जथाभावी कार रोक्नुहुन्छ ? १० हजार जरिमानामा परिएला

जथाभावी कार रोक्नुहुन्छ ? १० हजार जरिमानामा परिएला

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २६, २०७८

जथाभावी सवारी साधन रोक्नेदेखि बिरुवाका हाँगा भाँच्नेलाई काठमाडौं महानगरले कारबाही स्वरूप जरिमाना गर्ने भएको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को व्यवस्थाअनुसार काठमाडौं महानगरपालिकाले आर्थिक ऐन, २०७८ जारी गर्दै कारबाही गर्ने भएको हो ।

महानगरले रूख बिरुवाको हागाँ भाँच्ने वा काट्ने तथा फूल टिप्ने वा पात चुँड्नेलाई एक हजार रुपैयाँ जरिमाना गर्ने भएको हो । सार्वजनिक सवारी साधन बिसौनीबाहेकका स्थानबाट यात्रु ओराल्ने वा चढाउने गरेमा र चालक तथा सहचालकले तोकिएको पोसाक नलगाएमा १००/१०० रुपैयाँ जरिमाना गर्नेछ ।

पिक एण्ड ड्रप पद्धति लागू भएका स्थानमा तोकिएको बाहेक सवारी साधनले यात्रु ओराल्ने वा चढाउने गरेमा ४०० रुपैयाँ जरिमाना लिने उल्लेख गरिएको छ । महानगरले आर्थिक वर्ष २०७८/०७९ को अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयनका लागि स्थानीय कर, शुल्क, दस्तुर र जरिमाना संकलन गर्न, छुट दिन तथा अन्य आयय संकलनको प्रशासनिक व्यवस्था गर्न उक्त ऐन जारी गरेको हो ।

उक्त ऐन १ साउनदेखि लागू भइसकेको छ । उक्त ऐनअनुसार महानगरले अनाधिकृत स्थलमा सवारी साधन पार्किङ गरेको पाइएमा मोटरसाइकललाई १ हजार र ३ पाङ्ग्रे सवारी साधनलाई २ हजार रुपैयाँ जरिमाना गर्ने भएको छ ।

यस्तै, १ हजार सीसीसम्मको सवारी साधनको २ हजार ५००, १ हजार सीसीदेखि १ हजार ५०० सीसीसम्मका लागि ५ हजार, १ जार ५०० देखि २ हजार २०० सीसीसम्मका साधनका लागि ७ हजार र २ हजार २०० सीसीभन्दा माथिका सबै सवारी साधनलाई १० हजार रुपैयाँ जरिमाना गर्ने भएको छ ।