किन

किन

विष्णु दाहाल  |  साहित्य  |  श्रावण ३०, २०७८

नेपाली जनको धरा विजयको गाथा हरायो कता
छाती पोल्छ विषादले प्रगतिको लाली उषा मासिँदा ।
यस्तो हाल भयो कि यो मुलुकको गुम्दै गयो गौरव
वासन्ती वनमा सुपुष्प रजको काहाँ गयो सौरभ ?

रातारात हतारमा छ महँगी द्यौलागिरी नै छुन
धोती किन्न सकिन्न किन्तु गतिलो भोटो सिलाऊँ
किन ?
छानो हाल्न सकिन्न ब्यर्थ घरको गारो उठाऊँ किन
दानो छैन अनाजको यदि भने आगो जलाऊँ किन ?

होला सुन्दर के र योग्य वरको छायाबिना पीपल
पङ्खा(पत्र बिना घना विपिनमा तापूँ कहाँ शीतल ?
स्वर्गङ्गा सरिका विशुद्ध झरना सुक्दा नुहाऊँ कहाँ
आफ्नै देश धरापमाथि छ भने यी पाउ राखूँ कहाँ ?

रोजै मिर्मिर स्वर्गका सुरहरू सम्पूर्ण झर्छन् भने
क्रीडास्नान गरेर पुष्पक चढी निर्बिघ्न फिर्छन् भने  
खोज्दै धाम विदेशको भ्रमणमा ब्यर्थै म जाऊँ किन
कैयौँ तीर्थहरू घरै निकट छन् टाढा म धाऊँ किन ?

हेरी टुल्टुल बस्नु पर्दछ यहाँ मातापिताको शव
सारा विश्व रुवाउने प्रलय वा रोगादिको उत्सव ।
मुर्दा हेर्न नपाइने समयमा घारो बनाऊँ किन
पानी छैन मुहानमा यदि भने धारो बनाऊँ किन ?

तृष्णा-त्यागबिना सुरम्य सपना पूरा हुँदैनन् भने
गैह्रो सागरझैँ अनन्त मनका आँखा हुँदैनन् भने ।
पूरा गर्न सकिन्न किन्तु सपना देखूँ सुनौला किन
सुन्ने कानबिना स्वयम् हृदयका लेखूँ बिलौना किन ?

गाँसी गाँस्न सकिन्न प्रेम ममता बैरीहरूमा भने
आद्योपान्त पढेर डुब्न नसके गौरीहरूमा भने ।
ज्ञानी शान्त र धीर लायक भनी फुर्ती लगाऊँ किन
लैला मज्नु तथा मुना मदनमा आँखा लगाऊँ किन ?