‘सभापतिमा मेरो उम्मेदवारी चर्चा र चन्दाका लागि होइन, कुनै दबाब र प्रभावमा पर्दिनँ’

‘सभापतिमा मेरो उम्मेदवारी चर्चा र चन्दाका लागि होइन, कुनै दबाब र प्रभावमा पर्दिनँ’

आशिष पौडेल  |  लोकसंवाद  |  श्रावण २१, २०७८

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्योलमा फसेको छ । आगामी २३ भदौभित्र सम्पन्न गरिसक्नुपर्ने महाधिवेशन गत १२ साउनदेखि सुरु हुनुपर्नेमा क्रियाशील विवाददेखि कोभिडको कहरसम्मको कारण देखाउँदै धकेलिएको छ । संवैधानिक प्रावधानअनुसार पनि कांग्रेसले २३ भदौभित्र महाधिवेशन सम्पन्न गर्नै पर्ने बाध्यता छ । यस्तो बेलामा महाधिवेशन कसरी सम्पन्न हुन सक्छ ? अनि नयाँ नेतृत्वमा युवाको सहभागिता केकस्तो हुन सक्छ ? भन्ने विषयमा केन्द्रित रहेर सभापतिका आकांक्षीसमेत रहेका युवानेता कल्याणकुमार गुरुङसँग लोकसंवादका आशिष पौडेलले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।

क्रियाशील सदस्यताको विवाद, कोभिड अनि बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिको कारण देखाउँदै कांग्रेसको १४औँ महाधिवेशन संवैधानिक सीमाभित्र सम्पन्न हुनेमा आशंका देखिन्छ, कसरी समयमै सम्पन्न होला ?

नेपालको संविधानको धारा २६९ को उपधारा (४) (ख)ले आगामी २३ भदौभन्दा पर अधिवेशन धकेल्ने अर्काे कुनै पनि विकल्प दिएको छैन । त्यस कारण पनि २३ भदौसम्म नेपाली कांग्रेसको १४औँ महाधिवेशन कुनै पनि हालतमा गर्नै पर्छ । कोभिड, प्राकृतिक विपत्ति वा अरू कुनै पनि बहानामा महाधिवेशन रोक्न पाइँदैन । र, संविधानले दिएको समय सीमासम्म महाधिवेशन गर्नै पर्छ । 

तर, महाधिवेशन गराउनुपर्ने कांग्रेसको संस्थापन पक्ष भने यो वा त्यो बहानामा महाधिवेशन गर्ने भन्दा पनि सार्ने तयारीमा रहेको देखिन्छ त ? 

१४औँ महाधिवेशनमा मात्र नभएर १३औँ महाधिवेशनमा पनि क्रियाशील सदस्यतासम्बन्धी विवाद थिए । र, हरेक महाधिवेशनको संघारमा यस्ता विवाद देखिने गरेका छन् । त्यस कारण पनि कुनै पनि महाधिवेशनको पूर्वसन्ध्यामा यस्ता विवादहरू लिएर आउने नै होइन । 

यदि महाधिवेशनभन्दा २ वर्षअघि नै क्रियाशील सदस्यतासम्बन्धी सबै काम टुंग्याउने अर्थात् क्रियाशील सदस्यहरू तथा नयाँ क्रियाशील सदस्यहरूको पनि अन्तिम नामावलीको काम टुंग्याउने हो भने त्यसले महाधिवेशनलाई असर गर्दैन । 

अहिले पनि क्रियाशील सदस्यलाई लिएर विवाद भएको ठाउँमा पनि हामीले पुरानै क्रियाशील सदस्यलाई लिएर महाधिवेशन गर्न सक्छौँ । त्यसरी अधिवेशन गर्दा २३ भदौभित्रको कार्यतालिका प्रभावित हुँदैन । 

