राष्ट्रिय वाणिज्य बैंकले संचालनमा ल्यायो क्रेडिट कार्ड सेवा

राष्ट्रिय वाणिज्य बैंकले संचालनमा ल्यायो क्रेडिट कार्ड सेवा

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २७, २०७८

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पनि क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई क्रेडिट कार्ड हस्तान्तरण गरी मंगलबार सेवा सुरु गरेका हुन् ।

उनले ग्राहकको चाहनाअनुसार नयाँनयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने भन्दै यो सेवाले ग्राहकलाई आर्थिक कारोबार गर्न सहज हुने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्डको शुभारम्भपछि बैंकिङ सेवा पूर्णतया डिजिटल बनाउनेतर्फ बैंक अगाडि बढेको बताए । उनका अनुसार नेपाल, भारत र भूटानमा प्रवाह हुँदै आएको यो सेवा अब बैंकका सबै शाखा कार्यालयबाट पनि उपयोग गर्न सकिनेछ ।

उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले ग्राहकको क्षमताका आधारमा बैंकले २० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिन सकिने जानकारी दिए । उनका अनुसार क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ र तोकिएको सीमाभित्र रहेर नगद झिक्न सक्नेछन् ।

बैंकले हाल ७७ जिल्लामा २४७ शाखा, २०९ एटीएम र ९८ शाखारहित बैंकिङ सेवा दिँदै आएको छ ।