प्रान्तीय राजधानी जरान्जमाथि नियन्त्रण: तालिबानको कति ठूलो जित ?

प्रान्तीय राजधानी जरान्जमाथि नियन्त्रण: तालिबानको कति ठूलो जित ?

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण २४, २०७८

तालिबान लडाकूले अफगानिस्तानको एक प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरुले राजधानी काबुलमा सरकारका एक शीर्ष मिडिया अधिकारीको हत्या समेत गरेका छन्। अफगानिस्तानबाट अमेरिकी सुरक्षाफौज फिर्ता भएपछि त्यहाँ लगातार तालिबानको प्रभाव बढ्दै गएको छ र सुरक्षा अवस्था लगातार बिग्रिरहेको छ । केही महिनायता आक्रामक बनेको तालिबानले अफगानिस्तानको ठूलो क्षेत्रमा नियन्त्रण हासिल गरिसकेको छ । दक्षिणी प्रान्त निमरोजका प्रहरी अधिकारीले तालिबानले प्रान्तीय राजधानी जरान्जमाथि नियन्त्रण लिएको उल्लेख गरेका छन् । उनले सरकारले सो सहरलाई सुरक्षित राख्नका लागि सुरक्षाकर्मी पठाउन नसकेको र तालिबानले नियन्त्रणमा लिएको बताएका छन् । 

तालिबानका प्रवक्ताले ट्विटरमा तालिबानले प्रान्तको राजधानीलाई पूर्ण रुपमा मुक्त गरेको उल्लेख गरेका छन् । उनले गभर्नर निवास, प्रहरी मुख्यालय र अन्य सरकारी भवनमा तालिबानको नियन्त्रण रहेको बताएका छन् । तालिबानले सत्ताबाढ हटेको २० वर्षपति पहिलो पटक प्रान्तीय राजधानीमा कब्जा जमाएको हो। यसका साथै पश्चिमी हेरात र दक्षिणी लश्कर गाहमा भीषण संघर्ष चलिरहेको छ ।

इरानको सीमासँग जोडिएको जरन्ज एउटा ठूलो व्यापारिक केन्द्र हो । आसपासका जिल्लामा नियन्त्रण कायम गरेपछि तालिबानले यो सहरलाई नियन्त्रणमा लिन लगातार प्रयास गरिरहेको थियो । निमरोज प्रहरी विभागका प्रवक्ताले सरकारले पर्याप्त सुरक्षा फौज पठाउन नसकेपछि यो सहरमा कब्जा गर्न तालिबान सक्षम भएको बताएको रोयटर्सले उल्लेख गरेको छ । 

अर्कोतिर तालिबानले सीमावर्ती इलाकामा आफ्नो पकड बलियो बनाउनका लागि सरकारी सैनिक र सरकार समर्थक लडाकूमाथिको हमला तीव्र पारेको छ । जोवजान प्राप्नतमा अब्दुल रशीद दोस्तम मिलिसिया र सरकारी सेनाका कम्तिमा १० जना मारिएका छन् ।

शुक्रबार साँझमात्रै अफगानिस्तानका एक शीर्ष सैन्य जनरलले हवाई हमलामा निमरोजमा शीर्ष तालिबान कमाण्डर र १४ जना सहयोगी मारिएको दाबी गरेका थिए । यद्यपि जनरल सामी सादातको यो दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन । जनरल सामी अफगानिस्तानी सेनाको २१५ मायावान्ड अफगान सेनाका कमाण्डर हुन् । 

सत्तातर्फ तालिबान

तालिबानलाई २० वर्षअघि अमेरिकी सेनाको बलमा सत्ताबाट हटाइएको थियो । अब अमेरिकी सेना फर्किएपछि तालिबान फेरि मुस्लिम शासन लागू गर्ने अभियानमा अघि बढेको छ । हालैका महिनामा तालिबानले देशको ठूलो क्षेत्रमा नियन्त्रण कायम गरिसकेको छ । जरन्ज तालिबानको कब्जामा आएको पहिलो प्रान्तीय राजधानी हो । तालिबानले अफगानिीतानका छिमेकी देशसँग जोड्ने महत्वपूर्ण सीमा चौकीमा पनि कब्जा जमाएको छ र पश्चिमी हेरात र दक्षिण कान्धारजस्ता ठूला सहरमा कब्जाको अभियान तीव्र बनाएको छ । 