अहिले पनि २९ साउनमा वडाको अधिवेशन, १ भदौमा पालिकाको अधिवेशन, ३ भदौमा प्रदेशस्तरीय क्षेत्रीय समितिको अधिवेशन, ५ भदौमा प्रतिनिधिसभा क्षेत्रस्तरीय क्षेत्रीय कार्यसमितिको अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने । ७ भदौमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन अनि १२ भदौमा ७ प्रदेशको प्रदेश अधिवेशन गरियो भने १६ भदौमै आरामका साथ केन्द्रीय महाधिवेशन गर्न सक्छौँ । 

त्यस कारण १६ भदौमै केन्द्रीय महाधिवेशन गर्नका लागि अहिले पनि हामीसँग पर्याप्त समय छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले वैधानिक रूपले टुंगो लगाएका नवीकरण भएका क्रियाशील सदस्य र नयाँ क्रियाशील सदस्यहरूको नामावली केन्द्रीय सभापतिले केन्द्रीय निर्वाचन समितिलाई सुम्पिने तथा केन्द्रीय निर्वाचन समितिले निर्वाचनको कार्यतालिका प्रकाशन गरेर केन्द्रीय प्रतिनिधिहरू खटाएर ६ हजार ७४३ वडामा नै वडा महाधिवेशन गर्ने । ७५३ पालिकाहरूमा पालिकाको अधिवेशन गर्ने, ३३० प्रदेशसभास्तरीय क्षेत्रीय समितिमा क्षेत्रीय अधिवेशन गर्ने । 

१६५ प्रतिनिधिसभा क्षेत्रको क्षेत्रीय अधिवेशन गर्ने, ७७ जिल्लाको जिल्ला अधिवेशन गर्ने, ७ वटा प्रदेशको प्रदेश कार्यसमितिको अधिवेशन गर्ने र १६ भदौमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका प्रकाशन गर्‍यौँ भने अहिले पनि हामी आरामले महाधिवेशन गर्न सक्छौँ । हतार नगरीकन हामीलाई महाधिवेशन गर्ने पर्याप्त समय छ । 

यो कल्याण गुरुङको भनाइ भयो, पार्टी नेतृत्व समक्ष यो योजना पुगेको छ कि छैन ? उनीहरूले यसलाई स्वीकार गरेका छन् कि छैनन् ? अर्थात् नेतृत्व यसका लागि तयार छ कि छैन भन्ने कुरो प्रमुख हो नि !  

उहाँहरू पनि यसका लागि तयार हुनै पर्छ किनकि हामी सबै बसेर नै १६ भदौको कार्यतालिका प्रकाशन गरिएको हो । पार्टीको १४औँ महाधिवेशन १६ भदौमा गर्ने भन्ने केन्द्रीय कार्यसमितिको निर्णय हो । र, केन्द्रीय कार्यसमितिभन्दा बाहिर गएर निर्णय गर्ने अधिकार कसैलाई पनि छैन । 

हिजोका दिनमा केही युवा पुस्ताले चर्चाका लागि र चन्दाको लागि चर्को कुरा गर्ने गरे । जब उनीहरूले अवसर प्राप्त गरे, उनीहरू दुलोभित्र लुके । कल्याण गुरुङ चर्चाका लागि र चन्दाका लागि चर्को कुरा गर्दैन । कल्याण गुरुङ मुद्दाका लागि बोल्छ, मुद्दामा उभिन्छ र त्यो मुद्दाका लागि संघर्ष गर्छ । दुलोभित्र लुक्दैन ।

त्यस कारण पार्टीको केन्द्रीय कार्यसमितिको परिधिभित्र रहेर नै हामीले अन्य कार्यतालिका परिमार्जन गर्न सक्छौँ । तर, १६ भदौको कार्यतालिका हामीले परिमार्जन गर्न सक्दैनौँ । संवैधानिक बाध्यता अनि केन्द्रीय कार्यसमितिको परिधिभित्र रहेर कार्य गर्नुपर्ने हुँदा हामीले १६ भदौको कार्यतालिकामा महाधिवेशन गर्नै पर्छ । 

