'मुख्यमन्त्री पोखरेल निवासमा ३ दिन बन्धक बनाए'

'मुख्यमन्त्री पोखरेल निवासमा ३ दिन बन्धक बनाए'

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २१, २०७८

लुम्बिनी प्रदेशसभा सांसद विमला वली खत्रीले आफूलाई जबर्जस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पुर्‍याएर एमाले बन्न दबाब दिइएको बताएकी छन् ।

बिहीबार पत्रकार सम्मेलन गरी उनले नेपालगंज जाने भनेर गाडी चढेको तर आफूलाई बुटवलस्थित मुख्यमन्त्री पोखरेलको निवासमा पुर्‍याइएको बताएकी हुन् । एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर रावतले तुलसीपुरस्थित घरबाट गाडी चढाएर बुटवल पुर्‍याएको उनको भनाइ छ । 

मुख्यमन्त्री निवासमा पुर्‍याएर आफूलाई एमालेमा फर्किन दबाब दिएको उनको भनाइ छ । 

'म बिरामी छु, उपचारका लागि नेपालगंज जानु छ भन्दा उहाँहरूले आफूहरू पनि नेपालगंज जाने हो, सँगै जाऔँ पुर्‍याइदिन्छौँ भन्नुभयो । जिम्मेवार नेताले भनेपछि विश्वास गरेर गाडीमा बसेँ । गाडी नेपालगंज जानुपर्नेमा एक्कासि अमेलियातिर मोडियो । मैले प्रतिवाद गरेँ', वलीले भनेकी छन्, 'एक पटक मुख्यमन्त्रीज्यूलाई भेट्नुपर्‍यो भनेर गाडी नरोकी बुटवल मुख्यमन्त्री निवासमा पुर्‍याइयो ।'

सांसद वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएको दाबी गरेकी छन् । उनले आफूलाई १५ साउनदेखि २० साउनसम्म मुख्यमन्त्रीको निवासमा राखेको र 'एमालेमा फर्किएँ' भनेर जबर्जस्ती हस्ताक्षर गराएर १९ साउनको विज्ञप्ति जारी गराएको बताएकी हुन् ।

मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भएको र अब त्यस्तो नहुने भन्दै एमालेमा आउन र मन्त्री बन्नु प्रलोभन देखाएको वलीको भनाइ छ । आफूले निरन्तर इन्कार गरिरहे पनि ३ दिनसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिइएको उनको आरोप छ ।

आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसँगै राखेको उनले बताएकी छन् ।

उनले आफू माओवादी केन्द्रमै रहेको र माओवादी केन्द्रमै रहने पनि बताइन् ।

हेर्नुहोस् विज्ञप्ति :