२२ साउनदेखि भेरोसेलको दोस्रो डोज

२२ साउनदेखि भेरोसेलको दोस्रो डोज

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण २०, २०७८

सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने अभियान २२ साउनदेखि देशैभर संचालन गर्ने भएको छ ।

२९ असारदेखि ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ ।

स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार २२ साउनदेखि दोस्रो डोज लगाउने अभियान सुरु हुने भएकाले सोहीअनुसार अभियान संचालन गर्न मन्त्रालयले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरेको छ ।

हालसम्म खोप लगाउन बाँकी रहेका व्यक्तिहरूले स्वास्थ्य मन्त्रालयको वेबसाइटमा गएर अनिवार्य आफ्नो विवरण इन्ट्री गर्नुपर्नेछ । सोको आधारमा मात्र लक्षित समूहभित्रका व्यक्तिलाई खोप दिने व्यवस्था गर्न मन्त्रालयले भनेको छ ।

विदेश जाने नेपाली नागरिकलाई क्यूआर कोडसहितको कोरोना खोप लगाएको विद्युतीय प्रमाणपत्र उपलब्ध गराउने काम कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट २० साउनदेखि सुरु गरिएको छ ।