महाधिवेशनमा सबै असल व्यक्तिले प्रतिस्पर्धा गर्न पाउनुपर्छ । असल व्यक्तिको प्रतिस्पर्धाबाट नै महाधिवेशनले असल नेतृत्व चयन गर्ने हो । प्रतिस्पर्धा गर्ने वैधानिक थलो भनेको महाधिवेशन नै हो । 

त्यस कारण पनि महाधिवेशन १६ भदौमा हुनुपर्छ, गर्नुपर्छ । कसैले चाहेर अथवा कुनै पनि बहानामा महाधिवेशन रोक्नुहुँदैन । महाधिवेशन रोकिएको खण्डमा नेपाली कांग्रेसका लाखौँ कार्यकर्ता तथा शुभचिन्तकमा त्यसले नराम्रो छाप छाड्नेछ । 

हामीले महाधिवेशनको कुरा गर्दा ८ लाख क्रियाशील सदस्यको मात्र नभएर लाखौँ लाख शुभेच्छुक तथा शुभचिन्तकको चाहनालाई पनि बुझ्नुपर्छ । उहाँहरू सबैको चाहना भनेको १६ भदौमा महाधिवेशन हुनुपर्छ भन्ने नै हो । 

तपाईंहरूको कपाल तथा दाह्री कालो हुँदादेखि भनिआएको युवा नेतृत्व कपाल र दाह्री फुलिसक्दासम्म पनि देख्न पाइएन, कहिले आउँछ त नेपाली कांग्रेसमा युवा नेतृत्व ?   

अहिले नेपाली कांग्रेसको क्रियाशील सदस्य हेर्ने हो भने ६० वर्षभन्दा माथिका सदस्य २० प्रतिशत र ६० वर्षसम्मका क्रियाशील सदस्य करिब ८० प्रतिशत हुनुहुन्छ । 

आजसम्म सभापतिको उम्मेदवारको कुरा गर्दा ६० वर्षभन्दा माथिकाबाट ९-१० जना तथा ६० वर्षसम्म बाट कल्याणकुमार गुरुङ एक जना मात्र छ । 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कल्याणकुमार गुरुङ केन्द्रीय सभापति पदको दाबेदार हो । उम्मेदवारी दिन्छ, प्रतिस्पर्धा गर्छ र सबैले मतदान गरेका खण्डमा निर्वाचन पनि जित्छ । 

युवा नेतृत्वका लागि तपाईंले आफूलाई सभापति पदको उम्मेदवार बताइरहँदा अन्य युवाले तपाईंलाई सहयोग गर्ने आधार के ?

६० वर्षभन्दा माथिका उमेर समूहमा पनि १० जनाभन्दा बढी उम्मेदवार छन् । तर, अहिले त ६० वर्षभन्दा कम उमेर समूहबाट भने म एक्लो सभापति पदको उम्मेदवार हुँ । 

म के चाहन्छु भने, युवाबाट म एक्लैले सभापतिको उम्मेदवार बताइरहँदा अन्य युवा साथीले पनि उम्मेदवारी दिऊन् । अन्य युवा साथीले पनि सभापतिसहित प्यानल बनाएर चुनाव लडून् । म मेरो समूहमा प्यानलसहित सभापतिको चुनाव लड्दै छु । 

देशभर तथा विदेशको जनसम्पर्क समितिबाट आउने महाधिवेशन प्रतिनिधिहरूले यस पटकको नेपाली कांग्रेसको अधिवेशनमा परिवर्तनको पक्षमा, न्यायको पक्षमा र समानताको पक्षमा आवाज उठ्नुपर्छ साथै नेपाली कांग्रेसभित्र प्राप्त हुने अवसरको समान र न्यायोचित वितरणको हुनुपर्छ भनेर त्यसको पक्षमा आवाज उठ्नुपर्छ ।

