लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २७, २०७८

प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरु हुनुअघि नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा रहेका छन् । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् ।

एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी ३ फागुन २०७४ मा पहिलो पटक र गत १९ वैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

दोस्रो पटक अल्पमतमा पर्दापर्दै असंवैधानिक ढंगले नियुक्त भएको भन्दै विपक्षी दलहरूले बहुमत सिद्ध गर्न वा राजीनामा दिन निरन्तर माग गर्दै आएका थिए । गत ३१ असारमा प्रदेशसभामा बजेट पास गर्न आवश्यक बहुमत नपुगेपछि मुख्यमन्त्रीकै नेतृत्वमा सत्ता पक्षले प्रदेशसभा बैठक बहिष्कार गरी अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याइएको थियो ।

१९ साउनमा ४ वटा विपक्षी दलको गठबन्धनका ३४ जना सांसदले मुख्यमन्त्रीविरुद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसअघि ६ वैशाखमा पनि पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसमाथि छलफल गर्न १९ वैशाखमा विशेष अधिवेशन बोलाएकै दिन बिहान पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । विपक्षी गठबन्धनसँग कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

संसदमा स्पष्ट अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिएका हुन् ।