दामोदर पुडासैनी 'किशोर': कुशल शब्दशिल्पी, जसलाई आफूले खाएको जागिरको पद नै थाहा थिएन

दामोदर पुडासैनी 'किशोर': कुशल शब्दशिल्पी, जसलाई आफूले खाएको जागिरको पद नै थाहा थिएन

आशिष पौडेल  |  अन्तर्मन्थन  |  श्रावण २३, २०७८

जागिर उहाँको जीवन निर्वाह हो भने लेखन बाँकी अरू सबै । यसलाई रुचि, सोख, त्याग, तपस्या, आनन्द, शान्ति जे नाम पनि दिन सकिने उहाँ बताउनुहुन्छ । 

नायव महालेखापरीक्षक जस्तो उपल्लो र ‘मालदार’ पदमा पुगे पनि उहाँलाई कमाउनमा भन्दा लेखनमा रमाउन रहर जाग्यो, जसका कारण हरेक स्थानमा उहाँ रहँदा उहाँका नियात्रा र त्यहाँको परिवेशअनुसारका कविता कृति निस्किएका छन् ।

पारिवारिक अवस्था

उहाँका बुबाआमा ‘काँठ’ भनिने काठमाडौंको जीतपुर फेदीका । काँठ भनिसकेपछि त्यसबेला काँठको पेसा सामान्यतया कृषि नै हुने गर्थ्यो । 

काठमाडौंको काँठ क्षेत्र भनेपछि खेतीपाती नहुने भन्ने कुरै भएन । खेतीपाती भनेपछि त्यो बेला दुःख पनि जोडिएर आउनु स्वाभाविक नै हो ।

उहाँका बुबा धार्मिक प्रवृत्तिका हुनुहुन्थ्यो । धार्मिक प्रवृत्तिको मानिस भएका कारण धर्मकर्मका कुरा गर्ने, धार्मिक र साहित्यका पुस्तक पढ्ने तथा शास्त्रार्थ गर्ने भनेको सामान्य हुने नै भयो ।

उहाँको घरमा धर्म भनेर धर्मकर्मका अनि धर्मान्धता मात्र नभएर धर्मका सबै पक्षलाई लिएर छलफल हुने गर्थ्यो । विभिन्न साधुसन्त अनि धर्मसम्बन्धी अध्येता कोही न कोही भेला भइरहेका हुन्थे । कुनै पनि दिन यस्ता व्यक्तित्वको उपस्थिति उहाँको घरमा टुट्दैनथ्यो । । 

यस्ता भेटघाट तथा छलफलमा रामायण, महाभारत अनि विश्रामसागर जस्ता धार्मिक साहित्यका पुस्तकको चर्चा हुने गर्थ्यो । आलोचनात्मक चेतसहित हिन्दु धर्म मात्र नभएर अन्य धर्मका बारेमा पनि उहाँको घरमा छलफल भइरहेको हुन्थ्यो । 

उहाँका बुबाले घरमा छोराछोरीलाई पनि अध्ययन गर्ने, लेख्ने भनेको धेरै राम्रो कुरा हो, जसले पछिसम्मका लागि धेरै राम्रो गर्छ भनेर सम्झाउनुहुन्थ्यो । 

आफू पनि केही लेख्ने साथै छोराछोरीहरूलाई पनि लेख्न लगाउने तथा साहित्यिक रचना सुन्ने अनि सुनाउने पनि गर्नुहुन्थ्यो । सानैैमा परेको यस्तो प्रभावले उहाँले पनि ७ वर्षको उमेरमा नै कविता लेख्नुभएको बताउनुहुन्छ । 

जन्म तथा बाल्यकाल

उहाँको जन्म काठमाडौं जिल्लाको उत्तरी भेगको जीतपुर फेदीमा २०१९ सालमा भएको हो । उहाँको आधिकारिक दस्तावेजमा पनि यही नै छ जन्म मिति । पहिले भने गाउँ पञ्चायत थियो, हाल भने तारकेश्वर नगरपालिका । 

