सुनलाई पनि फलाम बनाइदिने पारस ! ककसलाई चाहिएको छ राजतन्त्र ?

सुनलाई पनि फलाम बनाइदिने पारस ! ककसलाई चाहिएको छ राजतन्त्र ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  श्रावण १७, २०७८

विश्वका अनेकन संस्कृतिमा एउटा यस्तो पदार्थको डल्लोको कल्पना गरिएको पाइन्छ, जसको सम्पर्कमा आउनासाथ फलाम सुनमा परिवर्तित हुन्छ । यस विषयक अनेकन कथाहरू प्रचलनमा छन् । कथाहरूमा यस्तो ढुंगालाई ‘पारस’ भनी वर्णन गरिएको पाइन्छ ।  

विज्ञानले पारस ढुंगाको दन्त्यकथामा विश्वास नगरे पनि सुनबाट फलाम बन्ने कुरामा सैद्धान्तिक रूपले असहमति राख्दैन ।

विज्ञानसँग ‘बिगबैङ्ग थ्योरी’कै समान अर्को थ्योरी छ- म्याटर र एन्टी म्याटर थ्योरी । जब म्याटर बन्यो, सँगसँगै एन्टी म्याटर पनि बन्यो । अब विज्ञानलाई छाडी गलफत्ती गर्न मन लाग्यो ।  

लोककथाका अनुसार यदि कुनै यस्तो ढुंगो छ, जसको सम्पर्कमा आउनासाथ फलाम सुनमा परिवर्तित हुन्छ भने यस्तो कुनै एन्टी पारस पनि अवश्य हुनुपर्छ, जसको सम्पर्कमा आउनासाथ सुन फलाम बन्न पुग्छ होला !

लोककथाको पारसदेखि एन्टी पारससम्म

लोककथाको पारस त कहिल्यै भेटिएन तर खोजी नभएको भने होइन । शिवपुरी बाबाकै जीवनको अन्त्यतिरको प्रसंग प्रचलित छ । आफ्ना सेवकको पारिवारिक विपन्नतालाई समाधान गरिदिन उहाँले एउटा फलामको कुर्सीलाई अल्केमीद्वारा सुनको बनाउने चेष्टा गर्नुभयो तर सफल हुनुभएन । 

यो त्यस परिवारको भाग्यमा थिएन अथवा शिवपुरी बाबाले पूर्वमा आर्जित ऊर्जा स्खलित भएर कुर्सी सुनको बन्न सकेन, त्यो रहस्यकै गर्भमा छ । पारस विषयक चर्चा जति गरे पनि चर्चा कथाको पानाबाट यथार्थको धरातलसम्म आइपुग्दैन । तसर्थ, पारसको प्रसंग विसर्जन गरेर एन्टी पारस विषयक शोकगीत श्रवण गरौँ ।

२०४६ सालको परिवर्तनपछि देशमा एन्टी पारसहरूको युग नै पुष्पित र पल्लवित भएर आयो । हेर्नुहोस् त यी पात्रहरू (जीवित मात्र)  शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, केपी ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई आदिआदि । यी सबैको छाया पर्नासाथ, यी सबैको सम्पर्कमा आउनासाथ सुवर्णमयी देश धुलोपिठो भएन र ?

यी अभिसप्त एन्टी पारसहरू यस मुलुककै दुर्भाग्य हुन्, यिनले छुनासाथ सुन मात्र होइन, फलाम पनि खरानी हुन्छ । यी त्यस खरानीको पनि सौदा गरेर मुलुकलाई कंगाल बनाउन क्षणभर विलम्ब गर्दैनन् ।

अहिले यस्तै एउटा एन्टी पारसको चर्चा चुलिएको छ । यो चर्चाभन्दा पहिला चर्चा गरौँ वर्तमानको । देशमा केही समयदेखि  धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र वर्तमानको संविधानविरुद्ध  माहोल बन्दै गइरहेको छ । सामान्य वर्गदेखि  प्रबुद्ध वर्ग हुँदै राजनीतिक वृत्तबाट यिनको पुनर्मूल्यांकनका साथै खारेजी विषयक आसय व्यक्त हुन थालेका छन् । 

अझ कति राम्रो हुन्थ्यो, पारसका अभिभावकले उनलाई प्रहरी चौकीमा लिएर गई सम्बन्धित प्रहरीसँग क्षमायाचना गर्दै उसको कर्तव्यपरायणताका लागि स्याब्बासी दिँदै हेलमेट नलाएको कसूरबापत हुन आउने जरिमाना तिरी त्यसको रसिदको फोटोकपी सामाजिक संजाललगायत विभिन्न संचार माध्यमबाट  देशभर पुर्‍याए !