मैले यस पटक नेपाली कांग्रेसमा परिवर्तनको पक्षमा, समानताको पक्षमा, न्यायको पक्षमा आवाज उठाएको छु साथै कांग्रेसभित्र प्राप्त हुने अवसरको समान र न्यायोचित वितरणको हुनुपर्छ भनेर त्यसको पक्षमा आवाज उठाएको छु । त्यस कारण यो मेरो आवाज नभएर देशभरिका महाधिवेशन प्रतिनिधिको आवाज हो । विश्वभरिबाट आउने जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरूको आवाज हो । 

यो आवाज महाधिवेशन प्रतिनिधिको मात्र आवाज नभएर ८ लाख क्रियाशील सदस्यको आवाज हो, नेपाली कांग्रेसलाई माया गर्ने लाखौँ लाख शुभचिन्तक र शुभेच्छुकहरूको आवाज हो । त्यो आवाजको प्रतिनिधित्व गरेर मैले केन्द्रीय कार्यसमितिको सभापति पदमा उम्मेदवारी घोषणा गरेको छु । उहाँहरूले मतदान गरेर जिताउनेमा पनि आशावादी छु । 

यति भनिरहँदा तपाईंको उम्मेदवारी शेरबहादुर देउवालाई सभापति जिताउन सजिलोका लागि भन्ने चर्चा पो छ त !

आजसम्म युवाहरू कसैले पनि सभापतिमा उम्मेदवारी दिने आँट गरेनन् । म त अहिले पनि भन्छु, मैले आँट गरेको छु, मसहित अरू साथीहरूले पनि आँट गरून् । यो मेरो एक्लो आँट होइन, यसका पछाडि नेपाली कांग्रेसका लाखौँ लाख नेता, कार्यकर्ताको मनोभाव जोडिएको छ । नेपाली कांग्रेसलाई माया गर्ने लाखौँ लाख शुभेच्छुक तथा शुभचिन्तकको मनोविज्ञान जोडिएको छ । त्यो मनोविज्ञान र मनोभावको आधारमा म उभिएको छु । उहाँहरूको प्रतिनिधित्व गरेर मैले उम्मेदवारी दिने निर्णय लिएको छु । 

महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यलाई अन्तिमसम्म तपाईंको उम्मेदवारी रहन्छ भनेर विश्वास दिलाउने ३ वटा आधार केके हुन् ?

पहिलो कुरा, मेरो उम्मेदवारी बार्गेनिङका लागि होइन । कसैले कुनै पनि पदमा आफ्नालागि, आफ्नाहरूका लागि अनि आफ्ना नातेदारहरूको राजनीतिक भविष्य सुरक्षित र सुनिश्चित गर्नका लागि कसैले पनि उम्मेदवारी दिनुहुँदैन । 

जसले जुन पदका लागि उम्मेदवारी दिने हो, त्यसमा कायम रहनुपर्‍यो । भन्नलाई सभापतिको उम्मेदवार भन्ने अनि बिस्तारै उपसभापति हुँदै अन्तिममा सदस्यमा उठ्ने गर्नुभएन । 

अब नेपाली कांग्रेस परम्परागत ढंगले चल्न सक्दैन र नेपाली कांग्रेसमा अब क्रमभंगता आवश्यक छ । यसका लागि पनि सभापतिमा मैले उम्मेदवारी दिनेछु ।

सभापति पदको उम्मेदवारीको कुरा गरिरहँदा यदि पराजित भएका खण्डमा केन्द्रीय कार्यसमितिमा पनि परिँदैन भन्ने हेक्का छ कि छैन ? 

