‘कोभिसिल्ड’को दोस्रो मात्रा आजदेखि लगाइँदै

‘कोभिसिल्ड’को दोस्रो मात्रा आजदेखि लगाइँदै

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण २५, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोभिड- १९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो मात्राका रूपमा ‘एस्ट्राजेनिका’ खोप आज र भोलि दिन थालिएको हो । 

भूटान र जापानबाट ‘एस्ट्राजेनिका’ खोप आइसकेपछि मन्त्रालयले कोभिसिल्डका रूपमा उक्त खोप लगाउन थालेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । 

उनले कोभिसिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै सूत्रमा बनेकाले लगाउन केही फरक नपर्ने जनाउँदै कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रूपमा एस्ट्राजेनिका लगाइएको बताए । करिब साढे ४ महिनापछि कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाएका हुन् । 

भूटानबाट २ लाख ३० हजार र जापानबाट ५ लाख १३ हजार खोप आइसकेपछि ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको हो । गत २३ फागुनदेखि १० चैतसम्म ६५ वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिसिल्ड’को पहिलो मात्रा लगाइएको थियो । तर, दोस्रो मात्राका लागि खरिद गरिएको खोप भारतबाट नआएपछि ती ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिएनन् । 

'कोभिसिल्ड' उत्पादक भारतीय कम्पनी सिरम इन्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिसिल्ड’ खोप दिन नसक्ने बताएपछि मन्त्रालयले ‘कोभिसिल्ड’ सट्टामा त्यस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने निर्णय गरेको थियो । खोप भोलिसम्म संचालन हुनेछ । उपत्यकामा १४९ वटा खोप केन्द्रबाट उक्त खोप प्रदान गर्न लागिएको हो ।