‘साउथ चाइना सी’मा बेलायतः चीनलाई उत्तेजित पार्दै युद्धमा धकेल्ने प्रयास

‘साउथ चाइना सी’मा बेलायतः चीनलाई उत्तेजित पार्दै युद्धमा धकेल्ने प्रयास

एजेन्सी  |  विदेश  |  श्रावण १७, २०७८

विमानबाहक युद्धपोत ‘एचएमएस क्विन एलिजाबेथ’सहित बेलायती नौसेनाको ‘क्यारियर स्ट्राइक ग्रुप’ विवादास्पद ‘साउथ चाइना सी’ क्षेत्रमा प्रवेश गरेपछि चीनले कुनै गलत हर्कत नगर्न चेतावनी दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को मुखपत्र ‘ग्लोबल टाइम्स’ले भनेको छ, ‘चीनको जनमुक्ति सेना कुनै पनि लडाइँका लागि तयार छ । चीनले ‘साउथ चाइना सी’बाट पूर्वी दिशातिर प्रवेश गरेको क्यारियर स्ट्राइक ग्रुपमाथि कडा नजर राखिरहेको जनाएको छ । चीनले बेलायत अझै औपनिवेशिक धङधङीबाट चलिरहेको आरोप लगाएको छ ।’

बेलायती नौसेना ‘द रोयल नेभी’ सिंगापुरको नौसेनासँग युद्ध अभ्यासमा सामेल भएको छ । ‘साउथ चाइना सी’को ठूलो हिस्सामा चीनले आफ्नो दाबी पेस गर्दै आएको छ, जसका कारण चीन र बेलायत यतिबेला सैन्य अभ्यासलाई लिएर तनावमा उत्रिएका छन् । 

‘साउथ चाइना सी’माथि चीनको दाबी 

सन् २०१६ मा अन्तर्राष्ट्रिय अदालतले ‘साउथ चाइना सी’माथि चीनको मात्र दाबी नहुने फैसला गरेको थियो । चीनले यो क्षेत्र आफ्नो भएको भन्दै त्यसको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पछि नपर्ने बताइसकेको छ । चीनले यस क्षेत्रमा कृत्रिम टापु, सडक र अन्य भौतिक संरचना निर्माण गरिरहेको छ । यसरी निर्माण गरिएका टापुहरूमध्ये केही त यस क्षेत्रका अन्य देशको सामुद्रिक सीमाभन्दा धेरै नजिक रहेका छन् । 

यस क्षेत्रमा चीनसँग टकरावका लागि आइरहेका अमेरिका र बेलायतले पछिल्ला दिनमा आफ्ना युद्धपोत जानीजानी यस क्षेत्रमा प्रवेश गराएर चीनको सम्प्रभुताको दाबीमा चुनौती दिइरहेका छन्, जसका कारण यस क्षेत्रमा एकाएक तनाव बढेको छ । यस घटनाले ब्ल्याक सीको घटना दोहोरिने शंकासमेत गरिएको छ । 

गत जुनमा बेलायती विध्वंसक युद्धपोत ‘एचएमएस डिफेन्डर’ विवादास्पद क्रिमियाली प्रायद्विप नजिकबाट गएपछि रुसी लडाकु विमानले रोकिदिएका थिए । बेलायती थिङ्कट्याङ्क रोयल युनाइटेड सर्भिसेस इन्ष्टिच्युट (रुसी)का वरिष्ठ रिसर्च फेलो बिर्ले नाउवेन्स भन्छिन्, ‘चीन अमेरिकाको एक प्रमुख सहयोगीसँग साउथ चाइना सीमा टकराब चाहँदैन तर उसले आफ्नो चाहनालाई जरुर स्पष्ट पार्नेछ ।’

‘फ्रिडम अफ नेभिगेसन’

बेलायती रक्षामन्त्री बेन वैलेसले साउथ चाइना सीको मार्गमा तथाकथित ‘फ्रिडम अफ नेभिगेसन’ (नौपरिवहनको स्वतन्त्रता)को कुरा उठाएका छन् । यद्यपि, चीनले यस क्षेत्रमा बेलायतको यो दाबीलाई मान्दैन । सन् २०१८ मा ‘एचएमएस एल्बियोन’ यस क्षेत्रबाट अघि बढ्दा भएको घटना दोहोरिन सक्ने बिर्ले बताउँछिन् । 