मेरो उम्मेदवारी भनेको नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकको प्रतिनिधित्व गरेर दिने हो । म हिजो पनि धुलो, माटो, हिलो खेलेर सडकबाट आएको हुँ र आज पनि सडकमै छु । भोलि सडकमै रहेँ भने पनि मलाई खासै फरक पर्दैन । मैले आजसम्म कुनै लाभको पद लिएको छैन र भोलि पनि प्राप्त हुँदैन भने त्यसको दुखेसो नै रहँदैन । 

पहिलो त अधिवेशन नै नगर्नका लागि विधानका छिद्र खोज्ने र गर्न परिहाले पनि सभापतिका उम्मेदवारका नाममा केन्द्रीय सदस्य सुनिश्चित गर्ने प्रवृत्ति छ नि कांग्रेसभित्र ?

कसैले पनि आफ्नो पद जोगाउनका लागि मात्रै उम्मेदवारीको घोषणा गर्नुहुँदैन । संगठनभन्दा ठूलो पद हुँदैन । हाल पद पाएर कार्यकर्ताको विश्वास गुमाइयो भने त्यसको केही अर्थ रहँदैन । पद नभए पनि आम नेता तथा कार्यकर्ताको विश्वास भएका खण्डमा त्यो पदभन्दा धेरै महत्त्वपूर्ण कुरा हो । त्यस कारण म धुलो, माटो खेलेर, रगत, पसिना बगाएर आएको मानिस हुँ । कसैले क्रेनले टिपेर माथि ल्याएको होइन । त्यसैले पदमा हुँदा वा नहुँदाको अवस्थामा पनि म धुलो, माटोमा नै पसिना बगाउँछु । 

आफूलाई केन्द्रीय सभापतिको उम्मेदवार घोषणा गरिरहँदा माथिल्लो पदमा आफ्नो उम्मेदवारी घोषणा गरेर अन्य लाभको पद सुरक्षा गर्ने सन्दर्भ अरू नेतामा पाउनुभएको छ कि छैन ?

यो प्रवृत्ति नेपाली कांग्रेसमा मात्र नभएर अन्य राजनीतिक दलमा पनि हावी छ । कसैलाई व्यक्तिगत रूपमा भन्दा पनि यो सबै राजनीतिक दलमा हावी भएको प्रवृत्ति हो । दाबी सांसदको गर्ने अनि उम्मेदवार वडा अध्यक्षको बन्ने चरित्र छ राजनीतिमा । 

तर, आजसम्म मैले जुन पदमा उम्मेदवारी घोषणा गरेको छु, त्यसभन्दा तल गएर उम्मेदवारी दिएको छैन । 

म तपाईंको संचार माध्यमबाट आमजनमानसलाई के जानकारी गराउन चाहन्छु भने, नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सभापति पदको दाबेदार हुँ म, केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन्छु र चुनाव लड्छु अनि सबै महाधिवेशन प्रतिनिधिले मत दिएका खण्डमा विजयी पनि हुन्छु । 

तपाईंले केन्द्रीय सभापति पदको उम्मेदवार घोषणा गरिरहँदा सोही पदका अन्य प्रत्यासीले खतरा महसुस गरेर तपाईंलाई महासमिति सदस्य वा महाधिवेशन प्रतिनिधिमा नै रोक्ने प्रयत्नलाई कसरी चिर्नुहुन्छ ?

त्यो खतरा सधैँ रहिरहन्छ । मैले उम्मेदवारी घोषणा गरिरहँदा सोही पदका आकांक्षी अन्य प्रतिस्पर्धीलाई चित्त दुख्नु स्वाभाविक हो । त्यसका लागि मेरो उम्मेदवारी रोक्ने हरेक उपाय तथा तिकडम हुन सक्छ । हिजो पनि मविरुद्धका षड्यन्त्रलाई पराजित गरेर आएका नाताले भोलि आउने सबै किसिमका तिकडम र षड्यन्त्रलाइ चिरेर म सभापति पदको उम्मेदवारी दिनेछु । 

तपाईंको जीतको आँकलनका ३ वटा आधार के हुन् ? 

