको देखेर ती साधुले ‘अब तिमी मसँग मेरो आश्रममा हिँड’ भनेका थिए । ‘तिमीलाई त्यहाँको एउटा खण्डको पिठाधीश बनाइदिन्छु’ भनेर पनि उनले भनेका थिए । साधुको आश्रम गुजरातमा थियो त्यसबेला । 

देवीलाई पनि साधुका प्रस्तावको लोभ पलायो । उहाँ गुजरात जान तयार पनि हुनुभयो । ती साधुसँग अन्य साना यज्ञमा जाँदा कतै ३०० त कतै ५०० रुपैयाँ गरेर देवीले झण्डै ५ हजार भारु जम्मा गर्नुभयो । 

‘जोगी हुँदा यति धेरै कमाइ हुने रहेछ भने किन नजाने ?’ भन्ने पनि लाग्यो उहाँलाई ।
 
उहाँसँग ७ जना नेपाली साथी थिए त्यसबेला यज्ञमा गएका । त्यसमध्ये एक जना मणिपुरका नेपालीभाषी साथी थिए, उहाँभन्दा केही पाका । 

उनले देवीलाई गाली गरे । ‘पढ्न आएको मान्छे यस्ता जोगीका पछि लाग्ने ? यिनको केही भर हुँदैन । कुनै पनि बेला कहीँ लगेर बेच्न पनि सक्छन् । फसाइदिन सक्छन् । जे पनि गर्न सक्छन् । हामीले धेरै गर्नु छ । पढ्नुपर्छ र अझ नेपाल गएर पढ्नुपर्छ’ भनेर सम्झाए । देवीलाई छाड्दै छाडेनन् उनले । 

यसपछि देवी सिधा बनारस जानुभयो । बनारस गएर जाँच दिनुभयो । ती साधु उहाँलाई भेट्न बनारस आएको आयै गर्थे । ‘कहिले जाँच सकिन्छ ?’ भनेर सोधेको सोध्यै गर्थे । कारण, जाँच सकिनासाथ साधु देवीलाई गुजरात लाने तयारीमा थिए । 

तर, ती साथीहरूले चाहिँ जाँच सकिएको बेलुका नै रेलको टिकट काटे । बिहानै सँगै लगेर रेल चढाएर देवीलाई नेपाल लिएर आए साथीहरूले । 

यता आएपछि ती साधुसँगको सम्पर्क टुट्यो । यसरी उहाँ झण्डैझण्डै जोगी हुनबाट जोगिनुभएको रहेछ । 

अर्को रमाइलो कुरो, गेरुवा वस्त्र लगाएर रेलमा चढ्दा पैसा लाग्दैनथ्यो । उहाँहरू बनारसबाट मुरादाबाद जाँदा गेरुवा वस्त्र लगाएर जोगीको भेषमा यात्रा गर्नुहुन्थ्यो । 

यसले अर्को लोभ पलायो । यही बेलामा सबै घुम्नुपर्छ भन्ने लाग्यो उहाँलाई । अहिले पनि भारतमा त्यो प्रचलन कायमै छ । यस्ता लोभै लोभले उहाँ झण्डै जोगी हुनुभएको रहेछ । तर, नेपाल आएपछि भने उहाँ बनारस जानु भएको छैन रे !

ती साधुसँगको संगत भएको करिब ३० वर्ष भएछ । कहिले गएर भेटौँ, सम्पर्क गरौँ भन्ने मनमा पनि आउँदैन रे ! ‘अर्को कुरा, अब ती मान्छे छन् कि छैनन् ? अनि उनको नाम, ठेगाना केही थाहा नभएपछि जानेचाहिँ कसरी ?’, उहाँ भन्नुहुन्छ !

