भूटानबाट आइपुग्यो ३ लाख डोज खोप

भूटानबाट आइपुग्यो ३ लाख डोज खोप

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण २२, २०७८

भूटानले पठाएको कोरोनाविरुद्धको एस्ट्राजेनेकाको ३ लाख डोज खोप काठमाडौं आइपुगेको छ ।

खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । स्वास्थ्य सेवा विभागले भने शनिबार भूटानबाट खोप आउने जनाएको थियो ।

भूटानबाट एस्ट्राजेनेका खोप आउने भएकाले यो खोप कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई प्राथमिकताका साथ दिइने विभागले जनाएको छ ।

खोप नपाएका कारण अहिलेसम्म साढे ९ लाख बढी जेष्ठ नागरिकसहित १३ लाख ३८ हजारभन्दा बढीले दोस्रो मात्रा लगाउन पाएका छैनन् । आगामी २ साताभित्र जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप आएपछि दोस्रो डोज लगाउन बाँकी जेष्ठ नागरिकलाई दिइने विभागले जनाएको छ ।