जापानबाट आइपुग्यो ३ लाख डोज एस्ट्राजेनेका खोप

जापानबाट आइपुग्यो ३ लाख डोज एस्ट्राजेनेका खोप

रासस  |  स्वास्थ्य  |  श्रावण २४, २०७८

जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब ३ लाख खोप आइपुगेको छ । 

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको ३ लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै शनिबार ५ लाख मात्रा खोप आएको थियो । बाँकी खोप एक सातापछि आउने मन्त्रालयले जनाएको छ । 

यसअघि शुक्रबार भूटानबाट २ लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ । हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप स्वदेश आइपुगेको छ । नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन । 

यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ । चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै, गाभीबाट ३ लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जोन्सन एण्ड जोन्सन खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरिएको छ । खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै संक्रमण फैलन सक्ने देखिएपछि सरकारले एक हजार ४३३ खोप केन्द्र थप गरेको हो । पहिले २ हजार ९८९ खोप केन्द्र भएकामा अहिले त्यो संख्या ४ हजार ४२२ पुर्‍याइएको छ । काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पुर्‍याइएको छ ।