उपत्यकामा ‘नो हर्न’ अभियान

उपत्यकामा ‘नो हर्न’ अभियान

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण २६, २०७८

उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ । उपत्यकामा १ वैशाख २०७४ देखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि हर्नको प्रयोगमा कमी आउनुका साथै सुरुवाती दिनमा यसको कार्यान्वयन प्रभावकारी भएको थियो । यद्यपि, कोभिड- १९ का कारण पछिल्ला दिनमा क्रमशः हर्नको प्रयोगमा वृद्धि हुँदै गएकाले प्रहरीले पुन: अभियान सुरु गरेको हो ।

स्टिकर चालकले देख्ने गरी अगाडिको सिसामा टाँस गरिएको छ । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले उक्त अभियानलाई प्रभावकारी बनाउन आजैदेखि उपत्यकाका ३८ ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टिकर टाँस गरी अभियान सुरु गरेको जानकारी दिए । उनले केही समययता अनावश्यक हर्नको प्रयोगमा क्रमश: वृद्धि भइरहेको महसुस गरी थप कडाइ गर्न थालिएको बताए । उनले अतिआवश्यक नपरी हर्नको प्रयोग नगर्न पनि अनुरोध गरे । यसरी प्रयोग गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने जनाइएको छ । अनावश्यक रूपमा हर्न बजाउँदा ध्वनि प्रदूषण हुने गरेको छ ।