विश्वविद्यालय प्रवेश

उहाँले २०५४ सालमा आचार्य गर्नुभएको हो साहित्यमा । त्यसपछि साहित्य पढाउने कि भन्ने लाग्यो उहाँलाई । उहाँले प्रयास पनि गर्नुभयो । तर, त्यतिखेर विश्वविद्यालयमा प्रवेश भएन उहाँको । 

त्यसपछि उहाँले नेपालीमा एमए गर्नुभयो । सेवा आयोग २०५८ सालमा खुल्यो । त्यसको नतिजा २०६१ सालमा निस्कियो । त्यसपछि बाल्मीकि विद्यापीठमा उहाँको उपप्राध्यापकबाट जागिर सुरु भयो । 

आन्तरिकबाट उहाँको सहप्राध्यापक हुने समय नपुगिसकेकाले उहाँले एक जनाका लागि माग भएको खुला सहप्राध्यापकमा नाम निकालेर हाल उहाँ सहप्राध्यापक हुनुहुन्छ । 

२०७५ सालदेखि भने उहाँ काजमा नेपाल प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्य हुनुहुन्छ । अब प्रज्ञाप्रतिष्ठानमा डेढ वर्षको समय बाँकी छ उहाँको । त्यसपछि फेरि उहाँको वाल्मीकि विद्यापीठको प्राध्यापन यात्रा जारी रहनेछ । 

नर्सरीदेखि एमएसम्मका कक्षा

देवी नेपालले नर्सरीदेखि एमएसम्मका कक्षाहरू पढाउनुभएको छ । कतै औपचारिक जागिरको रूपमा भने कतै रमाइलोका लागि । 

उहाँ अहिले पनि बालबालिकासँग खेल्न मनपराउनुहुन्छ । बालबालिकालाई कविता लेखनको प्रशिक्षण दिनुहुन्छ । बालबालिकाले जानेका भनेकै ५० देखि १०० शब्द हुन्छन् । उहाँ त्यति शब्दमा सीमित रहेर त्यति शब्दलाई कवितामा उनेर उनीहरूसँग खेलेर, नाचेर आउनुहुन्छ । त्यसो गर्न उहाँलाई निकै रमाइलो लाग्छ । 

विद्यावारिधि

२०७२ सालमा ‘प्रगतिवादी नेपाली खण्डकाव्यमा द्वन्द्व विधान’ विषयमा उहाँले विद्यावारिधि गर्नुभएको छ । 

नेपाली खण्डकाव्य परम्परामा प्राथमिककालदेखि अहिलेसम्म लेखिएका वा भनौँ २०७२ सालमा विद्यावारिधि गर्दा उहाँले एक हजार २५३ वटा खण्डकाव्य उहाँले भेट्नुभयो । तिनमा २४० वटा प्रगतिवादी विचारधाराका रहेछन् । त्यसमध्ये ९८ वटामा द्वन्द्वको प्रयोग भएको उहाँले पाउनुभयो । 

वर्गको द्वन्द्व, धर्मको द्वन्द्व, जातको द्वन्द्व, लैंगिक द्वन्द्व आदि विविध किसिमका द्वन्द्वको प्रयोग उहाँले यी ९८ वटा खण्डकाव्यमा भेट्नुभयो । यी द्वन्द्वमा पनि विशेषगरीे नेपाली समाजमा आर्थिक कारणले वर्ग द्वन्द्व कसरी हुन्छ र त्यसलाई काव्यमा कसरी प्रतिबिम्बित गरिएको छ भन्ने कुराको विश्लेषण उहाँले यी ९८ वटा खण्डकाव्यको अध्ययनका आधारमा प्रस्तुत गर्नुभएको छ । 

उहाँ २०४० को दशकको अन्त्यतिर कविता लेख्न थाल्दै हुनुहुन्थ्यो । उहाँले १६ वर्षको उमेरमा २०४६ सालमा पहिलो कविता लेख्नुभएको हो । उक्त कविता ‘किसान’ शीर्षकमा थियो । कविता शार्दूलबिक्रीडित छन्दमा थियो । 

यसको कारण उहाँले संस्कृत पढेको र कालिदासका कविता पढ्दा सबै छन्दमा भएको हुनाले उहाँमा त्यो प्रभाव परेको हसन सक्ने बताउनुहुन्छ । तर, त्यतिखेर उहाँले छन्दको लयमा मात्र लेख्नुभएको थियो अर्थात् छन्दको नियमभित्र बसेर लेख्नुभएको थिएन । 

