टेलिकमका कर्मचारीको आन्दोलन १२औँ दिनमा

टेलिकमका कर्मचारीको आन्दोलन १२औँ दिनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७८

कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासको माग गर्दै नेपाल टेलिकमका कर्मचारीले विगत १२ दिनदेखि भद्रकालीस्थित केन्द्रीय कार्यालयको मूल ढोका अगाडि धर्ना दिँदै आएका छन् ।

साविकको कर्मचारी विनियमावली, २०६१ मा रहेको तह १० मा ८ वर्ष र तह ११ मा ५ वर्षको सेवा अवधि पूरा भएपछि स्वतः अवकास हुने (क्यापिङ)सम्बन्धी व्यवस्था यथावत् राख्नुपर्नेलगायत ३२ सूत्रीय माग प्रस्तुत गर्दै कर्मचारी यही ५ साउनदेखि धर्ना दिँदै आएका हुन् । 

नेपाल दूरसंचार राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल टेलिकम युनियन कर्मचारी युनियनको अगुवाइमा सुरु गरिएको धर्नामा सहभागीले टेलिकम संचालक समितिको ६ साउन २०७० को निणयानुसार प्रत्येक ३-३ वर्षमा नेपाल राष्ट्र बैंकको प्राइज इन्डेक्सबमोजिम समायोजन हुनुपर्ने महँगी भत्ता समायोज गरी लागू गर्न पनि अनुरोध गरेका छन् । 

नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले कम्पनीको संस्थागत सुधार, कर्मचारीको वृत्तिविकास र ट्रेड युनियनको अधिकारबारे व्यवस्थापन तथा सम्बन्धित निकायसँग पटक पटक आग्रह गर्दासमेत सम्बोधन नभएपछि कर्मचारीले संघर्षका कार्यक्रम गर्नुपरेको जानकारी दिए । उनले वार्ताका लागि मात्र भन्दा पनि अर्थपूर्ण वार्ताका लागि सम्बन्धित निकायसँग आग्रह गरे ।