तुइन घटना छानबिनका लागि गएको टोली ८ दिनपछि दार्चुलाबाट फर्कियो

तुइन घटना छानबिनका लागि गएको टोली ८ दिनपछि दार्चुलाबाट फर्कियो

रासस  |  समाचार  |  श्रावण २६, २०७८

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समिति ८ दिनपछि दार्चुलाबाट फर्किएको छ । गत १५ साउनमा तुइनबाट सो नदी तर्नेक्रममा धामी  बेपत्ता भएका थिए ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका छन् । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म पुगेर घटनाबारे जानकारी लिने र महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।

धामीको खोजीमा ड्रोन क्यामेरा प्रयोग गरिँदै छ । यसका लागि नेपाल प्रहरीको प्राविधिक टोली जिल्लामै छ । भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन प्रयोगका लागि अनुमति दिने वा नदिनेबारे जबाफ पठाएको छैन ।

स्वदेशी भूभागबाट ड्रोन  प्रयोग गर्ने तयारी छ । सीमा क्षेत्रमा ड्रोन उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ । ड्रोन क्यामेरा लिएर टोली आइतबार दार्चुला आइपुगेको हो । व्यास गाउँपालिका- २ मालघाटबाट सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोनको प्रयोग गरिने जनाइएको छ ।

सरकारले छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको छ । गत १७ साउनमा गठित छानबिन समितिले बुधबारसम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।

समितिले अझै काम सकेको छैन । छानबिन समिति बैतडी, महेन्द्रनगर हुँदै काठमाडौं फर्किने समितिका सदस्य एवं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिइन् ।

सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी भट्ट छन् ।

छानबिन समितिले जिल्लामा रहँदा नेपाल-भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीय र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना संकलन गरेको थियो ।