त्यस समयमा एक चिनियाँ युद्धपोतले २०० मिटरको दुरी बनाएर बेलायती युद्धपोतको पिछा गरेको थियो । चीनले साउथ चाइना सी छाड्न चेतावनी दिँदै लडाकु विमानले एचएमएस एल्बियोनमाथि धेरै नजिकबाट उडान भरेका थिए । यसै साता चीनले यस क्षेत्रमा सैन्य अभ्यास गरेको थियो, जसमा जल र स्थल दुवै स्थानमा हमलाको अभ्यास गरेको थियो । यही अभ्यासलाई लिएर कतिपयले चीनले ताइवानमाथि कब्जाको तयारी गरेको हुन सक्ने आशंका गरेका छन् । यसका कारण पनि यस क्षेत्रमा बेलायत र अमेरिका निकै चनाखो भएर आफ्नो उपस्थिति देखाइरहेका छन् । 

‘ग्लोबल टाइम्स’ले लेखेको छ, ‘पिपुल्स लिबरेसन आर्मीको नौसेना साउथ चाइना सीमा बेलायतको क्यारियर स्ट्राइक ग्रुपको उपस्थितिलाई अभ्यास र बेलायतको नयाँ युद्धपोतलाई नजिकबाट नियाल्ने अवसरका रूपमा प्रयोग गर्नेछ ।’

नौसैनिक टकराव

‘ग्लोबल टाइम्स’ले लण्डनस्थित चिनियाँ दूतावासका प्रवक्ताको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘फ्रिडम अफ नेभिगेसनलाई खतरा केवल तिनै मानिसहरूबाट छ, जो आधा दुनियाँको दूरीबाट साउथ चाइना सीमा क्यारियर स्ट्राइक ग्रुपको तैनाथी गर्छन् र नौसैनिक शक्ति देखाएर यस क्षेत्रमा सैनिक तनाव बढाउँछन् ।’ 

क्यारियर स्ट्राइक ग्रुप आएपछि चीनले सुरुवाती प्रक्रिया दिएको छ तर रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट (रुसी)का रिसर्च फेलो सिद्धार्थ कौशल नौसैनिक टकरावको कुरा आउँदा चीन युद्धको सम्भावित अवस्था र कारबाहीबाट उत्पन्न हुन सक्ने परिणामप्रति निकै चनाखो हुने गरेको बताउँछन् । ‘एचएमएस क्विन एलिजाबेथ’ र यसका साथमा पूर्वी एसियामा पठाइएका युद्धक विमान परिचालनलाई वैश्विक सुरक्षा मञ्चमा महत्त्वपूर्ण भूमिका निभाउने बेलायतको कोसिसका रूपमा हेरिएको छ । सुरक्षा चासोबारे हालै बेलायती सरकारका तर्फबाट जारी गरिएको दस्तावेज ‘इन्टिग्रेटेड रिभ्यु’मा उल्लेख गरिएको छ । 

फ्रान्सको ध्यान

अर्कोतर्फ फ्रान्स पनि अन्य युरोपेली देश जस्तै आफ्नो ध्यान साउथ चाइना सीको विवादमा केन्द्रित गरिरहेको छ । फ्रान्स पछिल्लो समयमा चीनका बढ्दो सैन्य र आर्थिक शक्तिलाई रोक्न कठिन रहेको निष्कर्षमा पुगेको छ । चीनले हालै परमाणु हतियारयुक्त ब्यालिस्टिक मिसाइलको भण्डारलाई ‘अपग्रेड’ गरेको थियो । चीनले सिनजियाङमा परमाणु मिसाइल परीक्षणका लागि नयाँ लन्च प्याड निर्माण गरिरहेको छ । 

चीनले हाइपरसोनिक ग्लाइड ह्विकल्प र मिसाइलको निर्माण गरिरहेको छ, जसले ध्वनिको गतिभन्दा ८ गुणा तीब्र रूपमा मार हान्न सक्नेछ । यी हतियारलाई क्यारियर किलर (युद्धपोत विनासक)को नाम दिइएको छ । 

त्यसैले चीनको बढ्दो आर्थिक, सैन्य र सामरिक शक्तिलाई रोक्न पछिल्ला दिनमा चीनको सम्प्रभुतामाथि हस्तक्षेप गर्दै उसलाई युद्ध र अस्थिरतातिर धकेल्ने रणनीतिअनुसार पश्चिमा शक्ति राष्ट्र पूर्वी एसियामा केन्द्रित हुँदै गएका छन् ।

(एजेन्सीको सहयोगमा)