३२औँ ओलम्पिक: चीन शीर्ष स्थानमा उक्लियो
श्रावण १६, २०७८

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लिएको छ । जापान र अमेरिकालाई उछिन्दै चीनले शीर्ष स्थान ओगट्न सफल भएको हो ।

चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ वटा कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले १७ स्वर्ण, ४ रजत र ७ वटा कास्य पदक प्राप्त गरेको छ भने अमेरिकाले १४ स्वर्ण, १७ रजत र ११ वटा कास्य प्राप्त गर्न सफल भएको छ ।

यस्तै, १० स्वर्ण, १४ रजत र १० वटा कास्य पदक प्राप्त गर्दै रसिया ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी अस्ट्रेलिया ९ स्वर्ण, २ रजत र ११ वटा कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत ७ स्वर्ण, ९ रजत र ९ वटा कास्यसहित छैटौँ, दक्षिण कोरिया ५ स्वर्ण, ४ रजत र ६ वटा कास्यका साथ सातौँ, नेदरल्यान्ड्स ३ स्वर्ण, ७ रजत र ५ वटा कास्य जित्दै आठौँ, फ्रान्स ३ स्वर्ण, ५ रजत र ६ वटा कास्यका साथ नवौँ तथा जर्मनी ३ स्वर्ण, ४ रजत र ९ वटा कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ ।

टोकियो ओलम्पिकमा सहभागी २०५ वटा देशमध्ये हालसम्म ७० वटा देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट ४ वटा खेलमा ५ जना खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आआफ्नो खेलमा प्रतिस्पर्धा गरेका थिए । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन् । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्री स्टाइल, सिंहले १०० मिटर फ्री स्टाइल तथा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।