यसैबीच न्युयोर्कमा संयुक्त राष्ट्रसंघका अफगानिीतानका लागि विशेष दूत डेभोरो ल्योंसले तालिबानको राजनीतिक समाधानको बाचामाथि प्रश्न उठाउँदै युद्ध खतरनाक र विनाशकारी स्थितिमा पुगेको बताएकी छन् । उनले यो युद्धले केही वर्षअघिको सिरिया र केही दशकअघिको सारायेबोको याद दिलाइरहेको उल्लेख गरेकी छन् । संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेनजियाले अफगानिस्तान युद्धमा फस्ने खतरा अब वास्तविक लागिरहेको बताएका छन्  । तालिबानसँग जोडिएका स्रोतका अनुसार जरान्जमा जितको खुसियाली मनाइरहेका छन् । यो जितले तालिबानको हौसला बढाएको छ । इरानको सीमासँग जोडिएको जरान्ज रणनीतिक महत्वको क्षेत्र हो । 

सरकारी अधिकारीको हत्या

काबुलमा तालिबानले सरकारको मिडिया तथा सूचना विभागका प्रमुख दावा खान मेनापालको हत्या गरेका छन् । तालिबानले लोकतान्त्रिक रुपमा चुनिएका राष्ट्रपति असरफ घानीको सरकारलाई कमजोर बनाउन राजनीतिक हत्या समेत गरिरहेको छ । अफगानिस्तानस्थित अमेरिकी राजदूत रस विलसनले मेनावालको मृत्युप्रति दुःख व्यक्त गर्दै यो हत्या अफगानिस्तानमा मानवअधिकार अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला भएको बताएका छन्। ह्वाइट हाउसले एक वक्तव्य जारी गर्दै तालिबानको यस प्रकारको कृत्यले उसलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त नहुने बताएको छ।

तालिबान वैश्विक मञ्चमा राजनीतिक मान्यताको आकांक्षा राख्दै आएको छ। ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले पत्रकारसँग भने, ‘उनीहरुले यो मार्ग छाड्नुपर्छ । आफ्नो सैन्य अभियानको सट्टा यो ऊर्जा शान्ति प्रक्रियामा लगाउनुपर्छ ।’ हालैका दिनमा तालिबानले केही सामाजिक कार्यकर्ता, पत्रकार, अधिकारीहरु, न्यायाधीस र नेताहरुमाथि निशाना बनाएका छन् । उनीहरु अफगानिीतानमा उदारवादी इस्लामिक सरकार जोगाउने अभियानमा छन् ।

तालिबानले विरोधका सबै आवाज बन्द गर्न चाहेको रुपमा यी घटनालाई हेरिएको छ । अर्कोतिर तालिबानले सीमावर्ती इलाकामा आफ्नो पकड बलियो बनाउनका लागि सरकारी सैनिक र सरकार समर्थक लडाकूमाथिको हमला तीव्र पारेको छ । जोवजान प्राप्नतमा अब्दुल रशीद दोस्तम मिलिसिया र सरकारी सेनाका कम्तिमा १० जना मारिएका छन् । जोवजानका डेपुटी गभर्नर अब्दुल कादिर मालियाका अनुसार तालिबानले यसै साता प्रान्तको राजधानीको बाहिरी क्षेत्रमा हमला गरेका थिए । 

कति ठूलो जित

तालिबान समूहले ट्विटरमा एक पोस्ट गरेर आफ्नो जित घोषणा गरेको छ । समूहका एक कमाण्डरले लेखेका छन्, ‘यो सुरुवात हो र हेर्नुहोला कि कति छिटो हाम्रो झोलीमा कति प्रान्त गिर्छन् ।’ कतिपय अधिकारीहरुलाई आफ्नो परिवारसहित इरान जाने अनुमति दिइएको छ । सरकारले भने अहिलेसम्म जरन्जमा आफ्नो नियन्त्रण पूर्ण रुपमा गुमेको पुष्टि गरेको छैन । सामाजिक सञ्जालमा भाइरल बनेको एक तस्बिरमा आम मानिसले सरकारी कार्यालयबाट सामान लुट्दै गरेको देखिएको छ । जरन्जमा जित हासिल गर्नुले तालिबानको अभियानलाई थप तीव्र बनाउन सक्ने अनुमान गर्न थालिएकाे छ । बीबीसी