पाँचौँ चरणको लोकसभा चुनाव : सात राज्यका ५१ सिटमा निर्वाचन हुँदै

पाँचौँ चरणको लोकसभा चुनाव : सात राज्यका ५१ सिटमा निर्वाचन हुँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०७६

नयाँ दिल्ली । भारतमा जारी लोकसभा चुनावको पाँचौं चरणअन्तर्गत सात राज्यका ५१ सिटका लागि सोमबार निर्वाचन हुँदैछ । उत्तर प्रदेशका १४, राजस्थानका १२, मध्यप्रदेश र पश्चिम बंगालमा ७–७, विहारमा ५, झारखण्डमा ४ र जम्मू–काश्मिरमा २ सिटका लागि निर्वाचन हुँदैछ ।

भोलि हुने निर्वाचनमा उत्तरप्रदेशका रायबरेली, अमेठी, लखनऊका भिआइपी सिटमा मतदान हुँदैछ । रायबरेलीबाट युपिएका चेयर पर्सन सोनिया गान्धी चुनावी मैदानमा छन् भने कांग्रेस अध्यक्ष राहुल गान्धी अमेठी निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धामा छन् ।

केन्द्रीय मन्त्री स्मृति इरानीले राहुलको प्रतिष्पर्धा गर्दैछन् । यी दुवैको प्रतिष्पर्धाले अमेटी सिटको निर्वाचन रोचक बनेको छ ।

यसैगरी लखनऊमा केन्द्रीय गृहमन्त्री राजनाथ सिंह चुनावी मैदानमा छन् । उनको प्रतिष्पर्धामा बलिउड अभिनेता शत्रुघन सिन्हीकी श्रीमती पुनम सिन्हा रहेकी छन् ।

रायबरेलीबाट सोनियाको प्रतिष्पर्धा दिनेश प्रताप सिंहसँग रहेको छ । चुनावी विश्लेषकले उत्तर प्रदेशका यो सिटमा कांग्रेसले जित्ने आँकलन गरेका छन् ।

यसैगरी राजस्थानको जयपुर ग्रामीण सिटमा दुई जना पूर्व ओलम्पियन खेलाडीबीच प्रतिष्पर्धा भइरहेको छ । भाजपाका तर्फबाट राज्यवद्र्धन सिंह राठौर र कांग्रेसका तर्फबाट कृष्ण पुनिया चुनावी मैदानमा छन् ।

भाजपाका लागि भोलि हुने निर्वाचन अति महत्वपूर्ण रहेको छ । सन् २०१४ को निर्वाचनमा भाजपाले यी ५१मध्ये अधिकांश सिटमा विजयी हासिल गरेको थियो । उसलाई यो विजय दोहोर्याउने चुनौती रहेको छ ।