ज्यानमारा बन्दै नाता–सम्बन्ध

ज्यानमारा बन्दै नाता–सम्बन्ध

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

लहान । सप्तरीको राजविराज नगरपालिका–७ की २६ वर्षीया नजराना खातुनलाई तीन वर्षअघि सासू बानो खातुन र जेठानी नुरजहाँ खातुनले जिउँदै जलाएर हत्या गरे। ९० प्रतिशत शरीरको भाग जलेकी उनको उपचारका क्रममा मृत्यु भएको थियो। नजराना खातुनलाई सासू र जेठानीले आगो लगाई कर्तव्य गरी मारेको अभियोगमा प्रहरीले मुद्दा चलायो। उनीहरू दुवै अदालतको आदेशमा जेल चलान भए। स्थानीयका अनुसार दाइजोको निहुँमा नजरानाले सासू र जेठानीबाट लामो समयदेखि घरेलु हिंसा खप्दै आएकी थिइन्। हिंसा सहन नसकेर प्रतिवाद गर्दा उनको हत्या भयो।

दाइजोलगायत निहुँमा घरेलु हिंसा खप्दै आएका बुहारीहरू प्रतिवादमा उत्रँदा आफन्तबाट हत्या हुने गरेको विकृत सिलसिलाकी प्रतिनिधि पात्र हुन् नजराना। मधेसमा अनेकौं बुहारीहरू नजरानाको नियति बेहोरिरहेका छन्। २०७६ वैशाख ५ गते धनुषा सहिदनगर नगरपालिका–१ की २० वर्षीया निर्मला यादवलाई पति मुकेश यादवले शरीरमा मट्टीतेल खन्याएर आगो लगाइदिए। काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा वैशाख १६ गते निर्मलाको निधन भयो। घटनापछि फरार मुकेशलाई प्रहरीले खोजिरहेको इलाका प्रहरी कार्यालय सबैलाका निरीक्षक चन्द्रभूषण यादवले बताए। ‘अहिलेसम्म घटनाको कारण घरायसी विवाद भनिएको छ,’ निरीक्षक यादवले भने, ‘प्रतिवादी मुकेश पक्राउ परेपछि घटनाको यथेष्ट कारण खुल्नेछ।’

वैशाख १२ गते बिहीबार सिरहा कल्याणपुर नगरपालिका–८ औरंग टोलकी २० वर्षीया कञ्चन मण्डल (खत्बे) लाई सासू सुरजी मण्डल र पति बेचन मण्डल (खत्बे) मिलेर मट्टीतेल खन्याएर आगो लगाइदिए। आगोबाट शरीरको ८० प्रतिशत भाग जलेकी उनले जीवनका लागि करिब २० घण्टा संघर्ष गरिन्। आफूमाथि पति, सासू र नन्दले गर्दै आएको हिंसात्मक व्यवहारको भारी बुबा रामलोचनसामु बिसाएर कञ्चनले काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा शुक्रबार जीवन यात्रा अन्त्य गरिन्। बिहीबार दिउँसो आफूमाथि पति र सासूले कुटपिट गर्नेगरेको घटना कञ्चनले फोनमा बुबा रामलोचनलाई रुँदै जानकारी गराएकी थिइन्। कञ्चनले बुबासँग आफूहरूले दिएको यातना बयान गरेको सुनेका बेचन र सुरजी उनीमाथी झम्टिए। बेचनले पछाडिबाट मट्टितेल छर्किदिएर सलाई कोरे। सुरजीले पनि अर्को काँटी कोरेर आगो थपिन्। साडी पहिरिएकी कञ्चनको शरीरमा आगो दन्किन थालेपछि बेचन टाप कसे। तर सुरजी अलमलमा परेर घरमै घेरिइन।