शक्तिखोर औद्योगिक क्षेत्र निर्माण ४ वर्षदेखि अलपत्र

शक्तिखोर औद्योगिक क्षेत्र निर्माण ४ वर्षदेखि अलपत्र

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २९, २०७८

चितवनको शक्तिखोरमा बन्ने भनिएको औद्योगिक क्षेत्रको निर्माणको काम अझै अघि बढ्न सकेको छैन । कालिका नगरपालिकाको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनेर घोषणा भएको ४ वर्ष ३ महिना पूरा भएको छ । 

४ वर्षसम्म औद्योगिक क्षेत्रको काम डीपीआरमा सीमित छ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री हुँदा ३ फागुन २०७३ को मन्त्रिपरिषद्ले शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेको थियो ।

औद्योगिक क्षेत्र व्यवस्थापनका प्रमुख नन्दकिशोर बस्नेतले शक्तिखोर औद्योगिक क्षेत्रको रूख कटानको काम मात्र नभएको अन्य सबै सकिएको जानकारी दिए । ‘वन विभागअन्तर्गत यसको काम अगाडि बढ्ने हो, अहिले कोरोनाको कारणले गर्दा काम अगाडि नबढेको हो', उनले भने । 

अब भदौदेखि रूख कटानको प्रक्रिया अगाडि बढ्ने बस्नेतको भनाइ छ । ‘वातावरणीय प्रभाव मूल्यांकन, बिस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ’, प्रमुख बस्नेतले भने, ‘काम अगाडि बढ्न नसकेको वनका कारणले हो, पछिल्लो समय कोरोनाको कारणले हो ।’

४ वर्षभित्रमा औद्योगिक क्षेत्र पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य राखिए पनि हालसम्म कागजमै सीमित हुँदा कालिका नगरपालिकासमेत अन्योलमा परेको छ । कालिका नगर प्रमुख खुमनारायण श्रेष्ले भने, ‘यस पटक शक्तिखोर औद्योगिक क्षेत्रलाई बजेट परेन, फिल्डमा काम भएको देखिएको छैन । यसको प्रक्रिया कहाँसम्म पुगेको छ, मैले पनि बुझ्न बाँकी छ ।’

स्थानीयबासी तथा उद्योगी शक्तिखोर औद्योगिक क्षेत्र अगाडि बढ्न नसक्दा निराश बनेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापनका अनुसार एक हजार ७४१ बिघा क्षेत्रफल रहेकोमा उद्योगका लागि एक हजार १७८ बिघा क्षेत्रफल मात्र उपयोग गर्न पाइने सरकारले घोषणा गरेको थियो । कालिका नगरपालिकाको वडा नम्बर ३, ८, ७ र इच्छाकामनाको वडा नं.- ७ लाई छोएर औद्योगिक क्षेत्र बनाउने घोषणा भएको थियो । यहाँ करिब २ लाख ५० हजारको हाराहारीमा रूखहरू छन् । यी रूखहरूमध्ये एक लाख ५५ हजार कटानका लागि तयारी छ । 

‘नेपालमा कति आयोजनाहरू वनका कारण अगाडि बढ्न सकेका छैनन्, शक्तिखोर औद्योगिक क्षेत्र पनि यसको सिकार भएको हो । पछिल्लो समय कोरोनाले थला पारेको छ । कोरोनाको समस्या समाधान भएपछि यसको शिलान्यास गर्छौं’, व्यवस्थापनका प्रमुख बस्नेतले भने ।

उद्योग संघ चितवनका पूर्वअध्यक्ष भेषराज दुवाडीले शिलान्यास गर्ने तयारी हुँदाहुँदै देशमा भएको राजनीतिक उतारचढावले औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम रोकिएको बताए । ‘कागजको काम त पूरा भएको छ तर कति रूख कटान गर्ने, कति रोप्ने भनेर यसको प्रक्रिया अघि बढेको छैन’, उनले भने ।

‘रूख कटानको टेन्डर मात्र लगाएको भए यतिबेला काम भइरहने थियो, त्यो पनि हुन सकेन’, उनले भने, ‘कुनै आयोजना सम्पन्न गर्न ढिलो गर्ने नेपालको राजनीतिक प्रणाली नै छ, यहाँ पनि त्यही देखियो ।’

औद्योगिक क्षेत्र निर्माणका लागि पहलकदमी गर्दै आएको चितवन उद्योग संघका कार्याकारी निर्देशक गाशेणप्रसाद सिलवालले ११५ वटा उद्योगले ३१५ बिघा क्षेत्रफल आवश्यक परेको भन्दै निवेदन दिएको जानकारी दिए ।