नसुल्झिएको एमाले लफडा: एकताको रटान र ओली-नेपाल शंकाको जुहारी

नसुल्झिएको एमाले लफडा: एकताको रटान र ओली-नेपाल शंकाको जुहारी

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  श्रावण १८, २०७८

आन्तरिक विवादमा रुमल्लिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र २ जना नेताका आफ्नै टकरावले पार्टी र संगठन ध्वस्त हुन थालेको छ । एमाले-माओवादी एकीकरण र त्यसपछि बनेको नेकपामा अलगअलग समीकरणले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको टकराव बढ्दै जाँदा एमालेको पार्टी र संगठन ध्वस्त हुन थालेको हो । 

‘उहाँहरूको व्यक्तिगत टकरावका कारण संगठन बिस्तार र निर्माण दुवै हुन सकेको छैन, संगठन नभएपछि पार्टी नै ध्वस्त हुने अवस्थामा पुगको छ’, एमालेका एक स्थायी कमिटी सदस्यले भने ।

सर्वोच्च अदालतले २३ फागुन २०७७ मा एमाले र माओवादी अलग बनाउँदा नेकपा हुँदैको असरले एमाले गम्भीर संकटमा परेको छ । पछिल्लो पटक केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाएर पार्टी एकता गर्ने प्रस्ताव अघि सारे पनि त्यो संभावना कमजोर बन्दै गएको छ । नेपाल पक्षका नेतासमेत दोस्रो अध्यक्षमा लिएर जानुपर्नेमा सहमत हुँदै गर्दा नेपालले त्यसलाई अस्वीकार गरेर सचिवालय निर्माण वा झलनाथ खनाललाई दोस्रो अध्यक्षको रूपमा प्रस्ताव गरे ।

पार्टी एकताकै पक्षमा रहने बताउँदै आएका वरिष्ठ नेता नेपालले ओलीको त्यो प्रस्ताव अस्वीकार गर्नुमा धेरै कारण रहेको एमाले नेताहरू बताउँछन् । अहिलेको अवस्थामा ओलीको प्रस्ताव स्वीकार गरेर गए पनि ओलीले नै संगठनमा पकड जमाउने र आफू निकटलाई पेलेर भित्तामा पुर्‍याउनेछन् भन्ने भय नेपाललाई छ । यसबाट ओलीप्रति नेपाल विश्वस्त हुन सकेका छैनन् ।

अहिले ओलीको प्रस्तावमा मात्र होइन, एउटा शब्दमा पनि विश्वास गर्ने अवस्थामा नपुगेपछि पछिल्लो पटक पार्टी एकताका जति रटान गरे पनि संवाद हुन नसक्नु यही कारण रहेको हो । ‘ओलीको प्रस्तावप्रति विश्वास गर्ने आधार छैन, उनले पदलोलुप देखाउन खोजिरहेका छन्’ भन्ने नेपालको बुझाइ छ । 

‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । मचाहिँ जान्नँ । तर, प्रशासनिक र राजनीतिक अधिकारसहितको अध्यक्ष भएर जानुस् । साँचो अर्थमा ओली ‘पावर सेयरिङ’का लागि तयार हुन सक्दैनन् । मलाई पटक्कै विश्वास छैन’, नेपालले आफू निकटका नेतासँग भनेका छन् ।

नेपालको बुझाइमा ओली राजनीतिक तिकडममा माहिर छन् । स्वार्थ पूरा गर्न ओली जस्तोसुकै सम्झौता गर्न तयार हुन्छन् । तर, स्वार्थ पूरा गरेपछि वास्तै नगर्ने ओलीको पुरानै बानी हो । ४ दशक लामो संगतमा नेपालले ओलीबारे बुझेको यो नै हो । र, दोस्रो अध्यक्षका लागि ओलीको प्रस्ताव पनि ओलीले तत्कालीन स्वार्थ पूरा गर्न अघि सारेका हुन् भन्ने उनको बुझाइ छ । 

अहिले पार्टी एकताको विषय चलिरहेको भए पनि नेपालले ५ दलीय गठबन्धन छाडेका छैनन् । परिस्थिति मिले छिट्टै सरकारमा सहभागी हुनुपर्छ भन्ने दबाबमा छन् नेपाल । पहिलो चरणमा नेपाल समूहलाई त्यस समूहबाट अलग्याउने ओलीको प्रयास अहिलेको चतुर्‍याइँ हुन सक्ने नेपालको बुझाइ छ । गठबन्धनबाट अलग्याएर ल्याउन सके पार्टीमा ल्याएर ठेगान लगाउने ओलीको योजना रहेको नेपपालको खेमाको विश्लेषण छ । 

एक साताभर नेपाल खेमाले आफू  निकटका नेता, कार्यकर्ताहरूसँग गरेको छलफलबाट के स्पष्ट हुन्छ भने ओलीले देखाएको लोभमा नेपाल त्यति चाँडै लोभिनेवाला छैनन् ।

