३२औँ ओलम्पिक: भलिबलमा अमेरिकालाई स्वर्ण

३२औँ ओलम्पिक: भलिबलमा अमेरिकालाई स्वर्ण

रासस  |  खेलकुद  |  श्रावण २४, २०७८

विश्वखेलकुदको कुम्भमेला ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले २ पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३-० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्ण पदक हो ।

यसअघि अमेरिका ३ पटक फाइनलमा पुगे पनि रजत पदकमा चित्त बुझाउन बाध्य बनेको थियो । अमेरिकाले सन् १९८४, २००८ र २०१२ मा रजत पदकमा चिक्त बुझाउनुपरेको थियो । फाइनल खेलमा अमेरिका सन् १९८४ मा चीनसँग तथा २००८ र २०१२ मा ब्राजिलसँग पराजित भएको थियो । 

अमेरिकाले पहिलो सेटमा २५-२१ को सहज जीत निकाल्यो । दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१४ को सहज जीत निकाल्दै विजयी हुन सफल भयो । त्यसअघि आजै भएको अर्को खेलमा सर्वियाले कास्य पदक हात पार्‍यो । सर्वियाले दक्षिण कोरियामाथि ३-० को सोझो सेटमा जीत निकाल्दै कास्यपदक जितेको हो । सर्वियाले २५-१८, २५-१५ र २५-१५ को सोझो सेटमा जीत निकालेको थियो ।