जलपरी, एउटी काल्पनिक मत्स्यकन्याको अवतार कोपेनहेगनको समुद्री तटमा प्रेमी पर्खंदै
फर्कलान् र ती दिनहरू
श्रावण १६, २०७८

कुरो डेनमार्कको भ्रमणको थियो तर मेरो र मेरी पत्नीका लागि २ रातकै सही, पानीजहाजको यात्रा एकदम स्मरणीय रह्यो । समुद्री व्यावसायिक जहाजमा यात्रा गरिएको थियो, त्यो पनि जनै पूर्णिमाको रातमा । हामीले सानैमा पढ्दा पनि समुद्रमा भयङ्कर छाल आउने, जाने गर्छ, त्यसैलाई ज्वारभाटा भनिन्छ भनेर जानेका थियौँ । त्यसको खास समयचाहिँ शुक्ल पक्षको सप्तमी र अष्टमी अनि पूर्णिको रात हो रे ! यी दिनमा ज्वार आउने सम्भावना धेरै हुने गर्छ रे ! 

मनोवैज्ञानिकहरूले यसो पनि भन्ने गर्दा रहेछन्, ‘जसरी एउटा थालमा राखेको पानी छचल्किन्छ हल्लाएपछि, त्यसैगरी चन्द्रमाको गुरुत्वाकर्षणले समुद्रको पानी पनि छचल्किएर चन्द्रमातर्फ नै ताकेर उफ्रिन्छ । त्यसै गरी हाम्रो शरीरमा रहेको तातो रगत पनि अष्टमी र पूर्णिमामा छचल्किन्छ र मानिस उत्तेजित हुन्छ ।’

डेनमार्कमा रहेको मूर्तिको टाढाबाट लिइएको तस्बीर

डेनमार्कमा रहेको मूर्तिको टाढाबाट लिइएको तस्बीर

हामीलाई पनि जनै पूर्णिमाको रातमा नै भ्रमणको चाँजो अचानक परेको थियो । साँच्चै नै ओस्लोबाट कोपेनहेगन जाँदा जहाज बारम्बार हल्लिने गरेको थियो । मलाई लागेको थियो, पक्कै नै पूर्णिमाको रात भएकाले ज्वारको मारमा हल्लिएको हो ।

नभन्दै जहाजको झ्यालबाट टाढाटाढा देखिन्थ्यो, जुरो उठेर पानी हामीतिरै आएको जस्तो लाग्थ्यो र एकछिनपछि हल्लिन थाल्थ्यो । जुनेली रात थियो, समुद्रको परपरबाट उठ्ने ज्वार त देखिन्थ्यो तर फर्केको छाल भने देखिँदैनथ्यो । अनुमान गर्नुपथ्र्यो- जहाज हल्लिन छोडेपछि ज्वार फर्केको होला । त्यस्तो डर मर्नु खालको छाल त बुझिएन तर भोलिपल्ट फर्कंदा भने हल्लिएको अनुभव गरिएन किनभने भोलिपल्ट त प्रतिपदा लागिसकेको थियो, त्यसैले होला कि ! 

जब पुगियो कोपेनहेगन, मोटरबोट टुरमा वा सानो फेरीमा जब हामी समुद्रको बाटोमै कोपेनहेगनको अवलोकन गर्न थाल्यौँ, त्यहाँ हाम्रो पथप्रदर्शकले भन्यो, ‘तपाईंहरूले विश्वप्रसिद्ध द लिटिल मर्मेडको कथा त सुन्नु नै भएको होला, त्यसैको कल्पित मूर्ति देखिँदै छ ।’

ओस्लोको लेबर पार्टीको भुइँ तल्लामा रहेको प्रतिमूर्ति र नेटबाट डाउनलोड गरेको प्रतिमूर्ति तल छ । पहिले कुनै मोडेलको शरीरको भाग हेरेर बनाएको मूर्तिलाई पछि नाङ्गो तस्बीर बनाउन उनले नमानेपछि आफ्नै पत्नीको नाङ्गो शरीर हेरेर एरिक्सनले बनाएको भनिन्छ । माथि महिला र तल माछाको आकार भएकाले मत्स्यकन्या भने पनि हुने भयो, स्वर्गकी अप्सरा पृथ्वीमा आएर प्रेमीको खोजी गरेको भने पनि भयो र पछि उनी पानीको फिँज भएर बिलाउँछिन् भन्ने पनि रहेछ । कथा न हो, कल्पनाको कथा तर यसबारेमा कति धेरै फिल्म बनेका रहेछन्, ब्याले तयार भएका रहेछन् र अझै कति बन्लान् । 

डेनमार्कका महान् आख्यानकार, खासगरी कल्पनामा अप्सराका कुरा, तत्कालीन समाजका कुरीतिलाई बालकथा र काल्पनिक तर अत्यन्त लोभलाग्दो भाषामा आख्यानको रूपमा सन् १८३६ मा लेखेका थिए र यस्तै धेरै कृतिहरू तयार गरेर संसारमा अमर रहने ह्यान्स क्रिश्चियन एन्डरसनको धेरै भागमा तयार भएको द लिटिल मर्मेडलाई मूर्तिकार एरिक्सन एडवार्डले मूर्तिको रूपमा सिर्जना गरेका रहेछन् । 