पछि उहाँले यो छन्दको नियम के हुँदो रहेछ त भनेर खोज्न थाल्नुभयो । २०५० को दशकतिर गद्यकविता लेख्नेहरूले पद्य वा छन्दकविता लेख्नेलाइ कवि नमान्ने र छन्दकविता लेख्नेले गद्यकविता लेख्नेलाई कवि नमान्नेजस्तै थियो । 

अवस्था यतिसम्म थियो कि छन्दको कविता वाचन गर्दा पनि कविले गद्यमा वाचन गर्थे । कारण रहेछ- चन्दमा लेख्ने कविलाई सिलोके, छन्दे भन्दारहेछन् अनि डराएर त्यसो गरिएको रहेछ । 

नेपाली शिक्षकहरूले पनि कवितालाई कविताको रूपमा नपढाइदिने । गद्यको रूपमा पढाइदिने । यसै सन्दर्भमा २०५३ सालमा उहाँको एउटा अनुभव पनि जोडिएको छ । 

‘स्वाहा’ सन्दर्भ

२०५३ सालमा उहाँले कीर्तिपुरबाट बीएड गर्नुभयो । शैक्षणिक अभ्यासका लागि उहाँ टौदहको टौदह राष्ट्रिय उच्चमाविमा पढाउन जानुभयो । 

उहाँले १० कक्षामा पढाउनुपर्ने रहेछ । उहाँ छन्दमा कविता लेखिरहेको मान्छे । हरेक कुरा जुन स्वरूपको हो, त्यसैअनुरूप सिकाउनुपर्छ भन्ने उहाँको मान्यता रहेछ । 

देवीले १० कक्षामा रहेको पहिलो पाठ ‘इच्छा’ कविता पढाउन सुरु गर्नुभयो । उहाँले विद्यार्थीलाई उक्त कविताको छन्दको लय सिकाउनुपर्‍यो भनेर इच्छा कविता लयमा बाचन गर्न सुरु गर्नुभयो-

इच्छा यो छ महेश अन्तिम जसै त्यो मृत्यु शैय्या जली 

उहाँले यति मात्र के बाचन गर्नुभएको थियो, पछाडिबाट एउटा विद्यार्थीले ‘स्वाहा’ भन्यो । 

कक्षामा प्रवेश गर्दाको भयंकर उत्साह विद्यार्थीको ‘स्वाहा’ले मारिदियो । उसले स्वाहा भनिसकेपछि देवीलाई रिस, ग्लानि अनि छट्पटी सबै एकैसाथ भयो । 

रिस देखाऊँ, शिक्षण अभ्यासका लागि आएको, भोलि विद्यार्थीले प्राप्तांकमा बाधा पुर्‍याउँछ । उहाँले विचार गर्नुभयो- आजसम्म यो विद्यार्थीले यसरी कविता सुनेकै छैन त के गरोस् उसले पनि !

कसोकसो गरी उहाँले कक्षा त लिइसक्नुभयो । तर, कोठामा आइसकेपछि भने उहाँलाई विद्यार्थीले कवितामा होम हालिदिएपछि बहुत औडाहा भयो । उहाँलाई लाग्यो- छन्दमा लेखिएका कविता जम्मै स्वाहा भन्ने नै हुन् त ?

देवीले त्यतिखेरै एउटा संकल्प गर्नुभयो, विद्यार्थीलाई कविता भनेको स्वाहा भन्ने विषय होइन भन्ने बनाएरै छाड्छु भन्ने प्रतिज्ञा पनि गर्नुभयो । 

बीएड सकिएपछि उहाँ काठमाडौंका अधिकांश स्कूलमा घुम्नुभयो । उहाँ प्रायः स्कूलका प्रधानाध्यापककहाँ गएर विद्यार्थीलाई कविता के हो, कसरी लेख्ने, कसरी पढ्ने आफूले पढाउने जानकारी गराउनुहुन्थ्यो । उहाँको यस्तो समर्पण लगभग एक दशक रह्यो । 

