महाधिवेशनको सुनिश्चितताको माग: करिब ४ दर्जन युवाको सभापति देउवालाई दबाब (ध्यानाकर्षण पत्रसहित)

महाधिवेशनको सुनिश्चितताको माग: करिब ४ दर्जन युवाको सभापति देउवालाई दबाब (ध्यानाकर्षण पत्रसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २१, २०७८

नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई १४औँ महाधिवेशनको सुनिश्चितता, क्रियाशील सदस्यता विवादको छीटो निरूपणलगायत विषयमा ध्यानाकर्षण गराएका छन् ।

४ दर्जनभन्दा बढीको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्रमा भनेका छन्, 'विधान र नियमावलीअनुरूप न्यायपूर्ण ढंगले क्रियाशील सदस्यताको विवाद समाधान गरी धर्ना र अनशनलगायतका गुनासाहरूको सम्बोधन गर्दै तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरियोस् ।'

'सबल कांग्रेस निर्माणका लागि युवा अभियान'ले जारी गरेको पत्रमा उल्लेख छ, 'विधिवत रूपमा महाधिवेशन सम्पन्न नहुने, ने.वि.संघ, तरुण दललगायतका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको पूर्णता र महाधिवेशन पनि वर्षौदेखि नगर्ने हो भने नेपाली कांग्रेसको लोकतान्त्रिक छबिलाई जनस्तरमा कायम राख्न र नयाँ पुस्ताको ऊर्जा अभिप्रेरित गर्न नसकी आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्ने संयन्त्र निष्प्रभावी रहने हुँदा संकटबाट लोकतन्त्र र कांग्रेसलाई जोगाउन सम्पूर्ण पुस्ताको सहभागितासहितको विधिवत् महाधिवेशन सुनिश्चित गरियोस् ।'

अभियानका सदस्य एवं नेविसंघका पूर्व उपाध्यक्ष डिल्लीराम सुवेदीले महाधिवेशनको कार्य तालिका प्रभावित भइसक्दा समेत पार्टीले सामान्य सूचना समेत जारी नगरेको, कार्यकर्तालाई गुमराहमा राखिएको र महाधिवेशन हुन नदिने प्रयत्न भएकोले दबाब दिन अभियान थालिएको बताए । तत्काल महाधिवेशन निश्चित नभए आमरण अनसन लगायतका आन्दोलन गर्न आफूहरू तयार रहेको सुवेदीले बताए ।

हेर्नुहोस् पत्र