उहाँका २ जना आमा । २ आमाका तर्फबाट ४ दाजुभाइ तथा ५ दिदीबहिनी । उहाँकी आफ्नी आमाको तर्फबाट भने ३ दाजुभाइ तथा ३ दिदीबहिनी । उहाँ भने कान्छो छोरो । 

उहाँ अलिक अन्तर्मुखी स्वभावको ठान्नुहुन्छ आफूलाई । बाल्यकाल नखेलेर बितेका होइन उहाँको तर जति बालबालिका फुक्काफाल भएर खेल्ने गर्छन्, त्यति भने भएन रे उहाँको । त्यसको कारण भने पढ्नेलेख्ने कुरामा रुचि र घरमा पनि त्यस्तै वातावरण भएकाले हो भन्नुहुन्छ दामोदर । 

एक पटक भने उहाँको स्कूल नजिकै गुम्बामा साथीको लहलहैमा लागेर काँक्रो चोर्न जाँदा सजाय पाएको कुरा उहाँको स्मरणमा आज पनि ताजै छ । उहाँले बच्चामा गरेको फटाइँको उदाहरण यो नै पहिलो र अन्तिम हो उहाँको स्मृतिमा रहेसम्म । 

सरकारी जागिर खानका लागि चाहिने सामान्य ज्ञानको एक किसिमको तयारी त्यसै पनि भइरहेको हुन्थ्यो । झन् दाजुहरू सरकारी जागिरे भएपछि जाँच दिएर पास गरेर जागिर खाने भन्ने एक किसिमको वातावरण त्यसै बन्थ्यो । 

नजिकैको भुत्याहा खोलामा कहिलेकाहीँ पौडी खेल्नेबाहेक अरू त्यस्ता खास उल्लेख्य खेल रहेनन् उहाँको बचपनमा । 

स्कूलमा खेलिने फुटबल, भलिबल, हाईजम्प भने सामान्य नै रहे । तर अन्य त्यस्तो उत्साहजनक केही रहेन । यसको एउटै कारण भनेको पढ्नु, लेख्नुपर्छ भन्ने घरको संस्कार नै मुख्य रहेजस्तो लाग्छ उहाँलाई । 

प्रारम्भिक शिक्षा

हुनत सग्ला अक्षर चिन्ने तथा बाह्रखरी पढ्ने काम भने उहाँले घरमै गर्नुभएको हो । कक्षा ३ बाट मात्र उहाँको स्कूले जीवन प्रारम्भ भएको हो । 

स्कूले पढाइ अर्थात् उहाँको प्रारम्भिक शिक्षा भने खँडवालकोट प्राविबाट सुरु भएको हो । ३ कक्षामा लगेर स्कूल भर्ना गरेपछि उहाँ कक्षामा प्रथम हुनुभयो ।

कक्षा ६ देखि भने उहाँ धर्मस्थलीको ग्राम सेवा माविमा पढ्नुभएको हो । उहाँ कक्षामा सधैँ प्रथम नभए पनि दोस्रोबाट भने कहिल्यै पनि पर पुग्नुभएन । 

खँडवालकोटमा भने बस्नका लागि डेस्क–बेञ्च नरहेको बताउनुहुन्छ पुडासैनी । कतिपय अवस्थामा त त्यसबेला बस्नका लागि घरबाटै चकटी बोकेर जानुपर्ने वातावरण थियो अन्य स्कूलमा । तर, उहाँको स्कूलमा भने सुकुल स्कूलमै हुन्थे । 

लामो सुकुल अनि लहरै बस्नुपर्ने र कक्षा छुटेपछि भने आफैँले बेरेर राख्नुपर्ने हुन्थ्यो । शुक्रबार विद्यार्थीहरू आफैँ मिलेर कक्षा बढारकुँडार गरेर सफा गर्नुपर्थ्यो । 

