राष्ट्रिय कविता महोत्सवकी प्रथम कविता राई गृहगाउँमै  सम्मानित

राष्ट्रिय कविता महोत्सवकी प्रथम  कविता राई गृहगाउँमै  सम्मानित

लोकसंवाद संवाददाता  |  साहित्य  |  श्रावण १९, २०७८

भोजपुर । राष्ट्रिय कविता महोत्सवमा ‘देशको नक्सा’ शीर्षकको कवितामार्फत् प्रथम हुन सफल कवि कविता राई गृहगाउँमै  सम्मानित हुनुभएको समाचार  छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २०७८ असार ९ गते आयोजित राष्ट्रिय कविता महोत्सवमा  कविता राई  प्रथम हुनभएको हाे 

राज्यकै सर्वोच्च प्राज्ञिक संस्थाद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम भई वडा, पालिका र समग्र जिल्लाकै गौरव बढाएबापत टेम्केमैयु गाउँपालिका स्थित वडा नं. ९ कार्यालयले कवि राईलाई २०७८ साउन १८  सोमबार एक समारोह आयोजना गरी सम्मान गरेको हो ।

कार्यक्रममा वडाध्यक्ष गणेशकुमार राईले कवि राईलाई फूलमाला, अविर टीका, दोसल्ला र सम्मान पत्र अर्पण गरी सम्मानित गर्नुभएको थियो भने साे अवसरमा वडा सदस्यहरू इन्दिरा राई घिमिरे, जितेन्द्र तिम्सिना, शिवराज दंगाल, दिलकुमारी दर्जी लगायतले कवि राईलाई खादा ओढाई सम्मान प्रकट गर्नुभएको समाचारमा उल्लेख छ । 

यसैगरी उक्त अवसरमा वडाका कर्मचारीहरू राजु पराजुली, ईश्वर दंगाल, सुवास लुईटेल लगायतले कवि राईलाई खादा ओढाएर बधाई तथा सम्मान व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कवि राईका आफन्तजन तथा वडाबासीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कविता राई यसअघि विभिन्न सङ्घसंस्थाबाट सम्मानित भइसक्नुभएको छ ।