भनौँ, पूर्वराजा ज्ञानेन्द्रको चारैतिर छाएको निष्पट्ट कालिमामा हल्का ‘सिल्भर लाइनिङ’ देखा पर्न थालेको छ । यस्तोमा उहाँका सुपुत्र पारसको गतिविधिले सबै गरे, गराएकोमाथि, अलिअलि प्रज्वलित यज्ञअग्निमाथि मूत्र बिसर्जन गरी निभाउने कार्य भएको छ ।

मलाई घनघोर आश्चर्य त पूर्वराजाका समर्थकगण, दरबारिया र नवमण्डलेहरूको तर्क सुन्दा भयो- ‘कुनै राजनीतिक दलको कार्यक्रममा  तिनका कार्यकर्ताले पनि हेलमेट लाएका थिएनन् ?’ रे ! के यसले पारसलाई हेलमेट नलगाई मोटरसाइकल चलाउने अनुमति प्राप्त हुन्छ ? उनले मापसे गरेका थिए वा थिएनन्, यस विषयमा स्पष्ट केही भन्न सकिँदैन तर प्रसारित भिडियोमा उनले ड्युटीमा रहेका प्रहरीसँग वादविवाद गरेको स्पष्ट छ । 

एउटा अतिसम्मानित परिवारको सदस्यले आफूबाट भएको गल्तीलाई स्वीकार गर्नुको सट्टा उल्टै सडकमा हुल हुज्जत गर्नु निन्दनीय घटना हो । र, यस घटनाको बचाउमा अनर्गल तर्क अघि सारेर पारसको ‘फेस सेभिङ’ गर्नु सामान्य गल्ती मात्र होइन, अक्षम्य अपराध हो । 

बर्खामा च्याउसरी उम्रेका युट्युबर र यसमार्फत बिष वमन गर्ने स्वनामधन्य पात्रहरूले न आफ्नै गरिमा राखेका छन, न यिनीहरूले राज परम्पराको गरिमा बाँकी राख्छन्, यिनले नेपालको राजतन्त्र एवं राजपरम्परालाई माछा बजारको अपशिष्ट बनाइरहेका छन् ।

लेखक निश्चय पनि राजतन्त्रको समर्थक वा पक्षधर होइन, तर यसको अर्थ लेखक राजतन्त्रको विरोधी हो भन्ने पनि होइन । देशमा व्याप्त कुरीति, कुसंगति, बेथितिको एउटा विकल्प राजतन्त्रको पुनर्वहाली हुन सक्छ, यस बिन्दुमा लेखक सधैँ सकारात्मक छ तर यसको अर्थ यो होइन कि उसले आँखा चिम्लेर यस पक्षका विगत अथवा वर्तमानमा हुने सबै क्रियाकलापलाई अनुमोदन गर्छ । राजा र राजतन्त्र सच्चिएर आयो भने स्वागत गर्न पनि बन्देज छैन र यसबाट देश समाजप्रति कुनै नकारात्मक खाले गतिविधि हुन्छन् भने तिनको निन्दा र भत्र्सना गर्न पनि किंचित विलम्ब गर्दैन ।

देशमा यदि कोही साँच्चै नै राजतन्त्रको पक्षधर अथवा समर्थक हुनुहुन्छ भने स्वीकार गर्नुहोस् कि पारसले गल्ती गरेका हुन् ।  उनलाई विभिन्न बहाना र तर्क अघि सारेर जोगाउने कार्य गर्नुको सट्टा आत्मलोचना गर्न प्रेरित गर्नुहोस् । कति राम्रो हुन्थ्यो यदि पारसले सम्बन्धित प्रहरी चौकीमा गएर आफ्नो गल्ती स्वीकार गरी आफूबाट भएको कसूरको जरिमाना तिरिदिए वा माफी मागे ! 