पछिल्लो समयमा भने उहाँले तालिका नै बनाएर जानुपर्ने गरीको माग हुन थाल्यो । पछि त विभिन्न समूह, ठाउँ अनि देश, विदेशबाट समेत उहाँको माग हुन थाल्यो । 

यदि त्यो विद्यार्थीले उहाँलाई ‘स्वाहा’ नभनिदिएको भए अनि उहाँले पनि त्यसलाई सकारात्मक रूपमा नलिएको भए उक्त बाटो तय हुने थिएन । 

पछि उहाँ पाठ्यक्रम विकास केन्द्रबाट शिक्षक तालिममा जान थाल्नुभयो । डेढ सय जनासम्म नेपाली शिक्षक रहेको तालिममा उहाँले हामीले कवितालाई कविता जस्तो पढाएनौँ भने त्यो कविता मर्छ भनेर पनि जानकारी दिनुभयो । 

छन्द रुचाउने शिक्षकले गद्यलाई पनि छन्दमा बाचन गर्ने अनि गद्य रुचाउनेले छन्दको कवितालाई पनि गद्यमा पढाउने चलन थियो । 

‘जस्तो कि गोपालप्रसाद रिमालको ‘आमा’ कविता पढाउनुपर्ने छ अनि शिक्षकले उक्त मुक्त छन्दको कवितालाई छन्दमा बाचन गर्न थाल्यो भने त्यसको हालत के होला ?’, देवी भन्नुहुन्छ, ‘सिद्धिचरण श्रेष्ठको ‘परिचय’ कविता पढाउँदा गद्यमा वाचन गरेर पढाइदियो भने के होला ?’ यी दुवै अतिवादबाट मुक्त हुनुपर्ने उहाँको धारणा छ । 

तालिममा एक जना शिक्षिकाले ‘मेरो पनि एउटा यस्तै अनुभव छ’ भनेर आफ्ना कुरा सुनाएको देवी बताउनुहुन्छ । ‘उहाँ सिद्धिचरणको ओखलढुंगा कविता लयमा वाचन गर्दै पढाउँदै हुनुहुँदो रहेछ, एउटा विद्यार्थीले भने ‘या...या...’ गरेर र्‍याप दिन थालेछ ।’ 

यसबाट अहिलेको विद्यार्थी पुस्ताले कवितालाई कसरी बुझेको छ भन्ने स्पष्ट हुने देवीको भनाइ छ । ‘लय हाल्नेबित्तिकै कि त यो प्राचीन विषय हो, जो पुरेत अनि पण्डितले हवन गर्दा भन्ने मन्त्र हो भनेर बुझेको रहेछ कि त माइकल ज्याक्सनले गिटार बजाएर गाउने पप, र्‍याप गीत भनेर बुझेको रहेछ’, देवीको गुनासो छ । 

तर, कविताको लय भनेको त बाहिरी कुरा मात्र हो भन्नुहुन्छ देवी । ‘कविताको शक्ति त भित्री कुरामा पो रहन्छ । तसर्थ, सो शक्ति कसरी निर्माण गर्ने भन्ने कुरामा मेरो प्रशिक्षण केन्द्रित रहन्छ’, उहाँ भन्नुहुन्छ ।

नेपाली भाषामा लेखिने कवितचामा ५ वटा लयको प्रयोग भएका देवी बताउनुहुन्छ । उहाँ छन्दमा मात्र नभएर यी सबै लयमा प्रशिक्षण दिनुहुन्छ । वार्णिक, मात्रिक, लोकलय, मुक्तलय, यी सबैमा प्रशिक्षण दिने गर्नुहुन्छ देवी । 

मात्रिक छन्द, जसमा मात्राको गणना गरेर लेखिन्छ, यसको प्रयोग सिद्धिचरण श्रेष्ठको ‘ओखलढुंगा’ कवितामा भएको छ । अर्को वार्णिक छन्द छ, जुन ह्रस्व-दीर्घको एकरूपताबाट निर्माण हुन्छ । शिखरिणी, पञ्चचामर, स्रग्विणीलगायत यस छन्दअन्तर्गत पर्छन् ।

