विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरे पदबहाली

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरे पदबहाली

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २७, २०७८

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी कुलमान घिसिङले पदबहाली गरेका छन् । कार्यकारी निर्देशक घिसिङले बुधबार रत्नपार्कस्थित  प्राधिकरणको केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन् 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । २०७३ भदौमा कार्यकारी निर्देशकमा नियुक्त घिसिङले आफ्नो ४ वर्ष कार्यकाल पूरा गरी गत वर्षको भदौमा प्राधिकरणबाट बिदा भएका थिए ।

पदबहालीपछि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा घिसिङले आफ्नो  व्यक्तिगत जीवनकै सैभन्दा ठूलो चुनौती स्वीकारेर आएको र सरकारले दिएको जिम्मेवारी दृढताका साथ वहन गरी आमशुभेच्छुकहरूको विश्वासलाई फेरि पनि अझ उचाइमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

‘म विद्युत प्राधिकरणमा आउनै पर्छ भन्ने थिएन, सरकारले दिएको जिम्मेवारी र मलाई प्राधिकरणमै रहेको देख्न चाहने सर्वसाधारणको अपेक्षालाई पूरा गर्न जीवनकै सबैभन्दा ठूलो जोखिम मोलेर आएको छु’, उनले भने, ‘विगतमा गलत काम भएको भए सच्याउने, राम्रा कामलाई अगाडि बढाउने र नयाँ कार्यक्रम सुरु गर्ने भिजनसहित आएको छु । कसैको कुरा काट्ने र विरोध गर्नेभन्दा पनि सरकारकाले दिएको निर्देशन तथा कार्ययोजना कार्यानयनका गर्न कठोर भएर काम गर्नुपर्नेछ ।’

सुशासनमा कठोर बन्दै सेवा प्रवाहलाई अझै सुधार गर्नु आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै घिसिङले अहिले आमउपभोक्ताले गुनासो गर्ने गरेको झ्याप्पझ्याप्प बत्ती जाने समस्या समाधान गरी विद्युत आपूर्तिको गुणस्तर तथा विश्वसनीयता सुधारमा केन्द्रित हुने प्रतिबद्धता जनाए ।

‘विगतमा हासिल भएका उपलब्धिलाई संस्थागत गर्नु, उत्पादित विद्युत खपत बढाउने तथा बजार व्यवस्थापन गर्ने, विद्युत आपूर्तिको नियमितता र गुणस्तर वृद्धि गर्ने, उत्पादन, प्रसारण तथा वितरणतर्फका निर्माणाधीन आयोजनाको काम सम्पन्न गर्ने र नयाँ सुरुवात गर्ने, विद्युतीकरण गर्ने, संस्थागत सुशासन कायम गरी सेवा प्रवाह सुधार गर्नेतर्फ केन्द्रित हुनेछौँ, उनले भने ।

कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले अहिलेको चुहावट हटाउन, संस्थाको नाफा बढाउन कार्यकारी निर्देशक घिसिङको कार्यकाल सफल हुने विश्वास व्यक्त गरे । ‘बिरामी प्राधिकरणको उपचारका लागि कार्यकारी निर्देशक डाक्टर भएकाले संस्थालाई बचाउन शल्यक्रिया गर्ने, काट्ने उहाँकै हातमा छ’, कोइरालाले भने ।