स्थायी कमिटी सदस्यहरूको बैठकमा नेपालले आफूहरू लोभिन नहुने भन्दै बजेट फेल गराएर सरकार असफल बनाउने दिशामा ओली लागेका छन् भनेका थिए । ‘५ दलीय गठबन्धनबाट हामीलाई अलग्याएर यो सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाउने, बजेट असफल बनाएर देउवालाई चुनावमा जान बाध्य बनाउने, चुनावमा जाने भएपछि हामीलाई एमालेभित्र टिकट बाँडफाँटको क्रममा बिचल्ली पारिदिने, यही होइन केपीले चाहेको ?’, उनले भनेका थिए ।

नेपालको आशंका वा सम्भावनाका आधारमा भन्दा पनि उनले विगत सम्झेर त्यसो भनेका थिए । ओली शक्तिमा आएपछि नेपाल खेमाले खेप्दै आएको सबैभन्दा ठूलो पीडा नै ‘पावर सेयरिङ’ हो । ओली पार्टी र सरकारमा रहँदासम्म नेपाल खेमाले साँच्चिकै पीडाबोध गरेको थियो । 

वर्तमान संसदमा नेपाल समूहका सांसद कम हुनुको कारण नेपाल खेमाका नेता कमजोर भएर नभई टिकट नदिएर हो भन्ने विश्लेषण गर्दै आएका छन् । प्रदेश र स्थानीय सरकारमा समेत अवस्था यस्तै छ । एमाले हुँदा मात्र होइन, नेकपा माओवादीसँगको एकतापछि प्रचण्डलाई साथमा लिएर ओलीले नेपाल खेमालाई प्रतिबन्ध नै लगाएका थिए ।

त्यतिबेला ओलीले टिकट बाँडफाँटमा मात्र होइन, राजनीतिक नियुक्तिदेखि संवैधानिक निकायमा समेत नेपाल खेमाका एक जनालाई पनि नियुक्ति दिएनन् । त्यसैले ‘पावर सेयरिङ’बारे ओलीको प्रस्ताव नेपालले अस्वीकार गरेका हुन् । 

नेपाल खेमाले लामो समयदेखि पार्टीमा उठाउँदै आएको प्रश्न हो- विधि र पद्धति । अध्यक्ष ओलीले पार्टीको विधानविपरीत गतिविधि गरेको भन्दै माओवादीसँग एकता नहुँदैदेखि माधव खेमाले विरोध गर्दै आएको थियो । ओलीले दोस्रो अध्यक्ष प्रस्ताव गर्दा पनि नेपालले पार्टी विधानकै कुरा उठाएका छन् । ओलीले अध्यक्ष प्रस्ताव गरेपछि नेपालले ‘हाम्रो पार्टीको विधानले २ अध्यक्षको व्यवस्था गरेको छैन’ भनेका थिए । 

नेपालको बुझाइमा मात्र होइन, विधानतः ओलीको प्रस्ताव अवैधानिक हो । ‘विधानविपरीत हुने कुनै पनि विषयमा सहमत हुन सकिँदैन’ भन्दै आएका छन् नेपाल । ‘पार्टी एक भएर विधान संशोधन गरे बेग्लै कुरा हो नत्र अवैधानिक गतिविधिका लागि तयार हुन सक्दिनँ’ भन्दै आएका छन् उनी ।

यतिबेला माधव नेपाल अब निर्णायक मोडमा पुगेका छन् । उनले सोमबारको बैठकमा ‘एक हप्ता’ भनेका थिए । त्यो एक हप्ता पूरा भइसकेको छ । ‘पावर सेयरिङ’मा बराबरको अवस्था बन्यो भने एक हुने सम्भावना हुन्छ । त्योभन्दा अरू विकल्प छैन । त्यसका लागि ओलीलाई ‘एक हप्ताको समय’ भनेका थिए । तर, ओलीले एक हप्ताअघि शुक्रबारकै अल्टिमेटम दिए । यद्यपि, अहिलेसम्म कुनै संभावना देखिएको छैन ।

पछिल्लो समय माधवले पार्टीका सबै निर्णय प्रक्रियामा आफ्नो हस्ताक्षर अनिवार्य हुनुपर्ने शर्त अघि सारेका छन् । त्यो बिन्दुबाट एकताका लागि पहल गर्न सकिन्छ भन्ने उनको धारणा हो तर ओली त्यसका लागि तयार देखिएनन् ।

बारम्बार माधवबाहेक मात्र एकता गर्ने भन्दै आएका छन् ओली । त्यसैले माधव अब यसरी नै अलमल गरेर नबस्ने मुडमा पुगेका छन् । बुधबार आफ्नो खेमाका २२ जना सांसदले समेत ‘यसरी अलमलमा नबसौँ’ भनेपछि माधव ‘बोल्ड डिसिजन’को अवस्थामा पुगेका भए पनि तत्कालै सरकारमा नजाने अवस्थामा पुगेका छन् ।

