३२औँ ओलम्पिक: आज समापन हुँदै, ८ स्वर्णका लागि प्रतिस्पर्धा बाँकी

३२औँ ओलम्पिक: आज समापन हुँदै, ८ स्वर्णका लागि प्रतिस्पर्धा बाँकी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण २४, २०७८

जापानको टोकियोमा जारी ३२औँ ओलम्पिक आजदेखि सकिँदै छ । गत २३ जुलाईमा औपचारिक उद्घाटन भएको ओलम्पिक आज समापन हुन लागेको हो । समापन समारोह नेपाली समयअनुसार अपराह्न ४ बजेर ४५ मिनेटमा सुरु हुँदै छ । 

ओलम्पिकको अन्तिम दिन आज ८ स्वर्ण पदकका लागि खेल हुँदै छन् । आज वाटर पोलो, महिला भलिबल, जिम्न्यास्टिक, पुरुष म्याराथन, साइक्लिङ ट्याक, महिला ह्याण्डबल, जम्पिङ र बक्सिङका खेल हुँदै छन् । आज भएको जम्पिङमा स्विडेनले स्वर्ण जितिसेकेको छ । पुरुष म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका छन् ।​

सापोरो ओडोरी पार्कमा आइतबार निर्धारित दूरी २ घण्टा ८ मिनेटमा ३८ सेकेन्डमा पूरा गर्दै किपचोगेले स्वर्ण पदक जितेका हुन् ।

टोकियो ओलम्पिकमा हालसम्म पदक तालिकामा ३८ स्वर्णसहित चीन अग्र स्थानमा रहेको छ । उसलाई अमेरिका ३६ स्वर्णसहित पछ्याइरहेको छ ।