दार्चुला तुइन घटना छानबिन समिति व्यास प्रस्थान

दार्चुला तुइन घटना छानबिन समिति व्यास प्रस्थान

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २२, २०७८

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समितिका पदाधिकारी व्यासको माल प्रस्थान गरेका छन् । बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेकोे सो टोली नेपालतर्फको घटनास्थल हेर्न हेलिकोप्टरमार्फत आज त्यसर्फ प्रस्थान गरेको हो ।

समितिले व्यास गाउँपालिका- २ मालघाटको स्थलगत निरीक्षण तथा पीडित परिवारसँग छलफल गर्ने जनाइएको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको सो छानबिन समिति गत मंगलबारदेखि यहाँ रहेको छ । गत १५ साउनमा माल गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सीमासुरक्षा बल एसएसबीले तुइन फुकालिदिँदा धामी बेपत्ता भएको बताएपछि घटनाले चर्चा पाएको थियो  । 

छानबिन समितिमा सहसचिव गौतमसहित सुदूरपश्चिम प्रदेशका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् । 

समितिले घटनास्थलमा खटिएका अनुसन्धान टोली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, घटनाका प्रत्यक्षदर्शी, संचारकर्मी, मानवअधिकारकर्मी, राजनीतिक दल र व्यासका जनप्रतिनिधिसँग छलफल गरेको थियो ।

अहिलेसम्म धामीको शव भेटिएको छैन । आफन्तले मृतकको कुसको मूर्ति बनाएर अन्येष्टि गरिसकेका छन् । पीडित परिवारले उचित क्षतिपूर्ति तथा बालबच्चाको पालनपोषणको जिम्मा राज्यले लिनुपर्ने माग गरेको छ ।