त्यसबेला कक्षाको उमेर समूह भन्दा पनि धेरै उमेरका विद्यार्थी पढ्न आउँथे । गृहकार्य खासै हुन्थेन अनि केटाकेटीलाई बाबुआमाले लट्ठीले पिट्दै लिएर आउने दृश्य सामान्य नै हुन्थ्यो । 

गुरुले सोधेका बेला भन्न नसक्दा कान निमोठिने कारणले कानबाहिर चिप्लो बनाउन तेल, घ्यू दलेर पनि आउँथे विद्यार्थी । 

प्राथमिक स्कूलमा पनि २५–३० जना हुन्थे कक्षामा । त्यसमा ५–६ जना छात्राहरू हुन्थे । उहाँ पढेको प्राथमिक स्कूल फेदी बजारमा थियो । बजारमा नेवारहरूको बाक्लो बस्ती थियो । 

व्यापारी भनेका नेवारहरू नै हुन्थे त्यसबेला । त्यस कारण हो कि बाहुन÷क्षेत्रीका छोरीहरूले स्कूल नपढे पनि नेवारका छोरीहरू भने स्कूल पढ्थे । तर, माध्यमिक विद्यालयमा भने त्यस्तो भएन । 

प्राथमिक तह उकालो लागेपछि भने स्कूलमा बस्ने बेञ्चको व्यवस्था थियो । कक्षामा २५–३० हाराहारी विद्यार्थी हुन्थे । छात्राहरू झण्डै ८–१० जना मात्र । 

उहाँको पढाइ राम्रो भएका कारण उहाँ भने सधैँ पहिलो बेञ्चमा नै बस्नुहुन्थ्यो । स्कूलमा पहिले जो जहाँ बस्यो, ऊ सधैँभरि त्यही बेञ्चमा बस्ने एक किसिमको अघोषित परम्परा जस्तै थियो । 

कक्षामा कोही केटीसँग बोल्यो भने ‘लभ प¥यो’ भनेर जिस्क्याउने अनि सँगै बस्यो भने त कति समयसम्मलाई काण्ड पुग्थ्यो, कुरा गरी साध्य भएन । 

त्यस कारण पनि कोही केटीसँग बोल्ने कुरै भएन भन्नुहुन्छ पुडासैनी । ‘फेरि दत्तचित्त भएर पढाइमा लाग्नुपर्छ भन्ने एक किसिमको नजानिँदो दबाब भनुँ वा चेतका कारण पनि त्यस्तो माहोल कहिले रहेन’, उहाँ भन्नुहुन्छ । 

आफूसँगै पढ्ने केटीहरू पनि आफूभन्दा ठूला । गाउँघरमा सम्बोधन गर्दा दिदी भन्नुपर्ने । अलिक लजालु स्वभाव पनि भएका कारण केटीहरूसँग बोल्ने र जिस्कने भन्ने कहिल्यै नभएको बताउनुहुन्छ पुडासैनी । 

उहाँ अलिक पढन्ते ठहरिएका कारण पनि केटीसँग बोल्न र जिस्कन हुँदैन भनेर पनि बोल्न पछि सर्नुहुन्थ्यो रे ! ‘केटीको पछि लाग्यो भने पढाइ बिग्रन्छ भनेर पनि बोलिएन’, पुडासैनी भन्नुहुन्छ । 

त्यसबेलाको ब्राह्मण समुदायका छोराहरूमा पनि एक किसिमको कठोर अनुशासन थियो । त्यस कारण पनि केटीसँग बोल्न असहज अवस्था थियो । 

उहाँले २०३५ सालमा एसएलसी दिनुभएको हो । एसएलसी दिने ३५–३६ जना थिए । जम्मा पास भएका भनेको उहाँ र अर्को एक जना मात्र । दुवै जना द्वितीय श्रेणीमा । त्यो समयमा ‘फलानोले एसएलसी पास ग¥यो’ भन्ने हल्ला नै ३ गाउँमा चल्थ्यो रे ! द्वितीय श्रेणी भनेको त झन् कता हो कता । २०३७ सालपछि भने नम्बर थप्ने प्रचलन आयो तर त्यसभन्दा अगाडि त्यस्तो चलन थिएन भन्नुहुन्छ उहाँ । 