त्यस्तै, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ लोक छन्दमा लेखिएको छ । झ्याउरे, बालोरी, सवाई जस्ता लोकछन्दहरू पनि छन् नेपाली भाषामा । मुक्त छन्द छ अर्को, जसलाई हामी गद्य कविता भन्ने गर्छौं । पाँचौँ भनेको बहर हो, जुन गजलमा प्रयोग हुन्छ । बहरमा पनि उर्दू, फारसी साहित्यबाट आएको एउटा शास्त्रीय परम्परा छ । 

उहाँले यी पाँचवटै लयहरू कुनलाई कसरी प्रयोग गर्ने भन्ने कुरा ‘छन्द-पराग’ भन्ने पुस्तकमा पनि उल्लेख गर्नुभएको छ । पुस्तकमा उहाँले ३८० वटा छन्दको सूत्रसहित उदाहरणसमेत प्रस्तुत गर्नुभएको छ । उहाँले छन्दमा बाचन कसरी गर्ने, कहाँकहाँ बिश्राम दिने भनेर प्रशिक्षणमूलक किताब नै तयार गर्नुभएको छ ।

उहाँ प्रशिक्षण दिँदा कविताको बाह्य रूप हेर्ने होइन, आन्तरिक शक्ति हेर्ने, लयमा लडाइँ गर्ने होइन भन्नुहुन्छ । चाहे गद्यमा लेखौँ या पद्यमा, कविताचाहिँ लेखिनुपर्‍यो भन्ने मूल आशय रहन्छ उहाँको प्रशिक्षणका दौरान पनि । 

प्रकाशन

हालसम्म उहाँका २७ वटा साहित्यीक कृति प्रकाशन भएका छन् । उहाँले नर्सरीदेखि स्नातकसम्मका सबै तहका पाठ्य पुस्तक पनि लेख्नुभएको छ, जुन ३० को संख्यामा रहेका छन् । 

साहित्यिक कृतिको कुरा गर्दा ‘माटो र मुटु’ तथा ‘सलाद जस्तो देश’ २ वटा कविता कृति प्रकाशित छन् । 

उहाँको प्रकाशन यात्रा २०५७ सालमा ‘श्रद्धाञ्जलि’ खण्डकाव्यबाट सुरु भएको हो । त्यसपछि धेरै समय उहाँ खण्डकाव्यकै यात्रामा हिँडिरहनुभयो । 

‘त्रिशतक’ भन्ने एउटा मुक्तकको पुस्तक पनि रहेको छ उहाँको, जसमा ३०० वटा फरकफरक श्लोक फरकफरक सन्दर्भका रहेका छन् । त्यसमा उहाँले १०० वटा श्लोक १०० छन्दमा उहाँले लेख्नुभएको छ । त्यसमा सुक्ति १०० वटा अनि नीति १०० वटा रहेका छन् । 

‘भानु भन्दै हिडिरहूँ’ उहाँको अर्को यात्रा काव्य रहेको छ, जुन भानु द्वि-शतवार्षिकीमा उहाँहरू काठमाडौंबाट भारतको पश्चिम बंगाल हुँदै असाम, मणिपुर, मेघालय, नागाल्याण्डसम्मको यात्रामा जाँदाको सन्दर्भ उहाँले काव्यमा उतार्नुभएको छ । 

पहिलो लकडाउनको बेला उहाँले २ वटा खण्डकाव्य लेख्नुभएको छ । एउटा ‘पागल’, जो सामाजिक विषयमा आधारित छ भने अर्को ‘समुद्र मन्थन’, जो पौराणिक विषयमा आधारित छ । 

अर्को उहाँको क्षेत्र भनेको समालोचना पनि हो । ‘छन्द-पराग’लाई उहाँ अनुसन्धानमूलक तथा समालोचनात्मक कृति भन्नुहुन्छ । ‘काव्य समालोचना’, ‘समयरेखा’ आदि समालोचनाका कृति छन् उहाँका । उहाँको गजलका क्षेत्रमा पनि सक्रियता छ । 

