जसपाबाट १६ जना हटाइए, सांसद पद कायमै

जसपाबाट १६ जना हटाइए, सांसद पद कायमै

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २५, २०७८

जनता समाजवादी पार्टी (जसपा)ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ ।

जसपाका २ समूहको विवादमा निर्वाचन आयोगले गत ११ साउनमा उपेन्द्र यादव खेमालाई आधिकारिकता दिएको थियो । यादव खेमाले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ । आधिकारिकता विवादमा आयोगले 'हेड काउन्ट' गर्दा यादव खेमामा उभिएका ३४ जना र तटस्थ बसेका रेशम चौधरीको नाम मात्र केन्द्रीय कार्यकारिणी समितिमा राखिएको छ ।

आयोगको सोमबार बसेको बैठकले जसपाले पठाएको नयाँ कार्यकारिणी समितिको विवरण अद्यावधिक गर्ने र ५१ सदस्यीय समितिलाई ३५ सदस्यीय बनाउने निर्णय गरेको पनि बताइएको छ ।

कार्यकारिणी समितिबाट हटाइएका १६ जनालाई पार्टीको साधारण सदस्यबाट भने हटाइएको छैन । यस कारण पार्टीबाट हटाए पनि उनीहरूको सांुद पद भने गएको छैन । कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याएमा र अलग पार्टी बनाएमा भने उनीहरूको सांसद पद जानेछ ।

जसपाले १ र २ भदौमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । पार्टीको विधानमा केन्द्रीय समिति ८०० सदस्यीय हुने भनिएको भए पनि ७७९ जना मात्र थिए ।