सीयूजी प्याकेजमा अनलिमिटेड कलदेखि डाटासम्म छुट

सीयूजी प्याकेजमा अनलिमिटेड कलदेखि डाटासम्म छुट

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २२, २०७८

नेपाल टेलिकमले सीयूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा आबद्ध हुने ग्राहकको संख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम १० मोबाइल प्रयोगकर्तालाई सीयूजी समूहमा आबद्ध गराएर छुट दिन सकिने जनाएको हो ।

सीयूजी सेवामा आबद्ध सदस्यबीच निःशुल्क रूपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिने तथा सीयूजीमा आबद्ध नभएका नेपाल टेलिकमको नेटवर्कभित्रका अन्य नम्बरमा कुराकानी गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

उनका अनुसार कर्पोरेट ग्रुपमा आबद्ध सदस्यको आवश्यकतालाई दृष्टिगत गरी २००, ५००, एक हजार र एक हजार ५०० रुपैयाँ दरका विभिन्न सीयूजी प्याकेज उपलब्ध गराइएको छ । कम्पनीले उपलब्ध गराएको सो सेवामा प्रिपेड मोबाइलका ग्राहकले २०० रुपैयाँको प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कलबाहेक १०० मिनेट अननेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा तथा ५० वटा अननेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने एक जीबी डाटा सुविधा प्राप्त गर्न सक्छन् ।

त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले ५०० रुपैयाँको प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कलबाहेक ५०० मिनेट अननेट र ५० मिनेट अफनेट भ्वाइस सुविधा तथा १०० अननेट एसएमएस र ३० वटा अफनेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने ५ जीबी डाटा सुविधा प्राप्त गर्न सक्छन् ।

उक्त २ प्याकेजबाहेक पोस्टपेड मोबाइलका ग्राहकले एक हजार र एक हजार ५०० रुपैयाँका अन्य प्याकेजसमेत प्रयोग गर्न सक्छन् । एक हजार रुपैयाँको प्याकेजअन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ः०० देखि बेलुकी ७ः०० बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा एक हजार मिनेट कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिन्छ । यस प्याकेजमा १० जीबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिन्छ ।

यसैगरी एक हजार ५०० रुपैयाँको प्याकेजअन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ः०० बजेदेखि बेलुकी ७ः०० बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा एक हजार ५०० मिनेट कल गर्न सकिने सेवा लिन सकिन्छ । यस प्याकेजमा अन्य नेटवर्कमा २०० मिनेट कलका अतिरिक्त २० जीबी डाटा चलाउन र ४०० वटा एसएमएस पठाउन सकिन्छ ।

कुनै संस्था, कार्यालयले ग्रुपमा सहभागी गराउनुपर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा उल्लेख गरी कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ । न्यूनतम १० वटा प्रिपेड/पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिक रूपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।