डेनमार्क र 'द विगस्' : पहिलो पटक झण्डा प्रयोगमा ल्याउने देश र पार्टी

डेनमार्क र 'द विगस्' : पहिलो पटक झण्डा प्रयोगमा ल्याउने देश र पार्टी

नरेश काङमाङ राई  |  दृष्टिकोण  |  श्रावण २५, २०७८

राष्ट्रिय झण्डा

विश्वमा धेरै देशहरूको झण्डाको बनावट मिलेको पाइन्छ । नेपाल, स्विट्जरल्याण्ड र भ्याटिकन सिटीका झण्डा अन्य देशहरूका भन्दा फरक छन् । नेपालको झण्डालाई विश्वमा ‘टिपिकल’ झण्डाको रूपमा मानिन्छ । 

विश्वको सबैभन्दा पुरानो र प्रयोगमा ल्याएको झण्डा डेनमार्कको हो, जुन झण्डालाई ‘डनबर्ग’ भनिन्छ । १५ जुन १२१९ देखि निरन्तर डेनमार्कले ‘डनबर्ग’लाई राष्ट्रिय झण्डाको रूपमा प्रयोगमा ल्याएको छ । तर, उक्त झण्डालाई आधिकारिक रूपमा सन् १६२५ मा मात्र मान्यता दिइएको हो (यास माराठी, ४ मार्च २००६, द टाइम्स अफ इण्डिया) ।

आफ्नै देशको राष्ट्रिय झण्डा प्रदर्शनहरूमा जलाएका पाइन्छ । कतै आफ्नो पहिचान र अस्तित्व नसमेटिएको भनी जलाएका छन् भने कतै युद्ध अन्त्य गर्नका लागि जलाएका छन् । सन् १९६७ मा भियतनामसँग भइरहेको युद्धको विरुद्धमा अमेरिकीहरूले न्यूयोर्क शहरको सेन्ट्रल पार्कमा प्रदर्शन गर्दै अमेरिकाको झण्डा जलाएका थिए (जोनाथन जोन, ३० नोभेम्बर २०१६, द गार्डियन) ।

गत वर्ष ग्याल्जेन दोर्जे तामाङले ‘देशद्रोही’ नामक गीतको भिज्युअलमा नेपालको राष्ट्रिय झण्डा जलाएका थिए । भारतका अन्तिम हिन्दु राजा पृथ्वीराज चौहानले बनाएको नेपालको झण्डामा आफ्नो अस्तित्व र पहिचान नभएका कारण झण्डा जलाएको उनको भनाइ थियो ।

विश्वमा कवि, लेखकहरूले झण्डाको विषयमा कविताहरू लेखेका छन् । कसैले झण्डाको विरुद्ध लेखेका छन् भने कसैले झण्डाको गुणगान गर्दै लेखेका छन् । राष्ट्रिय झण्डाको विषयमा लेखिएको कवि चन्द्रवीर तुम्बापोको यो कविता ।   

झण्डामुनि

हामीले मुटुमुटुबाट झिकेर रगत
दिएका हौँ जीवन
र त हावासँग
मस्कीमस्की नाचिरहन्छ झण्डा ।

हामीले आङलाई सिनित्तै निचोरेर पसिना
दिएका हौँ हराभरा
र त हिमाल सामुन्ने
ठाडै चम्किएको छ झण्डा ।

यसरी
हामीले हाम्रो
मासुको रेसाले चट्ट सिलायौँ
र, अन्त्यमा
हाम्रै नली हाडमा उनेर जब उचाल्यौँ
तर अचम्म !
यो झण्डाको लाम्चो छायामुनि
कहाँ हराए हाम्रो अनुहार ?

पार्टीका झण्डा

विश्वको सबैभन्दा पुरानो राजनीतिक पार्टी हो- ‘द विगस्’ सन् १६७८-१८५९ सम्म यो पार्टी बेलायतमा सक्रिय रहेको पाइन्छ । ६ जुन १८५९ मा यसको नाम परिवर्तन गरी ‘लिबरल’ बनाइएको थियो । 

सन् १८३३-१८५६ सम्म अमेरिकामा पनि यही नामको राजनीतिक पार्टीको स्थापना भएको थियो (द ट्रिब्युन, १९ सेप्टेम्बर १८४४) ।

