मेलम्चीको भौगर्भिक अध्ययनका लागि टोली खटाइयो

मेलम्चीको भौगर्भिक अध्ययनका लागि टोली खटाइयो

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १९, २०७८

मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ । पछिल्लो समय मुलुकभर परेको अविरल वर्षासँगै मेलम्ची क्षेत्रमा सुख्खा पहिरो जाने, लेदो बग्ने खतरा बढेपछि सरकारले उक्त क्षेत्रको भौगर्भिक अध्ययनका लागि टोली खटाएको हो । 

पहिलो चरणको प्रारम्भिक अध्ययन गरेर फर्केको उक्त टोली बिस्तृत अध्ययनका लागि भोलि मेलम्ची जाने कार्यक्रम रहेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३ जना तथा खानी तथा भूगर्भ विभागबाट २ जनाको भूगर्भविद्को टोली खटाइएको जानकारी दिए  । 

खानी तथा भूगर्भ विभागले सिनियर डिभिजनल जियोलोजिस्टको नेतृत्वमा टोली खटाएको महानिर्देशक घिमिरेले बताए । उक्त टोलीले मेलम्ची क्षेत्रको भौगर्भिक अवस्थाका बारेमा बिस्तृत अध्ययन तथा अनुसन्धान गर्नेछ । 

गत १ असारमा परेको अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको पानीले मेलम्ची बजारमा ठूलो जनधनको क्षति पुगेको थियो । साउन दोस्रो हप्तामा समेत मेलम्चीमा ठूलो बाढी आएको थियो ।