पार्टी एकीकरणको अभियानमा रहेका माधव नेपाल दोधारमा रहेका छन् । पार्टी अध्यक्ष ओलीले बराबरी अधिकारसहितको दोस्रो अध्यक्ष प्रस्ताव गरिरहेको तथा शेरबहादुर देउवा नेतृत्वको सत्ताधारी गठबन्धनले मन्त्रीसहित पर्खिरहेका कारण मात्र होइन, आफ्नै खेमामा विभाजन आउँदा पनि अप्ठ्यारोमा परेका हुन् । 

सत्ताधारी गठबन्धनले अझै पनि केही समय पर्खने अवस्था रहेपछि आफ्नै सांसदहरूले सरकारमा जानुपर्ने बताउँदै आएका छन् । तर, एमाले विवाद समाधान समितिको कार्यदलमा रहेका नेताहरूले पार्टी एकतालाई जोगाउन कसरत गरिरहेका छन् । ‘माधव नेपाल निकै अप्ठ्यारो अवस्थामा हुनहुन्छ, पार्टी एकता कायम राख्ने कि सांसदहरूले भनेअनुसार सरकारमा जाने, सरकारमा जाँदा पार्टी विभाजन हुने तथा पार्टी विभाजन नभई सरकारमा जान नसकिने भएकाले पनि उहाँ अप्ठ्यारोमा पर्नुभएको हो’, उनी निकट स्रोतले भन्यो ।

आफ्नै खेमाभित्रका दायाँ-बायाँ हात भनिएकै नेताहरूले धोका दिए पनि एक्लै भए पनि चट्टानी अडानमा रहेका नेपाललाई आफ्नै खेमा विभाजित हुँदा अप्ठ्यारोमा परेको उनी निकट नेताको दाबी छ । सरकारमा जान आफ्नै सांसद र सत्ता गठबन्धनको दलहरूको दबाब छ । पार्टी विवाद कायमै रहेका कारण कार्यदलमा रहेका प्रभावशाली नेताहरूको पनि उनलाई उत्तिकै दबाब रहेको हो । 

नेपालसहितको एमालेकै २२ जना सांसदको साथ अहिलेको कांग्रेस नेतृत्वको सरकारलाई दिइएको थियो । सत्ताको सहयात्री दल कांग्रेस र माओवादी दुवैले नेपाल खेमालाई सरकारमा आउन बारम्बार आग्रह गरिरहेका छन् । नेपाल खेमाका २२ जना सांसदहरूमध्येको अधिकाशंको जोड पनि सरकारमा जानुपर्छ भन्ने रहेको छ । तर, नेपाल त्यसरी सरकारमा जाँदा ओलीले कारबाही गरिहाल्छन् र सांसदको पद खाइदिन्छन् भन्ने त्रास रहेका कारण तत्काल सरकारमा जान अप्ठ्यारो पर्दा तत्कालै सरकारमा नजाने तर नियुक्तिमा भने अधिकतम लाभ लिने उनको उद्देश्य रहेको छ ।

पार्टीभित्र एकता प्रक्रिया चलिरहेको र अझै ओलीका लागि एकतामा नेतृत्वसम्बन्धी ३ बँुदे विकल्प अगाडि सारेका नेपाल नयाँ पार्टी गठनकै प्रक्रियामा छन् । तर पनि उनको ३ बुँदे विकल्पमा कतै एमालेभित्रै सहमति बन्छ भने किन हतारिने भन्नेमा पनि नेपाल छन् ।

कांग्रेस र माओवादी केन्द्रले सरकारमा आउने वा नआउने टुंगो गर्न नेपाललाई मंगलबारसम्मको अल्टिमेटम दिएका छन् । बिहीबार प्रधानमन्त्रीसँग भेट गरेर बिहान पौने १० बजे नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवा र आफू दुवैको तर्फबाट नेपाललाई सरकारमा आउने, नआउनेबारे निर्क्योल गर्न आग्रह गरेका थिए ।

उता, नेपाल खेमाकै केन्द्रीय सदस्य तथा सांसद झपट रावलले केपी ओली सत्ताबाट हटेपछि केही सांसदले मन्त्री बन्ने अवसर छोप्न मुसा प्रवृत्ति देखाएको आरोप लगाउँदै नेपालसँग रहेका सांसदहरूले सरकारमा जान गरेको हतारोलाई व्यंग्य गरेका छन् । रावलसहित एमालेका १० जना सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला पार्टी एकता जोगाउन भन्दै मतदानमा भाग लिएका थिएनन् । 

केपी ओली पक्षमा रहेका प्रेम आले, किसान श्रेष्ठ, हीराचन्द्र केसी, धनबहादुर बुढासहित ८ जना सांसदले माधव नेपालसँगै देउवालाई विश्वासको मत दिएपछि उनीहरूले सरकारमा जानुपर्ने भन्दै नेपाललाई दबाब दिएका थिए ।