ठाकुर खेमालाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

ठाकुर खेमालाई  अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २०, २०७८

आधिकारिकता विवादमा सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुर खेमाको निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आयोगले अध्यक्ष उपेन्द्र यादव समूहलाई पार्टीको आधिकारिकता दिएपछि नेता ठाकुर खेमा अदालत पुगेको थियो । 

नेता ठाकुरले दायर गरेको रिटमा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । निर्वाचन आयोगले ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव खेमालाई दिएको थियो । यससँगै ठाकुर १५ साउनमा सर्वोच्च गएका थिए । रिटमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको छ ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जना अध्यक्ष यादव पक्षमा उभिएपछि आयोगले आधिकारिकता दिएको थियो । नेता ठाकुर खेमामा १६ जना मात्र उभिएका थिए ।