पहिलो त, यस पटक ५० प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ आउँदै हुनुहुन्छ, जसले १३औँ महाधिवेशनमा भाग नै लिनुभएको थिएन । अर्को भनेको ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरू ६० वर्षभन्दा कम उमेरका हुनुहुन्छ । 

तेस्रो भनेको सबैले पार्टीमा परिवर्तन हुनुपर्छ भनेर चाहिरहनुभएको छ । चौथो सबैले परिवर्तनका लागि, न्यायका लागि अनि समानताका लागि कोही बोलोस् भनेर चाहिरहनुभएको छ । 

उहाँहरूको भावनाको प्रतिनिधित्व गरेर कसैले उम्मेदवारी देओस् भन्ने चाहिरहनुभएको छ । उहाँहरूको मनोभावनाको प्रतिनिधित्व गरेर मैले उम्मेदवारी दिनेछु । त्यस कारण उहाँहरूले मतदान गरेर विजयी बनाउनेमा म ढुक्क छु । 

पौडेल खेमा वा अन्य विरोधी खेमाका युवाको भोट तान्नका लागि मात्र शेरबहादुर देउवाले तपाईंको उम्मेदवारी अगाडि बढाएको भन्ने सुनिन्छ नि ?

बोकेको कुकुरले मृगको सिकार गर्दैन भन्ने उखान मैले सुनेको छु । त्यस कारण कुनै बोकेको कुकुरले मृगको सिकार गर्दैन भन्नेमा ढुक्क हुनुहोस् । 

कल्याण कुमार गुरुङ निष्ठावान कार्यकर्ता हो, संघर्षशील कार्यकर्ता हो, कसैले बोकेर आएको होइन । नेपाली कांग्रेसका निमित्त रगत, पसिना बगाएर आजसम्म संघर्ष गरेर यो ठाउँमा आएको कार्यकर्ता हो । त्यस कारण उसले नेपाली कांग्रेसमा भोलि नेतृत्व लिने क्षमता राख्छ । सभापति हुने क्षमता राख्छ । त्यो आत्मबल र स्वाभिमान पनि छ ममा । 

उम्मेद्वारी दिने दिन सम्म आउने दबाब खेप्न सक्नुहुन्छ ? 

प्रभाव, दबाब र जस्तोसुकै राजनीतिक भुँइचालो अए पनि कल्याण गुरुङले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन्छ, चुनाव लड्छ, प्रतिस्पर्धा गर्छ र अधिकांश महाधिवेशन प्रतिनिधिले मतदान गर्नुभयो भने चुनाव पनि जित्छ । 

अहिले तपाईंले सभापतिको उम्मेदवारबाट कुनै पनि हालतमा पछि हट्दिनँ भनेको कुरा हामीसँग अर्काइभमा सुरक्षित रहनेछ । यदि तपाईंले उम्मेदवारी छाडेका खण्डमा हामी त्यसको फलोअप गर्दै फेरि आइपुग्छौँ नि ! 

यदि मैले आफ्नो स्ट्याण्ड छाडेँ भने तपाईं मलाई जीवनभर यो प्रश्न गर्नुहोला । यदि म अहिले सभापति पदको उम्मेदवारबाट पछाडि हटेँ भने कल्याण गुरुङमाथि त मानिसको विश्वास हट्छ नै, युवा पुस्ताप्रति नै विश्वास हट्छ । 

हिजोका दिनमा केही युवा पुस्ताले चर्चाका लागि र चन्दाको लागि चर्को कुरा गर्ने गरे । जब उनीहरूले अवसर प्राप्त गरे, उनीहरू दुलोभित्र लुके । कल्याण गुरुङ चर्चाका लागि र चन्दाका लागि चर्को कुरा गर्दैन । कल्याण गुरुङ मुद्दाका लागि बोल्छ, मुद्दामा उभिन्छ र त्यो मुद्दाका लागि संघर्ष गर्छ । दुलोभित्र लुक्दैन ।