गजल अध्ययन, अनुसन्धानमा लामो समयदेखि सक्रियाशील देवी नेपालले गजल सिकाउने सैद्धान्तिक÷प्रशिक्षणमूलक गुरु पुस्तक पनि लेख्नुभएको छ । ‘नेपाली गजलः विगत र वर्तमान’ तथा ‘गजल कसरी लेख्ने ?’ २ वटा उहाँका संयुक्त पुस्तक हुन्, जसले नेपाली गजलको सैद्धान्तिक सन्दर्भ र प्रशिक्षणका लागि निकै प्रभावकारी भूमिका खेलेका छन् ।
 
बाल साहित्यतर्फ अत्यन्त धेरै बालबालिकाले मनपराएको ‘कुखुराको बिहे’, ‘मैना चरी दंग परी’, ‘क, ख, एक, दुई र अ, आ’ सिकाउने किताबहरू । हाल भने ‘मामाघरको रोपाइँ’ तथा ‘हजुरबाको पाठशाला’ बालकाव्य प्रकाशनको चरणमा छन् । 

हाम्रा बालकालिकाले गाउँघरका शब्द, ढिकी, जाँतो, कुटो, कोदालो बिर्सिएकाले यस्ता शब्दलाई हजुरबाको पाठशालामा सिकाइदिने उद्देश्यले यी पुस्तक प्रकाशन गर्न लागेको उहाँ बताउनुहुन्छ । देवीका अनुसार शहरबाट लकडाउन भएर गाउँ पुगेका नातिनातिनालाई हजुरबाले यस्ता शब्द चिनाउँदै हिँडेको वर्णन छ किताबमा । 

त्यस्तै, ‘मामाघरको रोपाइँ’मा भने खेतीपातीमा प्रयोग हुने शब्द चिनाउने उहाँको उद्देश्य छ । बाल निबन्धको पनि पुस्तक छ उहाँको । प्रज्ञाप्रतिष्ठानमा पनि उहाँको जिम्मेवारी भनेको बाल साहित्य विभागमा नै हो । प्रतिष्ठानबाट पनि उहाँले बाल गजल, बाल नाटक, बाल कविता, बाल निबन्ध तथा यसै वर्ष बाल साहित्य लेखनको इतिहासको काम पनि गर्दै हुनुहुन्छ । 

विवाह 

उहाँको विवाह २०६० सालमा भएको हो । मागी विवाह । उहाँका २ छोरी अनुज्ञा तथा प्रविज्ञा हुनुहुन्छ । दुवै जना कविता लेखनमा हुनुहुन्छ । अनुज्ञाको एउटा कविता कृति पनि प्रकाशन भइसकेको छ । प्रविज्ञाको पनि कविता कृति प्रकाशन भएको छ । 

अनुज्ञाका ३ वटा तथा प्रविज्ञाको एउटा कृति प्रकाशन भएका छन् । हाल भने छोरीहरू पनि छन्दमा कविता लेख्दै हुनुहुन्छ । 

संघसंस्थामा संलग्नता

देवी नेपाल लेखन, प्राध्यापन, प्रज्ञाप्रतिष्ठानका प्राज्ञ, भाषा, छन्द प्रशिक्षणसँगै साहित्य सन्ध्याका सचिव, मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिव, देश, विदेशका झण्डै एक दर्जन साहित्यिक संघसंस्थाका सल्लाहकार पनि हुनुहुन्छ । भण्डै एक दर्जन सामाजिक, साहित्यिक संघसंस्थामा कार्यसमितिमा पनि हुनुहुन्छ उहाँ । नार्गाजुन साहित्यिक प्रतिष्ठानमा पनि उहाँ सक्रिय हुनुहुन्छ । 

सम्मान तथा पुरस्कार

देवी नेपालले हालसम्म प्राप्त गरेका सम्मान र पुरस्कारको संख्या ४ दर्जनभन्दा बढी पुगेका उहाँ बताउनुहुन्छ ।

राष्ट्रिय पुरस्कारको हकमा युवा वर्ष मोती पुरस्कार, (२०६७), वाणी पुरस्कार, विभिन्न क्षेत्रका साहित्यिक संघसंस्थाले प्रदान गरेका पुरस्कार आदि रहेका छन् ।