दोस्रो पुरानो पार्टी हो- ‘द टोरिज् ।’ बेलायतको कन्जरभेटिभ पार्टीको रूपमा अहिले चिनिन्छ यो पार्टी । यो पार्टी सन् १६७८ मा स्थापना भएको हो (ओल्डेस्टडटओआरजी) । अहिले यो पार्टी सत्तामा रहेको छ ।

‘द फेडरलिस्ट’ विश्वको तेस्रो पुरानो राजनीतिक पार्टी हो । यो पार्टी अमेरिकामा खोलिएको थियो । सन् १७८९-१८२४ सम्म यो पार्टी अस्तित्वमा रहेको पाइन्छ (ओल्डेस्टडटओआरजी) ।

पर्टीसँगै झण्डाको पनि जन्म भएको पाइन्छ । पार्टीको झण्डाको विषयमा लेखिएको प्रकाश दिप्सालीको एउटा कविता ।

झण्डा र झोला

जब
मेरो मन-मस्तिष्कमा विवेकले
साम्राज्य जमाउन थाल्यो
तब हजुुरले झण्डा र झोला
मेरो काँधमा थमाउनु भा’ हो ।

त्यो बेला
म पनि चिनारीको खोजीमा भौँतारिँदै थिएँ
आँधो, हरिल्वाँठ, गोबर गणेश
यस्तैयस्तै थिए नाम, बेनामहरू
त्यही बेला
अनगिन्ती सपनाको बिस्कुन फिजाउँदै
स्वीकारेको हुँ मैले पनि
दर्शन र सिद्धान्तको ठेलीसँगै
पर्चा र आश्वासनले भरिएका झोलीतुम्बीहरू ।

मधुरो सम्झना छ
सो बेलाको हजुरको आश्वासन-
‘तिम्रो पीडा मैले बुझेको छु
यो झण्डा र झोलालाई मन्त्र सम्झनू
जो पड्काउँदा संसार हल्लिनेछ
जितिनेछ सदियौँदेखिको लडाइँ ।’

अबोधझैँ ‘हुन्छ’को इशारामा मुन्टो मात्र हल्लाइरहेँ ।

हजुरको इशारामा चलेँ
लडेँ लडाइँ
पड्काएँ भरुवा बन्दुक
र, जित्यौँ लडाइँ ।

लाग्यो-
अब मेरो आवाज काठमाडौंमा गर्जनेछ
यो माटो, बाटो र पाटोको न्वारन
मै गर्न पाउनेछु ।

विडम्बना !
त्यसो भएन
बरु सहमति, असहमति, उद्घाटन र समापनका दौडधुपसँगै
मलाई बिस्तारै बिस्तारै गलाउन थाल्नुभो
र, कुनै दिन झोलाभरी दिनुभएको सिद्धान्त र दर्शनहरू
खै केके बहानामा फिर्ता लिनुभो
अब त बिनाहतियारको सिपाहीझैँ भा’ छु ।

सदियौँको समागमपछि
देशले यो बेला पूर्व मेचीदेखि कालीसम्म
नामे, बेनामे सन्तानहरू जन्माएको छ
आफ्नो नाम खोज्दै
शंका र अन्योलबीच एउटा नवजात शिशु
बिराटनगरको शय्यामा छट्पटिरहेको छ
उसको उद्धार गर्नु मेरो कर्तव्य हो
तर, महोदयले हत्केलामा थमाउनुभएको
झण्डा र झोलाले बार लगाइदिएको छ ।

तर, अब
यो छट्पटी लाचार भएर, ट्वाल्ल परेर हेर्न सक्दिनँ
जुगजुगदेखि यसरी नै आफ्नो आफन्त गुमाएको छु
तिनै अबोधहरूको सम्झनामै भए नि
मैले पुरुषार्थ ओकल्ने बेला आएको छ । 

महोदय !
हजुरको यो रित्तो झण्डा र झोला
मलाई निल्नु न ओकल्नु भा’ छ
बरु यो झोलाको गोठालो हुनुको साटो
दुई-चार थान सुन्दर कविता लेख्न पा’को भए
बेस हुन्थेछझैँ लागिरहेको छ ।

महोदय !
आज उप्रान्त हजुरसामु कुनै जिज्ञासा हुनेछैन
र, हजुरलाई मेरो अन्तिम सोधनी छ-
 ‘यो झण्डा र झोला
हजुरकै निवास सिंहदरबार पठाऊँ कि
या त बिराटनगर आसपासकै मूर्दाघाटमा
खुसीसाथ दाहसंंस्कार गरौँ ? ’