डा. बिन्दु शर्माको ‘समकालीन नेपाली कवितामा समावेशीकरण’नामक पुस्तक बजारमा

डा. बिन्दु शर्माको ‘समकालीन नेपाली कवितामा समावेशीकरण’नामक पुस्तक बजारमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  श्रावण १९, २०७८

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘समकालीन नेपाली कवितामा समावेशीकरण’ नामक पुस्तक प्रकाशित प्रतिष्ठानले जनाएकाे छ । पुस्तक साहित्य (पद्य/ काव्य) विभागको अनुसन्धान परियोजना अन्तर्गत डा. बिन्दु शर्माले उक्त पुस्तक तयार पार्नु भएको प्रतिष्ठानले जानकारी गराएकाे हो ।

प्रतिष्ठानका अनुसार  जम्मा चार परिच्छेदमा लेखकले विषय–विचारलाई पुस्तकमा प्रस्तुत गर्नुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान  विभागीय प्रमुख प्रा.डा. हेमनाथ पौडेलले दिनु भएकाे जानकारी अनुसार समावेशीकरण लोकतन्त्रको महत्त्वपूर्ण पक्षलाई पुस्तकमा समेटिएको छ । यसै लोकतन्त्रको महत्त्वपूर्ण पक्षलाई आत्मसात गरी तयार पारिएको यस पुस्तकको पहिलो परिच्छेदमा समावेशीकरणको सैद्धान्तिक आधार र पृष्ठभूमि, दोस्रो परिच्छेदमा समकालीन नेपाली कवितामा राजनीतिक, आर्थिक र प्रादेशिक समावेशीकरण, तेस्रो परिच्छेदमा समकालीन नेपाली कवितामा सामाजिक र सांस्कृतिक समावेशीकरण र चौथो परिच्छेदमा तिनको समग्र निष्कर्ष  दिइएकाे समेत पौडेलले जानकारी  दिनुु भएकाे  छ । 

पुस्तक लेखक डा. शर्माले लेखकीय भूमिकामा भन्नु भएको छ- 'समकालीन नेपाली कवितामा सामाजिक, राजनीतिक, जातीय, आर्थिक, लैङ्गिक, क्षेत्रीय आदि मुद्दाहरू सशक्त रूपमा उठिरहेका छन् ।यसते अवस्थामा राज्यका विभिन्न अङ्गहरूबाट तिनलाई समुचित सम्बोधन गराउन पनि काव्यिक समावेशीकरणको भूमिका र योगदान महत्त्वपूर्ण रहन्छ ।'  १७२ पृष्ठमा समेटिएकाे पुस्तकको मूल्य २२० रुपियाँ  रहेको छ ।