भएको के रहेछ भने, काल्र्सबर्ग बियरमा उत्पादक कार्ल ज्याकोब्सन एउटा ब्याले हेर्न गएका बेलामा उनले मर्मेडका बारेमा नृत्य हेरेछन् । उनी त्यसबाट यति प्रभावित भएछन् कि उनले मूर्तिकार एरिक्सनलाई कथाले मागेजस्तै एउटा मूर्ति तयार गर्नका लागि अनुरोध गरेछन् । यो घटना सन् १९०९ मा भएको थियो भने उनले पनि ४ वर्षसम्मको अथक परिश्रमपछि एन्डर्सनको कल्पनामा बनेको कथा र ब्यालेको सम्मिश्रणका रूपमा एउटी मत्स्यकन्याको रूपमा सन् १९१३ मा जलपरी तयार गरे ।

त्यही जलपरी दुखित हुँदै समुद्रको किनारामा एक्लै बसेको मूर्तिको कल्पना गरे । मानिसहरू भन्छन् कि त्यो एरिक्सनको मूर्ति त बाहिर छैन तर त्यसको प्रतिरूप डेनमार्कको त्यो समुद्रको किनारमा छँदै छ । मैले टाढाबाट मोटरबोटमा रहँदा खिचेको फोटोमा मानिसहरू उनलाई अवलोकन गरिरहेका छन् । नेटबाट निकालेको मूर्तिमा जलपरी दुखित देखिन्छिन् । मैले नर्वेको लेबर पार्टीको तल्लो तलामा पनि त्यस्तै प्रतिमूर्ति देखेको थिएँ ।

हामी चढेको जहाजको प्रतिमूर्ति जहाजको आठौँ तल्लामा छ, जहाँ जानकारीका लागि डेस्क पनि राखिएको छ 

हाम्रो पथप्रदर्शकले भनेबमोजिम संसारमा धेरै फोटो खिचिएको मूर्तिमा यो पनि पर्छ र करोडौँ मानिसहरूले अवलोकन गरेको ठाउँमा पनि त्यो मूर्ति राखेको समुद्रको छेउ पर्छ । सुनेअनुसार त्यो मूर्ति संसारमा धेरै देशहरूमा प्रदर्शनीका लागि लगिन्छ । चीनले त्यसलाई जति मूल्य परे पनि किन्ने प्रस्ताव गरेको थियो रे !  

नर्वेमा देखेको त्यो प्रतिमूर्तिका बारेमा मैले जिज्ञासावस सोध्दा खासै जबाफ पाइनँ । जब मोटरबोटको पथप्रदर्शकले भने अनि मैले खोधखोज गरेँ । त्यससम्बन्धी जानकारी लिन थालेँ । नर्वेको त्यो जलपरीको प्रतिरूप भएको ठाउँमा एउटी कडा योग गर्दै गरेकी महिलाको मूर्ति पनि राखेको रहेछ । युरोपमा पनि योगको महत्त्व बढेको तथा स्वास्थ्य र शरीरको ताजगीका लागि योगको महत्त्वलाई दर्शाउने त्यो मूर्ति पनि देखेको थिएँ । 

जहाजमा त पसलहरू पनि थिए, रेस्टुराँहरू पनि थिए । पसलहरूमा  डेनमार्कको मार्क, नर्वेको क्रोनर, युरोपको युरो र अमेरिकी डलरले मात्र सामानको भुक्तानी हुनेरहेछ । अझ विद्युतीय भुक्तानी मात्र हुने रहेछ । हामी जस्ता विदेशीहरू, जसको नाममा बैंकमा खाता हुँदैन र डेबिट वा क्रेडिट कार्ड छैन, त्यसका लागि पासपोर्ट हेरेर डलर, क्रोनर, मार्क या युरोमा भुक्तानी हुने रहेछ । 

सामान सामान्यतया महँगा नै थिए । रेस्टुराँमा खान जाँदाको एउटा घटना सम्झन्छु । पहिले रत्नपार्कमा गएर रिमझिममा बसेर समोसा खाँदाको कथा सम्झेँ किनभने अरूले चम्चाले खाँदा आफूले पनि चम्चाले खान खोज्दा झन्डै समोसा अर्काको भागमा परेको थियो । तत्कालै हातले समाएर खाएको सम्झेको थिएँ । त्यहाँ पनि त्यस्तै भयो । 

म र ज्वाइँ साहेब शाकाहारी पिज्जा खानका लागि गयौँ । मैले पिज्जा मनपराएँ तर उहाँले अरू नै केही माग्नुभयो । एउटा नाङ्लोभरीको पिज्जा ल्यायो किनभने त्यहाँ आधा त दिने रहेनछ तर प्याकिङ् भने गर्ने रहेछ । मैले सुरु गरिहालेँ तर मलाई त्यो पिज्जा सिध्याउन हम्मेहम्मे परेको थियो । त्यसको पनि कारण थियो- धेरै त थियो नै तर मैले काँटा, चम्चा र छुरीले काटेर खान सकिरहेको थिइनँ । त्यही बेलामा वेटरले मलाई सहयोग गर्न सक्छु कि भन्दै काँटा र छुरी चलाउन सिकाउन आएको थियो तर मेरो अहंले मानेन । खान त खाएँ तर करिब आधा घण्टाभन्दा बढी समय लाग्यो ।

जहाजमा राखिएको बजार

आएको तातो कफी पनि झन्डै सेलाएको । बरु ज्वाइँ साहेबले बिस्तारै भन्नुभएको थियो, ‘म सहयोग गरूँ पिज्जाको टुक्रा बनाउन ? या धेरै हुने भए पोको पारेर लान पाइन्छ, लैजाऊँ कि ?’

मैले बीपी कोइरालाको उपन्यासमा पनि सामान पोको पारेर कोठामा ल्याउन पाइने कुरा पढेको थिएँ जहाजको रेस्टुराँबाट । त्यो पनि सम्झेको थिएँ । तर, पसिनै पसिना भएर खाई चैँ सिध्याएँ, यद्यपि, खाइसक्न मुस्किल त परेकै हो ।


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।