आज संसद बैठक बस्दै, अर्थमन्त्रीले श्वेतपत्र पेस गर्ने

आज संसद बैठक बस्दै, अर्थमन्त्रीले श्वेतपत्र पेस गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २६, २०७८

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरेको छ ।

आजको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका २ वटा विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल गर्नेछन् ।

योगीले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ तथा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रतिनिधिसभामा टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

यसैबीच अर्थमन्त्री जनार्दन शर्माले वर्तमान अवस्थाको यथार्थ आर्थिक परिदृश्यको विवरण श्वेतपत्र आज संसदमा पेस गर्ने तयारी गरेका छन् ।

संसद सचिवालयले आजको संसद बैठकका लागि तयार पारेको सम्भावित कार्यसूचीमा श्वेतपत्रको विषय समावेश गरिएको छैन । अर्थ मन्त्रालयका अधिकारीहरूले भने आजको बैठकमा श्वेतपत्र पेस गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन् ।

अर्थमन्त्रीको कार्यभार सम्हालेपछि शर्माले वर्तमान अवस्थाको चित्रण गर्ने गरी यथार्थपत्र सार्वजनिक गर्ने बताएका थिए । यसअघि २०७४ चैतमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले पनि श्वेतपत्र सार्वजनिक गरेका थिए ।

सरकारले ल्याउने श्‍वेतपत्रमा पछिल्लो ३ वर्षको आर्थिक अनुशाससनको अवस्था चित्रण गरिने बताइएको छ ।