एसएलसीपछि

एसएलसीपछि उहाँ पढ्नका लागि काठमाडौं आउनुभयो । उहाँका दाजुहरू भने सरकारी कर्मचारी । त्यस कारण घरमा पनि सरकारी जागिर खानुपर्छ भन्ने एक किसिमको माहोल थियो । 

८ कक्षा पास गरेपछि बहिदार, एसएलसी गरेपछि खरिदार, आईए गरेपछि नासु अनि बीए पास गरेपछि अधिकृत जागिर खान पाइन्छ भन्ने एक किसिमको हिसाब नै चल्थ्यो पुडासैनीको घरमा । 

स्कूलमा पनि हाजिरीजबाफ प्रतियोगिता, हिज्जेलगायत अन्य साहित्यिक प्रतियोगितामा भाग लिने र पुरस्कृत पनि हुने गर्नुहुन्थ्यो उहाँ । 

सरकारी जागिर खानका लागि चाहिने सामान्य ज्ञानको एक किसिमको तयारी त्यसै पनि भइरहेको हुन्थ्यो । झन् दाजुहरू सरकारी जागिरे भएपछि जाँच दिएर पास गरेर जागिर खाने भन्ने एक किसिमको वातावरण त्यसै बन्थ्यो । 

उहाँको एसएलसीको नतिजा असारमा निस्कियो । भदौदेखि उहाँ अस्थायी जागिरे हुनुभयो । सरकारी जागिर । शिक्षा मन्त्रालयमा सहलेखापाल । 

त्यसबेला उहाँको तलब १७५ रुपैयाँ थियो । ‘फलानोले सहलेखापाल जागिर खायो रे !’ भन्ने निकै ठूलो हल्लासमेत चलेको थियो गाउँमा । 

उहाँले उक्त १७५ रुपैयाँ तलब सबै लगेर दाजुलाई दिनुभयो । पहिलो तलब । आफूले भने केही गर्नुभएन पहिलो तलबले । 

उहाँको दोहोरो दायित्व जस्तै थियो त्यसबेला । बिहान उठ्यो, सरस्वती कलेज गयो अनि कलेजबाट आएर जागिर । 

हुनत त्यसबेलाको द्वितीय श्रेणीले विज्ञान पढ्न नपाइने होइन, उहाँले पनि चिकित्साशास्त्र अध्ययनका लागि आवेदन दिनुभयो । उहाँको नाम पनि निस्कियो । 

त्यसबेला साउने सत्र र माघे सत्र भनेर २ सत्रमा पढाइ हुन्थ्यो । उहाँको नाम साउने सत्रमा ननिस्केर माघे सत्रमा निस्कियो । साउने सत्रका लागि केही समय कुर्नुपर्ने भयो । त्यति समय नकुरौँ बरु व्यवस्थापन पढ्दै गरौँ भनेर उहाँ व्यवस्थापन पढ्नतिर लाग्नुभयो । 

सायद त्यसबेला कलेज थोरै भएर हो, एउटा कक्षामा एक÷डेढ सयसम्म विद्यार्थी हुन्थे । बिहान जाडो पनि धेरै हुन्थ्यो । एकछिन ढिलो भयो भने बस्ने बेञ्च नपाएर उभिनुपर्ने, झ्यालमा समेत बस्नुपर्ने अवस्था थियो । 

उहाँले प्रवीणता प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्मको सबै पढाइ सरस्वती कलेजबाट नै पूरा गर्नुभएको हो । उहाँले एमपीए पनि पूरा गर्नुभएको छ । विद्यावारिधि भने भर्खरै लेखासम्बन्धी ‘कम्प्यारिटिभ स्टडिज अन एन्सेन्ट एण्ड मोडर्न गभर्मेन्ट अडिटिङ सिस्टम’ विषयमा गर्नुभएको हो । उहाँले गर्नुभएको विषयमा नेपालकै पहिलो विद्यावारिधिसमेत हो । 

