दार्चुला घटनाबारे सदनमा यसो भने गृहमन्त्री खाणले

दार्चुला घटनाबारे सदनमा यसो भने गृहमन्त्री खाणले

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १९, २०७८

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा नेपाली नागरिक प्रेमसिंह धामी बेपत्ता भएको घटनामाथिको छानबिनले तीब्रता पाएको सरकारले बताएको छ ।

संसदमा सांसदहरूले घटनाबारे जानकारी गराउन माग गरेपछि गृहमन्त्री बालकृष्ण खाणले सरकारले गठन गरेको छानबिन समितिले स्थानीय प्रहरीसँगको समन्वयमा प्रत्यक्षदर्शीसँग बयान लिइरहेको बताएका छन् ।

महाकाली नदीमा बेपत्ता धामीभन्दा पहिले तुइन तरेर भारत पुगेका बहादुरसिंह धामी, अमरसिंह धामी र मणिराम धामीसँग छानबिन समितिले सोधपुछ गरिरहेको मन्त्री खाणले बताए । धामीसँगै तुइन तर्न मालघाट पुगेका अनिता धामी र कल्याणसिंह धामीसँग पनि सोधपुछ भइरहेको उनले जानकारी दिए ।

महाकाली नदीमा पुल नबन्दा तुइन तर्नुपर्ने बाध्यतालाई सरकारले छिट्टै अन्त्य गर्न पुल निर्माणलाई पूर्णता दिने उनले बताए । सीमावर्ती क्षेत्रबाट दार्चुलाको सदरमुकाम खलंगालाई सडक संजालसँग जोड्ने कामलाई सरकारले प्राथामिकता दिने उनको भनाइ छ ।