बेलायतमा बरालिद

बेलायतमा बरालिद

मगेन किराँत भोजपुरे  |  साहित्य  |  श्रावण २९, २०७८

बेलायतमा बरालिन मलाई
धेरै धेरै बहाना छ !

घुम्नको लागि,
सिंहदरबार जस्तै 
बकिङ्घम प्यालेस छ,
 बालुवाटार जस्तै
बोरिस जोन्सनको वेस्टमिनिस्टर छ,
बेलायत मा बरालिन मलाई
धेरै धेरै बहाना छ !

त्यसो त,
सारै दिक्दारी लागे,
नौका बिहार गर्न
फेवाताल जस्तै
उल्सवाटर ताल छ,
गर्मी छल्न मन लागे
भेडेटार जस्तै
बेन नेभिस डाँडा छ।
बेलायतमा बरालिन मलाई
धेरै धेरै बहाना छ !

कोरोना कहरले 
मुखमा मोहोला लाउँदा लाउँदा
सास थुनिएर निसास्सिए
त्रिभुवन पार्क जस्तै
हरियाली ग्रीनविच पार्क छ
बाग्मती नदि तर्न
शङ्खमुल पुल जस्तै
थेम्स नदि पार गर्न
लन्डन टावर ब्रीज छ।
बेलायतमा बरालिन मलाई
धेरै धेरै बहाना छ ! 

त्यसो त,
दिमागलाई अर्जाप्न
बृटिस लाईब्रेरी छन्
क्याम्बृज, अक्स्फोर्ड 
विश्व बिध्यालयहरु छन
इतिहास खोतल्न
भक्तपुर दरबार स्क्वायर जस्तै 
केन्टबरि क्याथेड्रलहरु छन्
बेलायत मा बरालिन मलाई
धेरै धेरै बहाना छ !

के छैन बेलायतामा ?
ऋतुहरु सङ्गै फुल्ने 
अनेकौ फूलहरु छन,
आँखा लोभ्याउने,
गुलाफ, लिलि, पप्पी 
साकुरा, ज्याकारान्डा, क्यामेलिया जपोनिका छन्,
दिनमा झुल्किने घाम
रातमा उदाउने जून तारा
पाईला सङ्गै पछ्याई रहने
हरक्षण झस्काईरहने
तिनको तिख्खर याद
सबै सबै छन् !
शेक्सपियर बाजेको 
शहरको घुम्तिमा
आखा जुधाउन आउनेहरु अनगिन्ती छ्न्,
तर ति आँखाहरु
मेरो बा आमाका जस्ता मायालु छैनन्,
मेरो प्रेयसी का जस्ता प्रेमिल छैनन
र छैनन
रानिपोखरी र रिङरोडको डिलमा
दोहोरिलत्त फुल्ने शिरिषको फूल जस्तो
मेरो गाउमा फुल्ने
चाप, गुरास, ईन्द्रकमल,
सयपत्री, बुकि, बाबरी जस्तो,
लन्डन मा फक्रीएको फूलको 
मिठो बास्ना छैन !
तराईका बिशाल फाटहरु जस्तै 
यहाका ठुल्ठुला हरियाली टारहरुको माटोमा
खै किन किन !
नेपाली  सुगन्ध छैन,

त्यसैले,
ए समय !
मलाई लन्डन आईको 
घुम्ने रोटे पिङ जस्तै
घुमिरहने चर्खा बनाईदेउ,

घुमाएर मेरै देश पुर्‍याईदेउ
ताकी मर्नु भन्दा पहिले,
एक पटक
मलाई मेरो आगनको डिलमा फुलेको
ईन्द्रकमलको बास्ना लिनु छ
आफू जन्मेको माटोमा 
एक झनट रम्न मन छ !!
बेलायत मा बरालिन मलाई
धेरै धेरै बहाना छ !

हङकङ