जागिरे जीवनः आफ्नो पद नै थाहा थिएन

उहाँले पहिलो जागिर अस्थायी सहलेखापाल करिब २ वर्ष खानुभयो । उहाँलाई त्यसबेला लेखापाल तथा सहलेखापाल भनेको के हो भन्ने पनि थाहा थिएन रे ! 
घरमा जागिरे माहोल भएका कारण जागिर खानुपर्छ भन्ने मान्यताले मात्र उहाँले उक्त जागिर खानुभएको हो । त्यसबेलासम्म अस्थायी जागिर खान गाह्रो पनि थिएन । उहाँका दाजुले ‘शिक्षा मन्त्रालयमा सहलेखापाल जागिर खान्छस् ?’ भनेपछि जागिर खाएको उहाँको भनाइ छ । 

२०३८ सालमा भने उहाँले खरिदार पदमा नाम निकाल्नुभयो । पछि २०४० सालमा उहाँले फेरि लेखापालमा नाम निकाल्नुभयो । यसपछि बीचमा केही आन्दोलन र अन्य कुराले बिथोलियो लोक सेवाको परीक्षा । उहाँले २०५० सालमा अधिकृतमा नाम निकाल्नुभयो । सहसचिव अर्थात् नायव महालेखापरीक्षकसम्म उहाँ प्रतिस्पर्धामै उत्रेर आउनुभएको हो । 

१६ वर्षको उमेरमा जागिर खाँदा आखिर जागिर के हो भन्ने पनि थाहा थिएन उहाँलाई । अफिस जान पनि डराईडराई जानुहुन्थ्यो । डराउने यस अर्थमा कि केही थाहा नै थिएन । आखिर थाहा होस् पनि के भर्खर १६ वर्षको उमेरमा जागिर खान गएको केटोलाई ! 

उहाँलाई अफिसमा सबै मान्छे ठूलाठूला जस्ता लाग्थे । उहाँलाई आफूभन्दा ठूला अफिसका जजसले काम गर्न सिकाउँथे, उनीहरूले भनेको चाहिँ टपक्क टिपेर सिकेर भोलिपल्ट देखाउनुहुन्थ्यो । 

अफिस पनि समयमै पुग्ने अनि समयमै निस्कने । खाजा खान जाँदा पनि तोकिएको समयभन्दा धेरै नलगाउने एउटा इमान्दार कर्मचारी हुनुहुन्थ्यो दामोदर । २०४६ सालपछि मात्र कर्मचारीतन्त्रमा एक प्रकारको छाडापन देखिएको उहाँ बताउनुहुन्छ । 

‘त्यसअघिसम्म आफूभन्दा माथिल्लो तहका हाकिमले भनेको मान्ने, सम्मान गर्ने अनि अलिक अदबमा बस्ने वातावरण थियो तर २०४६ सालपछि भने त्यो वातावरण बिग्रियो’, पुडासैनी भन्नुहुन्छ ।

नायव महालेखापरीक्षकबाट अवकाश प्राप्त गरेको नाताले जागिरे जीवनमा पनि उहाँलाई बेरुजु, हिनामिना मिलाइदिन थुप्रै दबाब प्रभाव आएको पनि उहाँले बताउनुभयो । 

एक पटक एउटा विदेशी ठेकेदार रहेको सडक निर्माणका क्रममा भएको बेरुजु औँल्याइदिँदा उहाँलाई मन्त्रीदेखि विदेशी राजदूतसम्मबाट पनि दबाब नआएको होइन, तर एउटा स्रष्टा भएका नाताले बेलाबेलामा आउने यस्ता दबाब र प्रभावलाई भने सजिलै सामना गर्न नैतिक बलसमेत पुग्ने उहाँले बताउनुभयो । 