अझ कति राम्रो हुन्थ्यो, पारसका अभिभावकले उनलाई प्रहरी चौकीमा लिएर गई सम्बन्धित प्रहरीसँग क्षमायाचना गर्दै उसको कर्तव्यपरायणताका लागि स्याब्बासी दिँदै हेलमेट नलाएको कसूरबापत हुन आउने जरिमाना तिरी त्यसको रसिदको फोटोकपी सामाजिक संजाललगायत विभिन्न संचार माध्यमबाट  देशभर पुर्‍याए !

यो एउटै कार्यले राजतन्त्रको ग्राफ अनन्तगामी हुन पुग्छ ।  

पारसबाट भएको गल्ती सामान्य हो । हुन सक्छ, उनले हेलमेट लगाउन भुलेका हुन् । हेलमेट लगाउन भुल्नु जघन्य अपराधको कोटिमा पर्दैन, यसका लागि कानुनमा स्पष्ट दण्ड जरिमानाको विधान छ । 

पारसले ‘अन द स्पोट’ ‘मैले हेलमेट लगाउन बिर्सेको रहेछु’ भनी ड्युटीमा रहेका प्रहरीसँग कुनै हुल हुज्जत नगरी जरिमाना तिरी मोटरसाइकल फुटपाथमा कतै पार्क गरी फर्केको भए अथवा मोटरसाइकल पार्क गरी हेलमेट मगाएर मोटरसाइकल लगेको भए आज उनको कति सम्मान हुन्थ्यो ! तर, पारसले ड्युटीमा रहेका प्रहरीसँग वादविवाद गर्नुले स्पष्ट हुन्छ, उनले हेलमेट लाउन भुलेका होइनन्, जानीजानी हेलमेट नलगाएका हुन् । 

उनले कहिल्यै पनि आफूलाई यस देशको जिम्मेवार नागरिक नै ठानेनन् । उनका विगतका र अचेलसम्मका अनेकन गतिविधिले नेपालको राजतन्त्रको मान र मर्यादा भंग गर्ने गरेको विषय कसैले पनि लुकाइदिन जरुरी छैन । विगतमा दरबारका आसेपासेले  बेलामौकामा उनका यस्ता उच्छृंखल गतिविधिबारे टीका टिप्पणी गरेको भए सायद उनी लाइनमा आउँथे कि ! वर्तमानमा पनि दरबार र राजतन्त्रका तथाकथित शुभचिन्तकबाट उनका गतिविधिबारे सामान्य आलोचनाको सट्टा जयजयकार हुनु दरबार र राजतन्त्रका लागि दुर्भाग्य हो । समग्र मुलुककै लागि एउटा   विकल्पमा ग्रहण लाग्नु जस्तै हो । यसको विश्लेषण-विवेचन पनि दरबार र यसका आसेपासेले नै गर्नुपर्ने हुन्छ ।

एउटा सामान्य नेपाली नागरिकले गरेको भए यो घटना सामान्य हुन्थ्यो तर मुलुककै एउटा विशिष्ट परिवारसँग ताल्लुक राख्ने व्यक्तिबाट भएको यो घटना किमार्थ पनि सामान्य घटना हुन सक्दैन । आज यदि तथाकथित गणतन्त्र अथवा केके जातिको लोकतन्त्रमा यस घटनाको निक्योँल हुन सक्दैन भने, गल्ती गर्नेबाट आत्मलोचना हुने वातावरण सिर्जना हुँदैन भने, एक पटक सपनामा भए पनि देशमा राजतन्त्र फर्केको कल्पना गरी हेरौँ त  ! अनि छातीमा हात राखेर भनौँ- कसकसलाई देशमा राजतन्त्रको बहाली चाहिएको छ ?

बाँकी देशको कल्याण गर्ने पशुपतिनाथ छँदै छन् ।