चारआना सुन दाइजो दिन बाँकी हुँदा मनीषाको हत्या

चारआना सुन दाइजो दिन बाँकी हुँदा मनीषाको हत्या

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

सिरहा  । सिरहा नगरपालिका–१४ खिरौनाकी मनीषाकुमारी मण्डलको हत्या भएको माइती पक्षले आरोप लगाएको छ । विवाह भएको ६३ दिनमा गत बिहीबार राति २१ वर्षीया मनीषा आफ्नै ओछ्यानमा मृत भेटिएकी थिइन् । उनका बाबु रघुनाथ मण्डलले छोरीलाई यातना दिएर हत्या गरी ‘मृत अवस्थामा भेटिएको’ भन्ने देखाउने षड्यन्त्र भएको आरोप लगाए । 

‘७ वैशाखमा ज्वाइँसहित छोरीलाई बिदा गरेको थिएँ,’ उनले भक्कानिँदै भने, ‘यातनाका कारण छोरीको मृत्यु भएपछि बिरामी छे भन्ने खबर आयो, मोबाइलमा कुरा गर्न खोज्दा सुतिसकेकी छ भन्दै सम्धिनीले कुरासमेत गर्न चाहिनन् ।’मण्डलका अनुसार करिब १५ लाख मूल्य पर्ने घडेरी नौ लाखमा बेचेर एक्ली छोरी मनीषाको गत १६ फागुनमा भएको विवाहमा कबोलअनुसारको चारआना सुन दिइएको थिएन । ‘त्यही सुनका कारण छोरीलाई घरमा पति, सासू, नन्दसहितले लगातार मानसिक तथा शारीरिक यातना दिन थालेको थाहा पाएपछि ३० चैतमा छोरीलाई घरमा ल्याएर ७ वैशाखमा बिदा गरेको थिएँ,’ उनले भने ।

गत १६ फागुनमा गोलबजार चोहर्वाका रघुनाथले एक्ली छोरी मनीषाको सिरहा नगरपालिका–१४ खिरौनाका २२ वर्षीय रामरेश मण्डलसँग सामाजिक परम्पराअनुसार विवाह गरिदिएका थिए । विवाहमा डिस्कभर मोटरसाइकल, एकतोला सुन, लत्ताकपडा, भाँडाकँुडा, भोजभतेरसहित करिब १० लाख रुपैयाँ खर्च भएको उनले सुनाए । ‘विवाहकै वेलामा डिस्कभर मोटरसाइकल, नगद डेढ लाखसहित सवातोला सुन दिने कबोल गरे पनि खर्चले नपुगेपछि चारआना सुन बाँकी थियो,’ उनले भने, ‘विवाहमण्डपमै ज्वाइँले त्यसबारे विवाद झिकेका थिए, साथै कन्यादानका वेलामा मनीषाकी मामाले दिएको बाच्छीको पनि नगद नै माग गरेका थिए ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।