बाँकी रह्यो नैतिकता र इमान्दारीको कुरा । ‘त्यो नभए त एउटा सरकारी जागिरबाट अवकाश प्राप्त गरेको मान्छेलाई सरकारले किन पत्याएर फेरि अर्को सरकारी नियुक्ति दिन्थ्यो होला र !’, उहाँ प्रश्न गर्नुहुन्छ । 

विवाह

उहाँको विवाह २०४१ सालमा भएको हो । विवाह मागी नै हो । उहाँका २ जना सन्तान हुनुहुन्छ, एक छोरा तथा एक छोरी । छोरा भने आफ्नो पढाइ पूरा गरेर हाल अमेरिकामा काम गर्दै हुनुहुन्छ । छोरी नेपाल मेडिकल कलेजबाट एमबीबीएस पूरा गरेर हाल अमेरिकामा एमडी गर्दै हुनुहुन्छ । 

साहित्ययात्रा

उहाँको साहित्यतर्फको यात्रा सानै बेलादेखिको हो । ७ वर्षकै उमेरमा उहाँले कविता लेखेर सुनाउने गर्नुहुन्थ्यो । स्कूलमा पनि कविता तथा अन्य साहित्यिक प्रतियोगितामा भाग लिने अनि पुरस्कार पनि प्राप्त गर्ने गर्नुहुन्थ्यो । 

जागिर खाँदै गरे पनि उहाँको लेखन कर्म भने छुटेन । २०३४ सालमा ‘जनजागृति’ पत्रिकामा उहाँको पहिलो कविता प्रकाशन भयो । कविताको शीर्षक थियो– ‘शहीद ।’ 

उहाँका एक जना दाजु सूचना विभाग तथा अर्का दाजु संचार मन्त्रालयमा काम गर्नुहुन्थ्यो । संचार मन्त्रालयमा काम गर्ने दाजुले उहाँको रचना रेडियो नेपालको दर्ता शाखामा लगेर दर्ता गरिदिनुहुन्थ्यो । समय क्रममा ती बाल कार्यक्रम, ग्रामीण कार्यक्रम, विदेश बस्ने नेपालीका कार्यक्रममा प्रसारण हुन्थे । 

सूचना विभागमा हुने दाजुले ‘मेरो भाइको रचना प्रकाशनयोग्य भए प्रकाशन गरिदनका लागि’ भनेर पत्रकारहरूलाई दिने गर्नुहुन्थ्यो । यसो गर्दा प्रकाशनयोग्य लागेका कतिपय प्रकाशन भए । 

कृतिगत रूपमा भने उहाँको ‘आफन्तका अनुहार’ कवितासंग्रह प्रज्ञाप्रतिष्ठानबाट २०४९ सालमा प्रकाशन भयो । जागिरमा व्यस्त हुनुपरेका कारण कृतिगत रूपमा प्रकाशन हुन केही समय लागे पनि पत्रपत्रिकामा भने प्रकाशन भई नै रहे उहाँका रचना ।

उहाँको अर्को कविता कृति ‘आँखाको खोजीमा’ २०६२ सालमा प्रकाशन भयो । २०६३ सालमा भने उहाँका २ वटा कविता कृति एकै पटक बजारमा आए, ‘आलोकित आयाम’ र ‘आकारको खोजीमा ।’
 
२०६० सालदेखि उहाँलाई परराष्ट्रको जिम्मेवारी आइलाग्यो । त्यसै क्रममा यी दुवै कृति उहाँले विदेशमा बस्दा रचना गर्नुभएको हो । 

२०६५ सालमा उहाँको ‘यात्राका प्रेमिल तरंगहरू’ नामक अर्को नियात्रा कृति आयो । त्यसपछि उहाँको अर्को कृति आयो, ‘नमेटिएका चित्रहरू’, जसले अमेरिकामा रहेको अन्तर्राष्ट्रिय साहित्य समाजबाट वर्षभरिको सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्राप्त ग¥यो । उक्त कृतिले उत्तम शान्ति पुरस्कारसमेत प्राप्त ग¥यो । 

