सपनाको सन्देश

सपनाको सन्देश

तिलक थापा भोजपुरे  |  साहित्य  |  श्रावण १६, २०७८

आयो है अब आयो विकासको विरुवा रोप्ने बेला 
गरिएका बाचा, लेखिएका नारा सम्झिए कि बिर्से होला 
देखाएका सपना गर है पूरा, सत्यका आँखा अब खोल है  
मौन मूर्ति बनेर नबस है, बेला भयो अब त बोल है ।
  
विकासका लहर गाउँ गाउँमा पुर्‍याउँछौँ हामी भन्नेहरूलाई
जिताएर पठाउनोस्, सेवा गर्ने अवसर दिनुहोस् भन्नेहरूलाई 
सम्झाउनु छ अब पल्टाएर हेर आफ्नो चुनावी घोषणापत्र 
जनताका सुन्दर सपनाहरूलाई अब पनि नपार है अलपत्र । 

कलमका टुप्पा रड्काएर बजेट तिनकै खल्तीतिर नपरोस् 
भित्र सत्य कतै लुकाएर बाहिर खबर अर्को नल्याइयोस् 
जनताको रगत–पसिनारगतको बजेट कतै खेर नजाओस् 
यो हो जनसपना कसैबाट यसको गलत अर्थ नलाओस् ।