उहाँको अर्को नियात्रा कृति पनि प्रकाशन भएको छ, ‘सिमानाका रङ, सीमानाका तरंग’, जो उहाँ एसियाली मुलुकको भ्रमणमा रहँदा लेखिएको कृति हो । उक्त पुस्तका मदन पुरस्कारको उत्कृष्ट ७ मासमेत परेको थियो । 

उहाँ हुम्ला बस्दा अर्को एउटा नियात्रा कृति जन्माउनुभयो, ‘मायालु हुम्ला ।’ अर्को एउटा नियात्रा कृति ‘पर्खालभित्रको राजधानी’ पनि छ उहाँको, जुन उपल्लो मुस्ताङ र तल्लो मुस्ताङ भ्रमणबाट जन्मिएको कृति हो । 

‘उज्यालो खोजिरहेको घाम’ र ‘शहरबिनाको शहर’ उहाँका अन्य कविता कृति हुन् । ‘शहरबिनाको शहर’ साझा प्रकाशनबाट प्रकाशित कृति हो, जसले उत्कृष्ट पुस्तक पुरस्कारसमेत प्राप्त गरेको थियो । 

उहाँको हालै २ वटा कविता कृति प्रकाशनमा आएका छन्, ‘हिमालका आवाज’ तथा ‘निर्वस्त्र घाम र लोलाएको साँझ ।’

यी सबैभन्दा पृथक् उहाँको एउटा दर्शनको कृति पनि प्रकाशन भएको छ, ‘धर्मको ह्याङओभर ।’ यसमा भने उहाँले धर्म धर्मकै पथमा चल्यो कि धर्मलाई मान्छेले आफ्नो मुठ्ठीमा राखेर चलाए भन्ने विषयमा लेख्नुभएको छ । 

यसरी हेर्दा हालसम्म उहाँका १६ वटा कृति प्रकाशन भएका छन्, जसमा १० वटा कवितासंग्रह, ५ वटा नियात्रा अनि एउटा दर्शन कृति रहेको छ । 

उहाँका कृतिमा विशेषगरी स्थानीयता, प्रकृति र वरपरका वातावरण बढी हावी देखिन्छ । 

उहाँको मुख्य ध्येय भनेको हिमाली साहित्यलाई प्रेरित गर्नुपर्छ भन्ने हो । ‘हुनत हामीसँग लेख्नका लागि अन्य थुप्रै विषय नभएका होइनन् तर आफूसँग भएका सुन्दर कुरा लेख्दा त्यसले कृति पनि सुन्दर हुने सम्भावना रहन्छ’, दामोदर भन्नुहुन्छ । 

आखिर युरोपेली, अमेरिकीसँग समुद्र थियो, उनीहरूले साहित्यमा समुद्र लेखे अनि मध्यपूर्वमा मरुभूमि छ, उनीहरूले मरुभूमिका दुःख लेखे । हामीसँग सुन्दर हिमाल छ, त्यस कारण हाम्रो लेखनीको मूल भनेको हिमाल हुनुपर्छ  भन्ने उहाँको उद्देश्य हो । 

संघसंस्थामा संलग्नता

उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को सदस्य साथै अनेसासकोे बोर्ड अफ ट्रस्टीको आजीवन सदस्य हुनुहुन्छ । विभिन्न सामाजिक साहित्यिक संस्थामा सहभागिता रहेको छ उहाँको ।

सम्मान तथा पुरस्कार

गएको वर्ष सरकारका तर्फबाट साहित्यमा उहाँले जनसेवाश्री पुरस्कार पाउनुभएको छ । त्यस्तै, प्रतिभा पुरस्कार, सर्वोत्कृष्ट पुस्तक पुरस्कार, उत्तम शान्ति पुरस्कार, व्यथित काव्य पुरस्कार आदि उहाँले प्राप्त गर्नुभएका प्रमुख पुरस्कार हुन् ।